लागुऔषध नियन्त्रणमा प्रहरीको कडा एक्सन : प्रहरीले संकास्पदमाथी जुनसुकै बेला गर्नसक्छ किटमार्फत परिक्षण

ओम शाही
सुर्खेत, १९ माघ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध दुर्व्यसनी रोक्न लागुऔषध परिक्षण किट प्रयोग गर्ने भएको छ । सुर्खेतका मुख्य समस्याहरु मध्ये लागुऔषध दुर्व्यसनी प्रमुख बन्न थालेपछि प्रहरीले अब संकास्पद व्यक्तिलाई जुनसुकै समयमा पनि परिक्षण किटमार्फत लागुऔषध सेवन गरे नगरेको पहिचान गर्नसक्ने छ ।
लागुऔषधको उत्पादन, कारोवारदेखि सेवनलाई कानुनले अपराध मानेपनि संकास्पद व्यक्तिको पहिचान गर्न सकस भइरहेका बेला सुर्खेत प्रहरीले परिक्षण किटलाई पहिलो पटक प्रयोगमा ल्याउन लागेको हो । सुर्खेतका विभिन्न क्षेत्रमा प्रहरीले सार्वजनिक तथा निजी सवारीका चालक तथा संकास्पद युवाहरुको घटनास्थलमै पिसाव, थुकको स्याम्पल जाँच गरी लागुऔषध सेवन गरे नगरेको एकिन गर्नेछ ।
आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतको सभाहलमा आयोजित लागुऔषध परिक्षण किटका बारेमा जानकारी दिन आयोजित सरोकारवालासँगको छलफलमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले लागुऔषधको दुर्व्यसनी मुख्य समस्या बन्दै गएपछि किटमार्फत सेवनकर्ताको द्रुत पहिचान थालिएको बताए ।
‘लागुऔषधको दुर्व्यसनमा किशोर तथा युवाहरु फसेर उनिहरुको व्यक्तिगत, सामाजिक, पारिवारिक जीवनसमेत प्रभावित भएको देखिन्छ,’ प्रहरी प्रमुख शाहीले भने, ‘यो समस्या विभिन्न अपराधको कारणसमेत भएको छ । यसले समाजको शान्ति सुरक्षामा चुनौती थपेपछि लागुऔषधजन्य अपराध न्यूनीकरण गर्ने अभियान थालेका छौं ।’
सुर्खेत जिल्लाभर लागुऔषध सेवनकर्ताहरुको संख्या दिनानुदिन उल्लेख्य मात्रमा बढ्दै गएको औल्याउँदै शाहीले यसलाई रोक्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा सरोकारवाला निकायको समन्वयमा लागुऔषध परिक्षण किटमार्फत लागुऔषध सेवनकर्ताको पहिचान गरी कानुनी कारवाही गरिने बताए ।
उनका अनुसार व्यक्तिले लागुऔषध सेवन गरेको छ वा छैन थाहा पाउन छिटो, सरल र वैज्ञानिक तरिकाले पत्ता लगाउन परिक्षण किटले सघाउँछ । ‘परिक्षण किटको सहायताले पिसाव र थुकको स्याम्पल लिइन्छ । यसले लागुऔषध सेवनकर्ताको शीघ्र पहिचान गरी थप अनुसन्धान तथा कानुन कार्यान्वयनमा सहयोग पुर्याउँछ,’ शाहीले भने । विशेषगरी युवा पुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउने, विद्यालय, कार्यस्थल र समुदायमा सुरक्षित वातावरण सिर्जना गराउने उद्देश्यले अभियान थालिएको शाहीले बताए ।
उनका अनुसार द्रुत परिक्षणले लागुऔषध सेवनकर्ताको प्रारम्भिक पहिचान, लागुऔषध दुरुपयोगको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ । त्यस्तै, उपचार, परामर्श र पुनर्स्थापनाका लागि आधार तयार गर्नु, विद्यालय, कार्यस्थल, कारागार तथा समुदायमा अनुशासन र सुरक्षा कायम गराउनुका साथै समयमै लागुऔषध दुर्व्यसनी पत्ता लगाइ यस सम्बद्ध अपराध नियन्त्रण गर्ने लक्ष्य प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो समय सुर्खेतमा लागुऔषधको कारोवार तथा सेवनकर्ताको संख्या डर लाग्दो गरी बढ्दै गएको देखिन्छ । तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म लागुऔषध सम्बन्धिका ७७ मुद्दामा एक सय २५ पुरुष र पाँच महिला गरी एक सय २७ जना पक्राउ परेका छन् । यस्तै, गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर एक सय २३ मुद्दामा एक सय ८३ व्यक्ति पक्राउ परेको तथ्यांक प्रहरीसँग छ । जसमा एक सय ७१ पुरुष र १२ महिला छन् ।
