खाता जैविक मार्गमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास: आयआर्जन र लघु घर बिमाबाट स्थानीयलाई टेवा  

बर्दिया, १७ फागुन ।

खाता जैविक मार्ग हुँदै वन्यजन्तुको आवागमन बढ्दै जाँदा स्थानीय बासिन्दाले अन्नबाली, पशुपालन र घरमा क्षति भोग्दै आएका छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकार तथा विभिन्न संस्थाले वैकल्पिक आयआर्जन र सुरक्षात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन्, जसले स्थानीयको जीविकोपार्जनमा उल्लेखनीय टेवा पुर्‍याएको छ ।

मधुवन नगरपालिका–३ स्थित खाता संरक्षित क्षेत्रले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षसँग जोड्ने जैविक मार्गको काम गर्छ । यही मार्ग हुँदै नेपाल–भारत वन्यजन्तु ओहोरदोहोर गर्ने भएकाले मध्यवर्ती क्षेत्रमा अन्नबाली र मानवीय क्षति बढ्ने गरेको छ ।

मधुवन–३ भगरैयाका सुमन गिरीका अनुसार जैविक मार्ग घोषणा हुनुअघि यहाँ पर्याप्त अन्नबाली उत्पादन हुन्थ्यो । “करिडोर घोषणा भएपछि वन्यजन्तुको संख्या बढेको छ । बाली लगायो भने सखाप पार्छन्,” उनले भने, “त्यसैले अहिले माछापालनतर्फ लागेर आम्दानी गरिरहेको छु ।”

सुरक्षित खोर र सीपमूलक तालिमले राहत

पहिले सुरक्षित खोरको अभावमा चितुवाले बाख्रा र बंगुर मार्ने गरेको मधुवन–३ की शर्मिला थारु बताउँछिन् । “मेरै तीन बंगुर र चार बाख्रा चितुवाले मारेको थियो,” उनले भनिन्, “अहिले सुरक्षित खोर बनाएपछि क्षति घटेको छ ।” बस्ती नजिक चितुवाको उपस्थिति अझै देखिए पनि सुधारिएको खोरले जोखिम कम गरेको स्थानीयको भनाई छ ।

स्थानीयले वन संरक्षणलाई निरन्तरता दिँदै आएका छन् । खाताका कर्णबहादुर थारुले वन जंगल दैनिक जीवनसँग जोडिएको उल्लेख गर्दै वन्यजन्तु बस्ती पस्न नदिन प्रभावकारी नीति र तारबार आवश्यक रहेको बताए ।

खाता सामुदायिक वन समन्वय समिति अन्तर्गत ३६ सामुदायिक वन र तीन धार्मिक वन रहेका छन् । उपाध्यक्ष भदै थारुका अनुसार बेरोजगार युवालाई स्वरोजगार बनाउन चिप्स र मिठाइ बनाउने, प्लम्बिङ, टायल जडान, कपाल काट्ने, ड्राइभिङ र साइकल मर्मतजस्ता सीपमूलक तालिम सञ्चालन गरिएको छ । वन्यजन्तुबाट अन्नबालीमा हुने क्षति कम गर्न माछापालन, बेसार र मेन्था खेतीमा समेत सहयोग गरिएको छ । यद्यपि मेन्था र बेसारको बजारीकरणमा समस्या देखिएको उनले बताए ।

लघु घर बिमाबाट क्षतिपूर्ति

खाता जैविक मार्ग हुँदै आउने जंगली हात्तीले घर भत्काउने समस्या बढेपछि तराई भू–परिधि तथा संरक्षण कार्यक्रम, कोहलपुरको आर्थिक सहयोगमा तीन वर्षदेखि लघु घर बिमा कार्यक्रम सञ्चालनमा छ । खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार मधुवन–१ देखि ५, राजापुर नगरपालिका–१० र ठाकुरबाबा नगरपालिकाका केही वडाका ४ हजार ६ सय ८४ घरधुरीको बिमा गरिएको छ ।

आर्थिक वर्ष २०७९/०८० यता जंगली हात्ती र दैवीप्रकोपबाट क्षति भएका ३० घरधुरीलाई ७ लाख ९४ हजार ८४ रुपैयाँ राहत उपलब्ध गराइएको छ । प्रतिघरधुरी ९५ रुपैयाँ शुल्क लाग्ने यस कार्यक्रममा हालसम्म १३ लाख ३४ हजार ९ सय ४० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

महिलामा उद्यमशीलता

मधुवन–३ की समिना चौधरीले सीपमूलक सहयोगपछि सिलाइकटाइबाट मासिक करिब २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी छन् । १३ वर्षअघि सीप सिके पनि लगानी अभावका कारण व्यवसाय विस्तार गर्न नसकेकी उनले खाता समन्वय समितिबाट मेसिन, इन्टरलक र आइरन पाएपछि सहज भएको बताइन् । थारु समुदायका महिलाले लगाउने एक जोडी लेहङ्गा–चोलिया सिलाउँदा ८ हजार रुपैयाँ पारिश्रमिक लिने र एक जोडा तयार गर्न पाँच दिन लाग्ने उनले जानकारी दिइन् ।

स्थानीय सरकार र संरक्षण संस्थाको सहकार्यमा सञ्चालन भएका सुरक्षित खोर, लघु घर बिमा, सीपमूलक तालिम र वैकल्पिक खेतीजस्ता कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पारेको सरोकारवालाहरू बताउँछन् ।

खाता जैविक मार्गमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास:  आयआर्जन र लघु घर बिमाबाट स्थानीयलाई टेवा   

हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds