नेपाल रेडक्रस सोसाइटी द्वारा निर्वाचन लक्षित प्राथमिक उपचार स्वयंसेवक अभिमुखीकरण सम्पन्न

सुर्खेत ,१७ फाल्गुन ।
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय ले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक अवस्थाहरूमा प्रभावकारी रूपमा प्राथमिक उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहमा पूर्वतयारीस्वरूप स्वयंसेवक परिचालन तथा आवश्यक सामग्री व्यवस्थापनका लागि कार्यक्रम आयोजना गरिएको हो।
प्रदेश कार्यालयद्वारा सम्पन्न उक्त कार्यशालामा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पहुँच, मनोसामाजिक सहयोग तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो।

निर्वाचन अवधिमा सम्भावित भीडभाड, तनाव तथा आकस्मिक घटनालाई मध्यनजर गर्दै स्वयंसेवकहरूलाई व्यवहारिक रूपमा सक्षम बनाउने लक्ष्य राखिएको थियो।
यस क्रममा सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जाजरकोट, रुकुम पश्चिम र जुम्ला गरी सात जिल्लामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। साथै आवश्यकताअनुसार हुम्ला, डोल्पा र मुगु जिल्लामा समेत तालिमप्राप्त जनशक्ति परिचालन गर्न सहजीकरण गरिएको प्रदेश कार्यालयले जनाएको छ। कार्यक्रममार्फत करिब १२० भन्दा बढी स्वयंसेवकहरूलाई मानवीय सेवाका गतिविधिमा परिचालन गर्ने योजना रहेको छ भने सात जिल्लामा सम्पन्न कार्यक्रममा कुल १०५ जना स्वयंसेवकको सक्रिय सहभागिता रहेको थियो।
प्रशिक्षण सहजीकरणमा कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदी, कार्यालय प्रमुख राजकुमार थापा तथा प्रदेशका प्राथमिक उपचार प्रशिक्षकहरूको सक्रिय भूमिका रहेको थियो। साथै प्रदेश कार्यसमिति सदस्यहरू तथा सातै जिल्ला शाखाका सभापति, पदाधिकारी र सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

निर्वाचन लक्षित प्राथमिक उपचार स्वयंसेवक तथा एम्बुलेन्स परिचालन कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग आवश्यक समन्वय तथा सहकार्य भइरहेको प्रदेश कार्यालयले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मानवीय वातावरणमा सम्पन्न गराउन रेडक्रसको तयारीलाई महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।