सार्वजनिक सवारीका चालक विशेष निगरानीमा
प्रहरीले सुरु गरेको लागुऔषध किटमार्फत जाँच अभियान लागुऔषध कसुरमा संलग्न भएका व्यक्ति, लागुऔषध सेवनको संकेत तथा लक्षण भएका युवा, सार्वजनिक सवारी साधनका चालक, सहचालक लगायत संकास्पद व्यक्तिहरु विषेश निगरानीमा हुनेछन् । उनीहरुमाथी संका लागेको अवस्थामा जुनसुकै बेला प्रहरीले किटमार्फत परिक्षण गर्न सक्नेछ ।
सुर्खेतका विभिन्न स्थानहरु जस्तै, वीरेन्द्रनगर नगरपालिका भित्रको बसपार्क, बाङ्ग्रेसिमल सुब्बाकुना, पिपिरा, छिन्चु, बाबियाचौर, बोटेचौर, मेहेलकुना, जहरे, बादेपिपल लगायतका स्थानहरुमा आगुऔषध किटमार्फत संकास्पद व्यक्तिको पिसाव र स्वाव जाँच गरिनेछ ।
जाँचका क्रममा लागुऔषध सेवन गरेको पुष्टि भएमा प्रहरीले संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन बमोजिम मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
यस्तो छ लागुऔषध सम्बन्धि दण्ड सजाय
नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ तथा यस अन्तर्गत बनेका नियमावलीहरूले लागुऔषध सम्बन्धी गतिविधिलाई नियमन गरेका छन् । तर यसको खेती, उत्पादन, कारोवार र सेवन अझै नियन्त्रणमा आउन सकेका छैन ।
लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात तथा प्राकृतिक, कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ, तिनका लवणहरू हुन् । प्रवक्ता बुढथापाका अनुसार गाँजाको खेती, उत्पादन, तयारी, खरीद र बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार, सञ्चय गर्न वा सेवन गरेमा कानुनले अपराध मान्दछ । यस्तै, अफिम वा कोकाको खेती गर्न, अफिम वा कोकाको पात वा अन्य सामग्री उत्पादन गर्न, लागूऔषधको निर्माण वा तयारी गर्न पनि कानुनले दिँदैन ।
लागुऔषधको बिक्री वितरण, लागुऔषधको निकासी वा पैठारी, लागुऔषध खरीद, सञ्चय, ओसार पसार र लागुऔषध सेवन गर्नु दण्डनिय मानिन्छ । यस्तो कार्यमा संलग्न व्यक्तिलाई जरिवाना र कैद सजाय दुवै हुने कानुनी प्राब्धान छ । जसमा लागुऔषध गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना हुन सक्छ ।
यसमा चिकित्सकको कक्षमा एक महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरी जिम्मा लिएको अवस्थामा पछि जिम्मा लिने चिकित्सक केन्द्रबाट उपचार गराई ६ महिनाभित्र सोको प्रतिवेदन पेश नगरेमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय गर्न सक्ने कानुनी व्यवस्था छ ।
त्यस्तै, अफिम, कोका वा यसबाट बनेको लागुऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना हुनसक्छ । यस कसुरको हकमा पनि चिकित्सकको कक्षमा तीन महिनासम्म उपचार गराउने गरी जिम्मा दिने व्यक्ति वा संस्थाले कागज गरी जिम्मा लिएको अवस्थामा पछि जिम्मा लिने चिकित्सक केन्द्रबाट उपचार गराई ६ महिनाभित्र सोको प्रतिवेदन पेश गर्न नसकेमा सोही अवधि नाघेपछि त्यस्तो व्यक्तिलाई सजाय गर्न सकिने कानुनमा स्पष्ट व्यवस्था भएपनि लागुऔषध न्यूनिकरणको पाटो निकै चुनौतीपूर्ण बनिरहेको छ ।






