सम्पादकीय : लागुऔषध दुर्व्यसन रोक्न हातेमालो गरौं !

सुर्खेत जिल्लामा लागुऔषध दुर्व्यसन पछिल्ला बर्षहरूमा गम्भीर सामाजिक समस्याका रूपमा देखा पर्न थालेको छ । विशेषगरी किशोर र युवा पुस्ता यसको मुख्य शिकार बन्दै गएका छन् । लागुऔषधको सेवनले व्यक्तिको स्वास्थ्य, भविष्य र पारिवारिक सम्बन्ध मात्र होइन, सामाजिक सद्भाव, शान्ति सुरक्षा र कानुन व्यवस्थामाथी समेत प्रत्यक्ष असर पारिरहेको छ । यही यथार्थलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध परीक्षण किट प्रयोगमा ल्याउन लागेको छ । लागुऔषध उत्पादन, कारोवार र सेवनलाई कानुनले अपराध माने पनि व्यवहारमा संकास्पद व्यक्तिको पहिचान गर्न प्रहरीलाई चुनौती रहँदै आएको थियो । यस्तो अवस्थामा पिसाव र र्‍यालको नमुना परीक्षणमार्फत छिटो र वैज्ञानिक ढंगले लागुऔषध सेवन भए–नभएको यकिन गर्न सकिने परीक्षण किट प्रभावकारी औजार बन्न सक्छ । सार्वजनिक सवारीका चालक र सहचालकलाई विशेष निगरानीमा राख्नु यात्रु सुरक्षा र दुर्घटना न्यूनीकरणका दृष्टिले पनि उचित कदम हो । यसले लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न मद्दत पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।
तर, लागुऔषध दुर्व्यसनको समस्या केवल कानुन कार्यान्वयन र पक्राउमा सीमित विषय होइन । प्रहरीको तथ्यांकले देखाएको बढ्दो मुद्दा र पक्राउ परेकाको संख्याले लागुऔषधको दुर्व्यसन समाजमा भुसको आगो जसरी फैलिएको पुष्टि हुन्छ । परीक्षण किट प्रयोग गरेर सेवनकर्ता पहिचान गर्नु एउटा प्रारम्भिक चरण मात्र हो । यदि यसलाई दण्ड र कारबाहीमा मात्र सीमित गरियो भने समस्या जरोसम्म पुग्न सक्दैन । बरु दुर्व्यसनीहरू अझै लुकेर लागुऔषध सेवन गर्ने, समाजबाट अलगिने र अपराधतर्फ धकेलिने जोखिम बढ्न सक्छ । लागुऔषध दुर्व्यसन रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको जनचेतना र रोकथाम हो । यसको सुरुवात घर–परिवारबाटै हुनुपर्छ । अभिभावकले आफ्ना सन्तानको दैनिकी, संगत र व्यवहारमा समयमै ध्यान दिनु जरुरी छ । विद्यालय तहबाटै लागुऔषधको दुष्परिणामबारे स्पष्ट र व्यवहारिक शिक्षा दिन सकिएमा किशोर अवस्थामै गलत बाटो रोज्ने सम्भावना न्यून हुन्छ । विद्यालयमा परामर्शदाता, जीवनोपयोगी शिक्षा र मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो । यससँगै समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । युवा केन्द्रित सिर्जनात्मक गतिविधि, खेलकुद, सांस्कृतिक कार्यक्रम र सीपमूलक तालिममार्फत सकारात्मक ऊर्जा प्रवाह गर्न सकिन्छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै विश्वासको वातावरण सिर्जना गर्न सके लागुऔषध विरुद्धको अभियान अझ बलियो बन्छ । दुर्व्यसनीलाई अपराधीको रूपमा मात्र नभई उपचार र पुनर्स्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्ने दृष्टिकोण विकास गर्नु अनिवार्य छ । कानुनले सजायको व्यवस्था गरे पनि उपचार र पुनर्स्थापनालाई प्राथमिकतामा राख्न सके मात्र दुर्व्यसनको चक्र तोड्न सकिन्छ । लागुऔषध परीक्षण किट प्रयोगसँगै उपचार केन्द्र, परामर्श सेवा र पुनर्स्थापना कार्यक्रमलाई सुदृढ बनाउनु राज्य र स्थानीय तहको साझा जिम्मेवारी हो । केवल पक्राउ संख्या बढ्नु सफलताको सूचक होइन, बरु लागुऔषधमा फस्ने युवाको संख्या घट्नु नै वास्तविक उपलब्धि हो । प्रहरीले सुरु गरेको लागुऔषध परीक्षण किट अभियानलाई सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । तर, यो अभियान तब मात्र सफल हुन्छ, जब यससँगै घर–परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार र सरोकारवाला सबै निकायले साझा जिम्मेवारी बोध गर्छन् । लागुऔषध विरुद्धको लडाइँ प्रहरीको मात्र होइन, यो समग्र समाजको साझा दायित्व हो । यसर्थ, सयमै लागुऔषधविरुद्ध निर्णायक प्रयास थाल्न सबैको हातेमालो आवश्यक छ ।
सम्पादकीय : लागुऔषध दुर्व्यसन रोक्न हातेमालो गरौं !

दल फेरबदलको असर : पूर्वसहकर्मी चुनावी मैदानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *