सपनाका व्यापारी

उमालाल आचार्य
झुट बेइमानी कमिसन भ्रष्टाचार र परिवारवादमा तत्कालीन माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचाक्ली गनाउन थालेपछि बाहिर मात्र होइन पार्टीभित्र पनि व्यापक विरोध र आलोचना बढ्न थाल्यो । प्रचण्डको जालझेल र धुत्र्याइँ खेप्न नसकी माओवादीका उपल्ला तहबाट मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रबहादुर चन्द, रामबहादुर थापा चन्द्रप्रकाश गजुरेल लगायतका नेताहरु पहिल्यै लाखापाखा भए । परिवारवाद नै प्रचण्डको केन्द्रमा छ, एउटा भन्ने अर्को गर्ने उनको सातिर चाल हो । कुनै हालतमा ऊनीसँग नसक्ने भए पछि अन्तमा पार्टी नै परित्याग गर्नु परेको अन्तर्वार्ता मार्फत दुखेसो पोखीरहेका थिए पछिल्लो पटक माओवादी पार्टी त्यागेका नेता गणेश शाह । तत्कालीन माओवादीका नेता जनार्दन शर्माले अन्तिमसम्म पनि पार्टी नेतृत्व छोड्नु नै पर्ने अडान लिएपछि भने प्रचण्डलाई अप्ठ्यारो पर्दै आएको थियो । उनी कुनै हालतमा नेतृत्व छोड्न चाँहदैनथे तर त्यहाँ छोड्नै पर्ने बाध्यकारी अवस्था सिर्जना हुन थालेपछि उनले माओवादी पार्टी नै ध्वस्त पारेर अर्को पार्टी खोल्ने सुरसार गरिहाले, ताकी नेतृत्व छोड्न नपरोस् । त्यसैको परिणाम हो नेपाली कम्युनिस्ट पार्टी ।
पहिलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन भन्ने अभिव्यक्ति चुनावी रणनीति बाहेक अरु केही थिएन । पार्टी भोली यदि पहिलो बन्न सकेन भने पनि झुट बोलेर जनतालाई भ्रमित बनाए बमोजिम प्रचण्डले त्यसको कतै सफाई दिनु पर्दैन । बरु जनमानसलाई रनभुल्ल पार्न अर्को भ्रमको खोजी गर्न थालिसकेका हुनेछन् । जनतालाई नझुक्याएसम्म चुनाव जित्न गाह्रो छ भन्ने कुरा उनले प्रष्ट बुझेका छन । यदि यसो होइन भने दस वर्षमा हामी यो देशलाई सिंगापुरको दाँजोमा लैजान्छौं भनेर जनतामा उनले बाचा गरेको अहिले कति वर्ष भयो होला ? सत्यताकै जस्तो भ्रम दिएर झुठो बोल्न उनलाई सायद कसैले सक्दैन । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा एमसीसी परियोजनालाई देउवा र प्रचण्डले सहि गरेर पत्र लेखेको खबर बाहिरियो । देउवाले स्वीकार गरे तर प्रचण्डले हुँदै होइन भनेर जित्न खोजे । अन्ततः दुबैजना ले सहि गरेको पत्र कोही दूतावासबाट सार्वजनिक भयो तर उनलाई झुठो बोलेको हिनताबोध भएन र कतै जवाफ पनि दिएनन् ।
संसदबाट एमसीसी पास गरिँदा बाहिर कार्यकर्ता उफार्ने र भित्र सेतो माक्स लगाएर चुपचाप रहने प्रचण्डको दोगोला चरित्र त दुनियाँले देखेकै हो । एक पटक प्रचण्ड जापानको भ्रमणमा रहँदा त्यहाँका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई २०७९ असारमा गोली हानी हत्या गरिएको थियो । एक प्रसंगमा उनले स्वर्गीय आबेसँग नेपालमा भेटी वार्तालाप भएको भन्न भ्याए । त्यसको वास्तविकता बुझि हेर्दा आबे नेपाल आउँदै नआएका र उनको भेट वार्ता पनि नभएको भनि खबर मिडियामा आयो । त्यसमा पनि उनको खण्डन अथवा सफाई केही आएन । कसैको पुस्तक लोकार्पण कार्यक्रममा भारतीय नागरिक सरदार प्रितम सिंह आफुलाई प्रधानमन्त्री बनाउनका लागि धेरै पटक दिल्ली धाएको भन्ने ढंगबाट प्रचण्डले अभिव्यक्ति दिंदा त्यसको चौतर्फी विरोध भयो । यसको उचित जवाफ नदिएसम्म संसद चल्न नदिने भनि एमाले पार्टीले चर्को अडान लियो । आफ्नी एउटी छोरी क्यान्सरका कारण ओछ्यान परेकी र प्रितम सिंह परिवारले त्यतिबेला ठूलो गुन लगाएका कारण भावुकतामा पो त्यसो भनेको हुँ भन्ने आशय व्यक्त गर्दै भावुक भए झैं भइदिए । कहाँको प्रसंग कहाँ लगेर मिसाइदिए । तर्कले नपुगे कुतर्क ले पनि आफ्नो स्वार्थसिद्ध गर्न प्रचण्ड पछि पर्दैनन् भन्ने कुरा घटनाक्रमले यसरी पुष्टि गरिरहेको छ ।
प्रचण्डका कुन कुरालाई जनताले कसरी बुझ्ने भन्ने विषयमा चर्चा गर्नु वान्छनीय हुन्छ । एमाले कम्यूनिस्ट पार्टी हो भनी कसैले भ्रम नपाले हुन्छ, उ काँग्रेस भन्दा फरक पार्टी होइन एकैठाउँमा मिसादिए हुन्छ भनि कुनै दिनमा खरो आलोचना गरिरहेका प्रचण्ड उही एमालेसँग पार्टी एकीकरण र चुनाव प्रचार प्रसारका लागि ओलीसँग कुम जोड्दै हिंडे । अत्यन्त गोप्य लिखित सहमतिपछि पनि ओलीले पालो अनुसार प्रधानमन्त्री दिन आनाकानी गरे । प्रचण्ड देउवाको शरणमा पुगेर ऊनी जस्तो प्रजातान्त्रिक दुनियाँमा अरु कोही नभएको भन्ने ढंगले बखान गरे । जबकि विगतका दिनमा काँग्रेसलाई प्रजातान्त्रिक संस्कार नभएको हाम्रो टाउकाको मोल तोक्ने
भन्दै उछितो काढ्ने गर्थे । ओलीसँग सम्बन्ध बिग्रेपछि फेरि काँग्रेससँग गठबन्धन गरेर चुनावमा देउवाको अघिपछि हिंडे । देउवा र ओलीलाई फेर्न मात्रै होइन पछिल्लोपटक आफ्नै माओवादी पार्टीलाई पनि आगो लगाएर नेपाली कम्युनिस्ट पार्टी गठन गर्न भ्याए । यही पार्टीलाई पहिलो बनाउन उनी खाई नखाई दिन रात दौडिरहेका थिए । बहुरुपी प्रचण्डलाई जनताले अब कसरी विश्वास गर्ने भन्ने प्रश्न खडा भएको छ
समानुपातिक निर्वाचनबाट चुनिने सांसदलाई प्रधानमन्त्री बन्नका लागि संविधानले तगारो हालिदिएको छ । छलछाम धोकाधडी र भ्रमबाट चुनाव जितेर उनलाई प्रधानमन्त्रीको दौडमा फेरि पुग्नु छ, राजनीति धमिल्याउनु छ र बारम्बार अस्थिरता ल्याउनु छ । आश्वासन भ्रम र तिगडमको भरमा फरक फरक क्षेत्रबाट चुनाव जित्ने गरेका प्रचण्डले सोही क्षेत्रबाट अर्को पटक निर्वाचन लड्ने हिम्मत गर्दैनन् । त्यसकारण उनी एउटा सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा भौंतारिरहेका थिए । प्रचण्डपथ भनेर जति खोके पनि राजनीतिक फाइदा का लागि विगतका दिनमा कहिले काँग्रेसपथमा त कहिले एमालेपथमा हिंडिसकेका प्रचण्डलाई जनताले विश्वास गर्न सक्ने अवस्था छैन । अब फागुन २१ को निर्वाचनमा कहिले कालिकोटबाट त कहिले रुकुम पूर्वबाट उठ्ने भनी बराबर मिडिया ट्रायल गरिरहेका थिए । यो चुनाव नजिते राजनीति सकिने विन्दुमा पुगेकाले उनी तनावमा छन् । उथलपुथलका नाममा आदर्श विचार र नीति पटक पटक काँग्रेस एमालेलाई बुझाइसकेका प्रचण्डले अन्तमा निर्देशक सिद्धान्त माओवादी पार्टीलाई खरानी पारेको हिसाब जनतालाई दुरुस्त देखाउन सक्ने छैनन् । किनकि त्यहाँ नयाँ पार्टी खोल्दा आफु फेरिपनि पार्टी प्रमुख बन्न सकिने अभिष्ट लुकाइएको छ । पूर्वी रुकुमबाट उम्मेद्बारी दिएका प्रचण्डले एकथान सांसद म देशको जुनसुकै ठाउँबाट पनि जित्न सक्छु भन्ने धमास दिएर जग हँसाए ।
रुकुम पूर्वमा प्रचण्ड कहिले ताल न बेता बेढंगले नाचिरहेका छन् कहिले मकै छोडाएको अभिनय गरिरहेका छन, दुःख काटिरहेका छन् र अनेक उल्झन व्यहोरिरहेका छ्न । पार्टीलाई अब पहिलो नम्बरको बनाउने कसम खाएका थिए तर आफ्नो जित निकाल्नका लागि तमाम सजाय भोग्न बाध्य छन् । उनलाई थाहा छ जितेपछि फर्केर आउनुपर्दैन जसरी उनी गोरखामा फर्कि गएनन् । काठमाडौंबाट चितवन गए जस्तो सजिलो छैन पूर्वी रुकुम पुग्न । संधै संधै जहाज चाटर्ड गर्नु पनि सम्भव नहोला । जसरी हिजो सिंहदरबार छिरेपछि उनले रुकुम रोल्पाको नक्सा बिर्सेका थिए यतिखेर पनि चुनाव जितेपछि पूर्वी रुकुम बिर्सन्नन् भन्ने बलियो आधार केही छैन । किनकि सत्ता शक्ति र पदले उनको सिद्धान्त नैतिकता र इमानदारी पूरै स्वाहा पारेको छ । परिवर्तनको सम्वाहक भनिएको थियो माओवादी पार्टीलाई तर प्रचण्डको मुखियालीमा खलल् पर्ने देखिएपछि खरानी पारेको दृष्टान्त सबैका सामु छर्लङ्ग छ । चीनको सिमानासम्म रेल जोड्छु, स्मार्ट सिटि बनाउँछु र विकासको नमूना जिल्ला बनादिन्छु भन्दै जित फुत्काउनका लागि प्रचण्डले अनेक हवाई सपना उधारो बेचिरहेका छन् । हामीले हेरिसकेका छौं बाचा, सपना र आश्वासनले मात्र देश बन्दोरहेन छ । त्यसका लागि ईमान, निष्ठा, विश्वास, विवेक र देश प्रेम पनि चाहिन्छ, जो ठुला पार्टीका पुराना नेतृत्वमा अनिकाल देखिन्छ । (लेखक : वीरेन्द्रनगर–१२, निवासी हुन)






