जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज–५ मा बृहत् पार्टी प्रवेश: साढे तीन सयभन्दा बढी जेन–जी युवा आवद्ध

बाँके,१७ फाल्गुन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले नेपालगञ्ज उपमहानगरपालिका–५ मा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा जेन–जी पुस्ताका साढे तीन सयभन्दा बढी युवाहरू औपचारिक रूपमा पार्टीमा आवद्ध भएका छन्। कार्यक्रममार्फत स्थानीय तहमा उल्लेखनीय राजनीतिक चहलपहल देखिएको छ भने चुनावी माहोल थप तातेको कार्यकर्ताहरूले बताएका छन्।
कार्यक्रमको अध्यक्षता नेपालगञ्ज–५ बुथ कमिटीका अध्यक्ष अब्दुल अजीज हल्वाईले गर्नुभएको थियो। उहाँले युवाको सक्रिय सहभागिता पार्टीका लागि ऊर्जा र भरोसाको महत्वपूर्ण स्रोत भएको उल्लेख गर्दै संगठन विस्तार र सुदृढीकरणमा युवा शक्तिको भूमिका निर्णायक रहने बताउनुभयो।

बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमरुद्दिन राईले नवप्रवेशी युवाहरूलाई खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्दै सामाजिक न्याय, समान अधिकार र समावेशी प्रतिनिधित्वका लागि संगठित संघर्ष आवश्यक रहेको धारणा राख्नुभयो।
“राजनीतिमा युवाको सक्रिय सहभागिता बिना देशको समृद्धि सम्भव छैन। अबको नेतृत्व नयाँ सोच, नयाँ ऊर्जा र स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्छ,” राईले भन्नुभयो।

कार्यक्रममा सहभागी युवाहरूले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवर्द्धन तथा सामाजिक समानताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। जेन–जी पुस्ताको उल्लेखनीय उपस्थितिले नेपालगञ्ज–५ मा पार्टी संगठन थप मजबुत बन्दै गएको संकेत गरेको स्थानीय नेता–कार्यकर्ताहरूको भनाइ छ।
उत्साहपूर्ण नाराबाजी र सामूहिक प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।






