कालिकोटमा बालविवाहविरुद्ध साझा अभियान सक्रिय

हस्त चाैलागाँई
कालिकोट ,१७ पुस।
आवाज परियोजना सुर्खेतद्वारा सञ्चालित बालविवाहविरुद्ध साझा अभियान सञ्जाल कालिकोटले जिल्लाका तीन वटा स्थानीय तहमा बालविवाह न्यूनीकरणका लागि सक्रिय रूपमा काम गरिरहेको छ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकाेटकाे सहजिकरण अन्तर्गत बालविवाह बिरुद्ध साझा अभियान संजाल कालिकाेटले महाबै गाउँपालिका, शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
बालविवाहविरुद्ध साझा अभियान कालिकोटका अध्यक्ष काली बहादुर मल्लको अध्यक्षतामा सम्बन्धित सरोकारवालाको सहभागितामा एक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बालविवाहका कारण, यसको सामाजिक असर तथा न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले बालविवाह अझै पनि समाजमा गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै यसविरुद्ध स्थानीय तह, समुदाय र अभिभावक सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। महाबै गाउँपालिकाले बालविवाहविरुद्ध दीर्घकालीन समाधानका लागि रणनीतिक योजना निर्माण गर्ने
निर्णय गरेको छ। उक्त योजनाले बालअधिकार संरक्षण, जनचेतना अभिवृद्धि तथा कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएकाे साझा अभियान संजालका अध्यक्ष काली बहादुर मल्लले बताएका छन् ।
आवाज परियोजनाले आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गर्दै बालविवाह अन्त्यका लागि सचेतना, क्षमता विकास तथा सहकार्यका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।






