दल फेरबदलको असर : पूर्वसहकर्मी चुनावी मैदानमा आमनेसामने

ओम शाही
सुर्खेत, २० माघ ।
आसन्न २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । २३–२४ भदौको जेन–जी आन्दोलनले देशलाई नियमित समयभन्दा दुई वर्ष अगावै निर्वाचनमा धकेलेको थियो । सरकारले निर्वाचनको मिति तय गरेर आवश्यक तयारीलाई व्यापक बनाइरहेको छ । राजनीतिक दलहरुले पनि निर्वाचन लक्षित गतिविधिलाई आक्रामक बनाउँदै लगेका छन् ।
दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न चुनावी रणनीति अपनाइरहेका छन् । कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्र मध्ये नौ निर्वाचन क्षेत्रमा रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । यस पटकको निर्वाचनमा लामो समय एउटै पार्टीका विभिन्न कमिटीमा रहेर काम गरेका सहकर्मीहरु एकआपसमा दल फेरबदलले चुनावी मैदानमा होमिएका छन् । कोही पार्टी विभाजन त कोही दल परिवर्तनको चक्करमा फसेर आफ्नै पूर्वसहकर्मी बीच आम्नेसाम्ने हुँदैछन् । दुई निर्वाचन क्षेत्र रहेको सुुर्खेतमा नेपाली कांग्रेसमा लामो समय मिलेर काम गरेका चार जना फरक–फरक पार्टीबाट मुख्य प्रतिस्पर्धी बनेका छन् ।
सुर्खेत–१ को कांग्रेस राजनीतिमा प्रभाव जमाउने टेकबहादुर सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनावी मैदानमा छन् । उनले कांग्रेसका विष्णुबहादुर खड्कालाई चुनौती दिदैछन् । सिंह नेपाली कांग्रेसको क्षेत्रिय उपसभापति भएर काम गरिसकेका नेता हुन् ।
कांग्रेसका निवर्तमान पार्टी उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र भएकाले सुर्खेत–१ लाई विशेष महत्वका साथ हेरिन्छ । २०४८ यताका सबै निर्वाचनमा उम्मेदवार बन्ने गरेका उपसभापित खड्का यस पटक ब्याक भएका छन् । जेन–जी आन्दोलनपछि पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको पेचिलो मुद्दाले कांग्रेस उपसभापति खड्काले झण्डै ३४ वर्षपछि चुनावी मैदान छाडेका छन् ।
पूर्णबहादुर साइड लाग्दा मौका पाएका विष्णुबहादुर खड्कालाई जित निकाल्न त्यति सहज भने छैन । विष्णु पूर्णबहादुरका सहोदर भाई हुन् । २०४८ यता एक पटक बाहेक सबै निर्वाचनमा सुर्खेत–१ मा अविजित रहेको कांग्रेसका लागि यस पटकको निर्वाचन भारी सावित हुने देखिन्छ । यस क्षेत्रमा यसअघिका निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले हुन् । तर, पछिल्लो सयम नयाँ दलको लोकप्रियता यी दुवै दललाई भारी हुने निश्चित छ । खड्का र सिंह पहिलो पटक संसदीय निर्वाचनमा भाग लिदैछन् ।
रास्वपाका सिंहले कांग्रेसका मत काट्ने अवस्था देखिए आफ्ना परम्परागत मत जोगाउन सके चुनावी मत परिणाम एमालेको पोल्टामा पर्ने आँकलन छ । यद्यपी, रास्वपाका सिंहलाई पनि कम आक्न भने मिल्दैन । त्यस्तै, सुर्खेत–२ मा पनि कांग्रेसका पूर्वसहकर्मी चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस वीरेन्द्रनगर नगर समितिको सचिव भएर काम गरेका यातायात व्यवसायी रमेश सापकोटा र नारायण कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
सुर्खेत–२ मा पनि यसअघिका निर्वाचनमा एमाले–कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् । तर, यस पटक रास्वपा पनि सुर्खेतमा निर्णायक शक्ति बन्ने देखिन्छ । २०७९ को निर्वाचनसम्म आइपुग्दा सुर्खेत–२ मा एमाले र कांग्रेसले पालैपालो प्रतिनिधिसभाका निर्वाचन जित्दै आएका छन् । २०५१ यताका निर्वाचनमा लगातार उम्मेदवार रहेका कांग्रेस नेता हृदयराम थानीले कांग्रेसको विशेष महाधिवेशनको किचलोले चुनाव नलड्ने मुडमा पुगेपछि कोइरालाले टिकट पाएका थिए ।
