किताब बाट मतसम्म : चुनावी खर्चको परम्परा तोड्ने मनऋषि धितालको फरक राजनीति

काली बहादुर परियार
जुम्ला,१८ माघ ।
नेपाली चुनावी राजनीतिमा पैसाको भूमिका सधै विवादको केन्द्रमा रहँदै आएको छ । ठूला ब्यानर, महँगा सभा, गाडीको लस्कर र अपारदर्शी खर्चले चुनावलाई धनीको खेल बनाएको आरोप लाग्दै आएको बेला जुम्ला बाट एक उम्मेदवारले बिल्कुलै फरक बाटो रोजेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रगतिशील लाेकतान्त्रीक पार्टी बाट उम्मेदवार बनेका मनऋषि धितालले चुनावी खर्च जुटाउन किताब लाई माध्यम बनाएका छन् ।
न चन्दा, न दाताको भर, न गुप्त स्रोत । सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै धितालले स्पष्ट शब्दमा भनेका छन्, चुनावकालमा उम्मेदवारको पारदर्शिता मुख्य विषय हो । मैले मेरा पुस्तक बिक्रीबाट चुनावी खर्च जुटाउने योजना बनाएको छु ।
उनको यो भनाइ सामान्य चुनावी वक्तव्य जस्तो सुनिए पनि यसको अर्थ गहिरो छ । राजनीतिमा पैसाको स्रोत पनि सार्वजनिक हुनुपर्छ भन्ने साहसी दाबी हाे । २०८० सालमा प्रकाशित आफ्ना आठ वटा पुस्तकलाई बुक बन्डलका रूपमा बिक्री गर्दै धितालले चुनावी यात्रामा साथ दिन नागरिक सँग अपिल गरेका छन् ।
यी पुस्तकहरू दर्शन, राजनीति, समाज र वैचारिक बहस सँग सम्बन्धित छन् । धितालका अनुसार, पुस्तक किन्ने व्यक्ति केवल उनको चुनावी खर्चमा सहयोग गर्ने होइन, विचारको यात्रामा सहभागी हुने हो ।
यो दान होइन, विचार प्रतिको समर्थन रहेकाे उनले जाेड दिएका छन् । उनको तर्क छ, राजनीति विचार बाट सुरु हुन्छ, तर जब पैसाले विचार लाई नियन्त्रण गर्छ, तब लोकतन्त्र कमजोर हुन्छ । नेपालमा चुनाव महँगो हुँदै गएको, पैसावाल उम्मेदवारहरू अघि बढ्ने र साधारण तर सक्षम व्यक्तिहरू पछाडि पर्ने प्रवृत्तिप्रति उनी असन्तुष्ट देखिन्छन्।
यदि चुनाव जित्नै पैसा चाहिन्छ भने त्यो लोकतन्त्र होइन, व्यापार हो,धितालको भनाइ छ । जुम्ला सधै परिवर्तनको पक्षमा उभिएको जिल्ला भएको उल्लेख गर्दै उनले जुम्लावासीलाई विचार सहितको विकल्प रोज्न आग्रह गरेका छन् ।
जुम्लाले केवल व्यक्ति होइन, दृष्टिकोण खोजिरहेको छ ।उनका अनुसार, प्रतिनिधि भनेको सत्ता पुग्ने भर्याङ होइन, जनताको आवाज संसद सम्म पुर्याउने माध्यम हो ।
धितालको यो अभियानले स्थानीय तहमा चासो मात्र होइन, बहस पनि जन्माएको छ ।
कतिपयले यसलाई आदर्शवादी र प्रेरणादायी पहल मानेका छन् । कम्तीमा उनले पैसाको स्रोत खुलेर भने, स्थानीय एक युवा भन्छन्, यति पारदर्शिता अरू उम्मेदवारले किन देखाउँदैनन् ? अर्का एक मतदाताले भने व्यवहारिक चुनौती औंल्याउँदै प्रश्न उठाउँछन्, किताब बेचेर कति खर्च जुट्ला ? ठूला दल सँग प्रतिस्पर्धा गर्न सक्लान् ?
तर धिताल यी प्रश्न बाट विचलित देखिँदैनन् । उनको दाबी छ, चुनाव जित्ने सबै भन्दा ठूलो लक्ष्य होइन, राजनीति गर्ने तरिका बदल्नु मुख्य उद्देश्य हो । म जिते वा जितिन, तर यो बहस सुरु भयो भने पनि त्यो जित नै हो, उनी भन्छन् ।
राजनीतिक विश्लेषकहरूले पनि धितालको कदमलाई नयाँ संकेतका रूपमा हेरेका छन् । उनीहरूका अनुसार, नेपालमा राजनीतिक दल र उम्मेदवारहरूले चुनावी खर्च बारे स्पष्ट विवरण नदिने प्रवृत्ति छ । कानुनी रूपमा खर्च सीमा तोकिए पनि व्यवहारमा त्यसको उल्लंघन सामान्य जस्तै छ ।
यस्तो अवस्थामा किताब बिक्री जस्तो खुला र वैचारिक माध्यम बाट खर्च जुटाउने प्रयासले चुनावी संस्कृति माथि प्रश्न उठाएको छ । धितालको अभियानले मतदाता र उम्मेदवार बीचको सम्बन्धलाई पनि फरक ढंगले परिभाषित गरेको देखिन्छ ।
यहाँ मतदाता केवल भोट हाल्ने व्यक्ति होइन, विचारको सहयात्री बन्ने अवसर पाउँछ । पुस्तक पढ्ने, बहस गर्ने र त्यसै बाट राजनीति बुझ्ने प्रक्रियाले चुनाव लाई केवल पाँच वर्षको सत्ता प्रतिस्पर्धा बाट माथि उठाउन खोजेको संकेत गर्छ ।
जुम्ला विकास, पहुँच र प्रतिनिधित्वका हिसाबले सधै संघर्षरत जिल्ला हो । यहाँ सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका मुद्दा गहिरा छन् । धिताल भन्छन्, यी समस्या समाधान गर्न संसदमा पुग्ने व्यक्तिले पहिले आफ्नो नैतिक आधार बलियो बनाउनुपर्छ ।
उनका अनुसार, अपारदर्शी खर्च बाट जितेको चुनावले जनता भन्दा दाता प्रति जवाफदेही बनाउँछ । फागुन २१ नजिकिदै गर्दा जुम्लाको चुनावी माहोल तातिदै छ । ठूला दलहरू आफ्नो शक्ति प्रदर्शनमा व्यस्त छन् । यही भीड बीच किताब बोकेर मत माग्दै हिड्ने उम्मेदवारको कथा फरक देखिन्छ ।
यो कथा जित हारको मात्रै होइन, राजनीति कस्तो हुनुपर्छ भन्ने बहसको हो । अब प्रश्न एउटै बाँकी छ, जुम्लावासीले किताब बाट सुरु भएको यो वैचारिक यात्रालाई मत सम्म पुर्याउँछन् कि पुरानै चुनावी संस्कारमै सीमित रहन्छन् ? उत्तर जे भए पनि, मनऋषि धितालले नेपाली चुनावी राजनीतिमा एउटा नयाँ अध्यायको प्रस्ताव भने गरेका छन् ।






