महिला सशक्तीकरण र अधुरा विकास योजना पूरा गर्ने प्रतिबद्धतासहित सुर्य ढकाल पुनः जनतामाझ

बाँके ,१८ माघ।
नेकपा एमाले बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सुर्य ढकालले बाँके क्षेत्र नं १ मा अधुरा रहेका विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित पुनः जनतामाझ उपस्थित भएको बताउनुभएको छ ।
शनिबार क्षेत्रीय स्तरमा आयोजित महिलाहरूको भेलालाई सम्बोधन गर्दै उहाँले कोहलपुर, राप्तीसोनारी र नरैनापुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट उद्देश्यका साथ आफू अघि बढेको उल्लेख गर्नुभयो । जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको संकल्प व्यक्त गर्दै उहाँले समावेशी विकास र सामाजिक न्यायमा आधारित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले महिलाहरूको आर्थिक सशक्तीकरण बिना समग्र विकास सम्भव नहुने उल्लेख गर्दै महिला लक्षित आयआर्जन कार्यक्रम, सीपमूलक तालिम, सहकारी तथा उद्यमशीलता प्रवर्द्धनमार्फत महिलालाई आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकतामा राखिने बताउनुभयो । “महिलाहरू आत्मनिर्भर बने मात्र परिवार, समाज र देश बलियो बन्छ,” उहाँले भन्नुभयो ।

भेलालाई सम्बोधन गर्दै ढकालले भन्नुभयो, “तपाईँहरूको बीचमा उपस्थित भएको छु—बाँकेमा हामीले सुरु गरेका अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने संकल्पसहित म अगाडि बढेको छु ।” उहाँले क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।
केन्द्रीय सदस्य ढकालले वाचा मात्र नभई काम गरेर देखाउने अठोटका साथ आफू उम्मेदवार बनेको बताउँदै विकासका कार्यक्रमहरू समयमै सम्पन्न गरिने विश्वास दिलाउनुभयो । “म वाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको हुँ,” उहाँको भनाइ थियो ।
उहाँले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै समृद्ध बाँके क्षेत्र नं १ निर्माणका लागि सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो । साथै, आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी सहयोग गर्न मतदातासँग हार्दिक अनुरोध गर्नुभयो ।

“तपाईँहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो । आउनुहोस्, समृद्ध बाँके क्षेत्र नं १ निर्माणको यात्रामा हातेमालो गरौँ,” उहाँले मतदातासँग आग्रह गर्नुभयो ।