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि पूर्वसहकर्मी बीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । दुवै निर्वाचन क्षेत्रमा एमालेका पूर्वसहकर्मी बीच चुनावी प्रतिस्पर्धा हुँदा कांग्रेस इतिहास रच्ने दाउमा छ । रास्वपाले पुराना दललाई हायल कायल पारिरहेको छ । एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी र तत्कालिन नेकपा माओवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी पनि चुनावी मैदानमा छ ।
एमालेले दैलेख–१ बाट रविन्द्रराज शर्मालाई उम्मेदवार बनाउँदा नेकपाबाट अमरबहादुर थापा छन् । शर्मा र थापा एमालेमा लामो समय मिलेर काम गरेका नेता हुन् । थापा एमाले विभाजनपछि समाजवादीतर्फ लागेका थिए । गएको निर्वाचनमा पनि शर्मा र थापा बीच नै प्रतिस्पर्धा भएको थियो । २०७९ मा माओवादी–कांग्रेस लगायतका पाँच दल मिलेर बनेको गठवन्धनलाई कडा टक्कर दिएर शर्मा थापासँग झिनो मतान्तरले पराजित भएका थिए ।
शर्मा २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा शर्मा र थापालाई अर्का सहकर्मीले पनि चुनौती दिदैछन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने छाट देखिएपछि रास्वपा प्रवेश गरेका नन्दकिशोर बस्नेत शर्मा र थापाका लागि चुनौती बनेर खडा भएका छन् ।
बस्नेत एमालेबाट धेरै अवसर लिने मध्यका नेता हुन् । तर, उनले टिकट नपाएको झोकमा एमाले परित्याग गरेका थिए । दैलेखमा नेकपा र रास्वपा एमालेभन्दा कमजोर छन् । तर, थापा र बस्नेतले एमालेका भोट काट्दा कांग्रेसलाई फाइदा हुने देखिन्छ । दैलेख–१ बाट कांग्रेसले युवा नेतृ बासना थापालाई टिकट दिएको छ । दैलेखका दुवै निर्वाचन क्षेत्रमा यसअघिको मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन् ।
त्यस्तै, दैलेख–२ मा पनि एमालेका पूर्वसहकर्मी बीच चुनावी प्रतिस्पर्धा हुँदैछ । गएको निर्वाचनमा कांग्रेस–माओवादीको गठवन्धनलाई कडा चुनौती दिएका एमालेका लक्ष्मीप्रसाद पोखरेल चुनावी मैदानमा छन् । गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दिक्पालकुमार शाहीसँग एक सय ५३ मतले पोखरेल पराजित भएका थिए । आगामी निर्वाचनमा पनि पोखरेल र शाही बीच नै मुख्य प्रतिस्पर्धा हुनेछ । सांगठनिक मत कमजोर रहेको नेकपाबाट उम्मेदवार बनेका योगेन्द्रबहादुर शाही पोखरेलको चुनौती बन्ने देखिन्छ । पोखरेल र नेकपाका शाही एमालेमा लामो सयम मिलेर काम गरेका पूर्वसहकर्मी हुन् ।
२०७९को प्रदेशसभा सदस्यको टिकट नपाएपछि शाही तत्कालिन माओवादीमा प्रवेश गरेका थिए । तर, शाहीलाई एमालेका विनोदकुमार शाहले पराजित गरिदिएका थिए । उनै शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको भोट काट्न सक्ने मुख्य पात्र बनेर उभिएका छन् । शाहीले एमालेका भोट काटे दैलेख–२ मा पनि कांग्रेसको पल्लाभारी हुने आँकलन छ । पोखरेल २०७०को संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै, रुकुम पश्चिममा पनि लामो सयम एउटै पार्टीमा रहेर काम गरेका सहकर्मीहरु बीच चुनावी प्रतिस्पर्धा हुँदैछ । त्यो पनि गुरु चेलाबीच ।
रुकुम पश्चिम तत्कालिन नेकपा माओवादीको पकड क्षेत्र हो । यस क्षेत्रबाट निरन्तर माओवादीबाट संसदीय चुनावमा अविजत रहने पात्र हुन्, जनार्दन शर्मा । तर, अहिले उनै शर्मालाई गोपाल शर्माले चुनौती दिदैछन् । जनार्दन गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर काम गरेका गोपाल अहिले जनार्दनका मुख्य प्रतिस्पर्धी बनेका छन् । जनार्दनकै जोडबलमा गोपला २०७४ मा प्रदेशसभा सदस्य मात्र भएनन् कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए ।
माओवादीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बनाएका जनार्दनले पार्टी छाडेपछि गोपाल सतहमा आएका हुन् । जेन–जी आन्दोलनपछि तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड)ले माओवादी त्यागेर समाजवादी लगायतका कम्युनिष्ट घटकसँग एकता गरेपछि जनार्दन अलग भएका थिए ।
प्रचण्डसँग अलग भएपछि बाबुराम भट्टराईको संरक्षणमा रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका जनार्दन यस पटक चुनाव चिन्ह आँखाबाट चुनावी मैदानमा छन् । कुनै समय प्रचण्डको पक्षमा सतिसाल झै उभिने जनार्दन प्रचण्डको साथ छाडेपछि गृह जिल्लामै एक्लिएका छन् । जनार्दनले तत्कालिन माओवादीको शक्ति केन्द्रको नेतृत्व गर्दा रुकुम पश्चिममा थुप्रै नेता जन्माएका थिए । तर, अहिले तिनै नेता जनार्दनका लागि चुनौती बनेर उभिएका छन् ।
रुकुम पश्चिममा एमालेले सघाएपति जनार्दन रेडजोन मै छन् । यस्तै, जुम्लामा पनि आगामी निर्वाचनमा पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुनेछ । माओवादीको १० वर्षे युद्धदेखिनै सहयोद्धा रहेका नेरश भण्डारी र मनऋषी धिताल दुई खेमाबाट चुनाव लड्दै छन् । भण्डारी नेकपाको तर्फबाट उम्मेदवार बन्दा धिताल जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनावी मैदनमा छन् ।
भण्डारी यसअघि २०६४ मा संविधासभा र २०७४ को प्रदेशसभामा निर्वाचित भएका थिए भने धिताल पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन् । कालीकोटमा पनि पूर्वमाओवादीका दुई सहकर्मीबीच प्रतिस्पर्धा हुँदैछ । २०६४ यताका संसदीय निर्वाचन बहिष्कार गरेर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीमा लागेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पुनः निर्वाचनमा फर्किएपछि पूर्व जनमुक्ति सेनाका कमाण्डर मेहेन्द्रबहादुर शाही अफ्ठेरोमा परेका छन् ।
शाही उनै नेता हुन्, जो प्रकाण्डले तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छाड्दा उदाएका थिए । प्रकाण्डले संसदीय निर्वाचन बहिष्कारको बाटो रोजेपछि शाही २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कालीकोटबाट अविजित रहदै आएका छन् । प्रकाण्डले प्रचण्डको साथ छाडेपछि कालीकोटबाट माओवादीको बरियाता क्रमको पुछारमा रहेका शाहीलाई २०७४ मा कर्णाली प्रदेशको संस्थापक मुख्यमन्त्री बन्ने अवसर मिलेको थियो । उनी विघटित प्रतिनिधिसभाको निर्वाचनमा कालीकोटबाट विजयी बनेका थिए । त्यस्तै, मुगु र डोल्पामा पनि एमालेका पूर्वसहकर्मीहरु बीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
मुगुमा एमालेका पूर्णबहादुर रोकाया र समाजवादीका चन्द्रबहादुर शाही बीच प्रतिस्पर्धा हुनेछ । शाही तत्कालिन एमाले विभाजनपछि समाजवादीमा लागेका थिए । उनी अहिले नेकपाको तर्फबाट उम्मेदवार बनेका छन् । शाही २०७४ मा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका थिए । शाही तत्कालिन समयमा एमालेको ह्वीपविरुद्ध फलोरक्रस गरेर विवादमा आएका पात्र हुन् । एक निर्वाचन क्षेत्र रहेको डोल्पामा एमालेका लंकबहादुर रोकाय र नेकपाका धनबहादुर बुढा पूर्वसहकर्मी हुन् ।
बुढा एमाले विभाजनपछि समाजवादीमा लागेका थिए । बुढा २०७० को संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने रोकाय पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका छन् । डोल्पामा पूर्वसहकर्मीबीच मात्रै रोचक चुनावी प्रतिस्पर्धा छैन । सहोदर दुई भाई फरक–फरक पार्टीबाट यस पटक चुनावी प्रतिस्पर्धा गर्दैछन् । नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका कर्णबहादुर बुढा पनि चुनावी मैदानमा छन् । नेकपाका धनबहादुर र कांग्रेसका कर्णबहादुर सहोदर दुई भाई हुन् ।






