मुगुमा बन्दै ३०६ मेगावाटको नयाँ जलविद्युत आयोजना

सुर्खेत, १६ पुस ।
मुगु जिल्लामा थप एउटा जलविद्युत आयोजना बन्ने भएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको वातावणीय मूल्याङ्कन अनुसार मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिका हुँदै बग्ने मुगु कर्णाली नदीमा तीन सय ६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
यो आयोजनाको एलिभेट इनर्जी प्रालि काठमाडौंले प्रस्ताव गरेको हो । मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । तर, यो जलविद्युत आयोजनाको इआइए अध्ययन हुँदा वन मन्त्रालयले निकुञ्जको प्रस्ताव गरेको थिएन् ।
यस आयोजनाबाट प्रत्यक्ष रुपमा ७५ घरधुरीहरु प्रभावित हुने देखिएको छ । आयोजना कार्यान्वयनको लागी वैकल्पिक साइट वातावरण अनुकुल र उपयुक्त हुनेछ भने आर्थिक रूपमा व्यवहारिक र सामाजिक रूपमा स्वीकार्य पनि हुनुपर्ने हुन्छ । मुख्य आयोजना कम्पोनेन्ट र अन्य सम्बन्धित सुविधाहरू प्राकृतिक वातावरण संरक्षण गर्ने किसिमले गर्न सकिन्छ ।
आयोजना निर्माणको लागि लाइसेन्स क्षेत्र भित्र अधिकतम सदुपयोग गर्ने हिसाबले तीन सय ६ मेगावाट विद्युत उत्पादन गर्ने गरि आयोजनाको प्रमुख संरचनाहरु जस्तै बाँध स्थल तथा विद्युतगृह को स्थान छनौट गरिएको छ । पहिलो विकल्पको रुपमा बाँधस्थल मुगु कर्णाली र नामलान खोलाको दोभानबाट करिब ती किलोमिटर तल्लो तटमा पुलु भन्ने स्थानमा मुगु कर्णालीको बाँया किनारमा आयोजनाको बाँधस्थल प्रस्ताव गरिएको छ र बिद्युत गृह करिब २० कि तल लुम्सा गाउँमा मुगु कर्णालीको बाँया किनारमा प्रस्ताव गरिएको छ ।
त्यसैगरी दोश्रो विकल्पमा पेन स्टक पाइप राखे स्थान बाहेक सबै संरचना र स्थान पहिलो विकल्पमा भए जस्तै रहेका छन् । तेश्रो विकल्पको रुपमा मुगु कर्णाली नदीको दाहिने किनारमा आयोजनाको रूपमा छनोट गरिएको छ । आयोजनास्थल मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ७ र ८ मा पर्दछ । आयोजना स्थल सदरमुकाम गमगढीबाट करिब २५ किलोमिटरको दूरीमा पर्दछ । यस आयोजनाले मुगु कर्णाली नदीको पानी सिधै प्रयोग गरेर विजुली उत्पादन गर्नेछ । यस आयोजना अन्तर्गत ६२ मिटर लामो तथा २७ मिटर अग्लो बाँध, करिब १६ हजार दुई सय ८७ मीटर लामो हेडरेस टनेल, १२ सय ६० मि लामो पेनस्टक पाइप तथा सतही विद्युत गृह र टेलरेस नहर निर्माण गरिने छ ।
हाल आयोजनाको पावरहाउससम्म पुग्ने पहुँच मार्ग रुपमा सडकको निर्माण भई सकेको छ भने पावरहाउसदेखि बाँधसम्म पुग्ने सडक सडक डिभिजन कार्यालय जुम्लाले गरिरहेको छ । आयोजनाको निर्माणको लागि करीब पाँच वर्ष लाग्ने छ । आयोजना निर्माणको लागि दक्ष, अर्धदक्ष र अदक्ष गरी करिब ३८ हजार दुई सय ५२ महिना बराबरको जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।
माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजना तीन सय ६ मेगावाट क्षमताको छ । उक्त आयोजना निर्माणको लागि सरकारी वन क्षेत्र १२.६३ हेक्टर तथा २५.२४ हेक्टर वन क्षेत्र अन्तर्गतको खोला बगर क्षेत्र गरि जम्मा ३७.८७ हेक्टर वन क्षेत्र आवश्यक पर्ने देखिन्छ । आयोजना क्षेत्र कुनै संरक्षण क्षेत्रभित्र नपरेतापनि संरक्षण क्षेत्रको नजिकै भने रहेको छ । आयोजना क्षेत्रको सबैभन्दा नजिक शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र रहेको छ जुन बाँध क्षेत्रबाट करिब २.५ किलोमिटर पश्चिममा रहेको छ । यस क्षेत्रमा तल्लो पहाडी क्षेत्रका अतिरिक्त उच्च पहाडी क्षेत्रमा हुने कोणधारी वन विद्यमान रहेको छ ।
आयोजनाको निर्माणका लागि पूर्ण क्षमतामा काम हुँदा दक्ष, अर्ध–दक्ष र अदक्ष गरी कुल ३८ हजार दुई सय ५२ महिना बराबरको जनशक्ती आवश्यक पर्ने अनुमान गरएिको छ भने करिब ३२ जनाले संचालनको क्रममा रोजगारी पाउने छन् । निर्माण कार्यका लागि खटिने कामदारहरुलाई आवश्यक सेवा प्रदान गर्ने क्रममा मुख्यतः बाँधस्थल नजिक बन्द व्यापार तथा व्यवसाय अभिवृद्धि तथा आय आर्जन गर्ने अवसर मिल्नेछ ।
दैनिक नौ सय जनाले रोजगारी पाउनेछन् । आयोजनामा कार्य गर्ने कामदारहरुमा प्राविधिक सिप जस्तै जलविद्युत उत्पादनसँग सम्बन्धित मेसिन औझार चलाउने, कंक्रिट गर्ने आदि शिपको अभिवृद्धि हुनेछ । यस आयोजनाबाट वार्षिक १६ हजार २९ गिगावाट घण्टा भरपर्दो नवीकरणीय र प्रदूषण रहित उर्जाको उत्पादन हुनेछ । विद्युतको उपलब्धता तथा आयोजना मार्ग निर्माणको कारण बन्द व्यापार तथा व्यवसाय अभिवृद्धि, घरेलु उद्योगहरुको प्रवद्र्धन हुनेछ । स्थानीय रुपमा खेर गईरहेको जलसम्पदाको सदुपयोग गर्ने अवसर मिल्नेछ ।
समग्र रुपमा स्थानीयलाइ रोजगारी तथा आय आर्जन मलक क्रियाकलापहरुमा वृद्धि हुनेछ । आयोजना निर्माणको लागि जम्मा ५३.०६ हेक्टर जमिन आवश्यक पर्ने छ । आवश्यक ५३.०६ हेक्टर जमिनमध्ये ३७.५६ हेक्टर स्थायी तथा १५.५० हेक्टर अस्थायी जमिन आवश्यक पर्ने देखिन्छ । यसैगरी भू–उपयोगका हिसावले आयोजना निर्माणको लागि सरकारी वन क्षेत्र १२.६३ हेक्टर तथा २५.२४ हेक्टर वन क्षेत्र अन्तर्गतको खोला बगर क्षेत्र गरि जम्मा वन क्षेत्र ३७.८७ हेक्टर र निजि जमिन १५.१९ हे., आवश्यक पर्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरणले गमगढी क्षेत्रमा आयोजनाको पावरहाउस साइट नजिकै रहेको लुम्सा गाउँसम्म वितरण लाइन विस्तारको काम सम्पन्न गरेको छ । प्राधिकरणको ग्रिडको कालिकोट, जुम्लादेखि गमगढीसम्मको खण्डको केही भाग अझै कार्यान्वयनको चरणमा छ, जुन ६ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । तसर्थ, आयोजनाको निर्माण चरणको क्रममा प्राधिकरणको अनुमति अनुसार लुम्सा गाउँ वा गमगडी (पावरहाउसबाट करिब ७.५ किलोमिटर) बाट विद्युत् ल्याउन सकिन्छ । आयोजना निर्माण गर्दा ४ मेगावाट बिजुली आयात गर्नुपर्ने हुन्छ । यहाँ उत्पादन भएको विद्युत लुम्सा गाउँमा नै जोडिनेछ ।
हिमताल बिष्फोटन हुने जोखिम
मुगु कर्णाली नदी मुगुको र तिब्बत क्षेत्रका हिम श्रृंखलाबाट उत्पति भएको एक मध्यमस्तरको नदी हो । जलवायुमा भैरहेको परिवर्तनसँगै यसको जलाधारमा रहेको हिम नदी तथा तालहरु पग्लने खतरा हुने गर्दछ । यसैगरी हिमाली क्षेत्रमा हिम पहिरो लगायतका घटना पनि हुन सक्नेछ । मुगु जलाधार भित्र साना ठुला गरि कुल २०७ हिमतालहरू रहेका छन् जसमध्ये यस आयोजना क्षेत्रसँग सम्बन्धित पाँच प्रमुख तालहरू पहिचान गरिएको छ जसमा भूकम्प, हिम पहिरो तथा हिम ताल बिस्फोटनबाट सिर्जित बाढीले आयोजनाको बाँध फुटाउने खतरा हुन सक्छ ।
त्यसैगरी यस आयोजनाको पावरहाउस मुगु कर्णाली नदीको बाँया किनारमा अवस्थित छ । जसलाई उक्त बाढीले क्षति पयाउने सम्भावना रहन्छ । यस्तो बाढीले आयोजनाको बाँध फुटाएको खण्डमा नदी किनारमा रहेका पुलु, छायल र लुम्सा लगायत अन्य तल्लो तटको बस्ति बगाउने र धन जनको क्षति हुने सम्भावना रहन्छ । यस प्रभावको उच्च परिमाणको क्षेत्रीय र मध्यम अवधिको हुनेछ ।






