मुलुकको शान्ति सुरक्षा अवस्था सुदृढ बन्दै: गृहमन्त्री अर्याल

बाँके ,१७ फाल्गुन ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको शान्ति–सुरक्षा अवस्था क्रमशः सुदृढ हुँदै गएको बताउनुभएको छ। आज नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले देशभर निर्वाचनको माहोल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो।
“हामी पूर्वदेखि पश्चिमसम्म पुगेर सुरक्षा अवस्थाको प्रत्यक्ष जानकारी लिइरहेका छौँ। मुलुकभर निर्वाचनको वातावरण देखिएको छ,” मन्त्री अर्यालले भन्नुभयो। बाँके जिल्लामा हालसम्म भएका तयारी र कामकारबाही सन्तोषजनक रहेको पनि उहाँले बताउनुभयो। जिल्ला सुरक्षा समितिले प्रभावकारी रूपमा काम गरिरहेको प्रतिवेदन आफूले पाएको उहाँको भनाइ थियो।
निर्वाचन विरोधी गतिविधि नियन्त्रणमा लिइएको दाबी गर्दै मन्त्री अर्यालले यस पटक दण्डहीनता सहन नहुने स्पष्ट पार्नुभयो। शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उहाँले दोहोर्याउनुभयो।
यसैबीच, सुदूरपश्चिमका विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिन जाने क्रममा मन्त्री अर्यालसमक्ष बाँके जिल्लाको सुरक्षा अवस्थाबारे पनि ब्रिफिङ गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो।
गृहमन्त्रीको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।






