गलत समाचारको प्रभावः निर्वाचन खर्च विवरण प्रश्नचिन्हमा

काली बहादुर परियार
जुम्ला ,१६ पुस।
२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि जुम्लाका उम्मेदवारहरूले निर्वाचन खर्चको विवरण नबुझाएको भन्ने समाचार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाईएको छ । ती समाचारले उम्मेदवारहरूलाई मात्र होइन, समग्र निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएको छ ।
तर यथार्थ भने फरक रहेको सार्वजनिक भएको छ । नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रतननाथ योगीले २०७९ मंसिर १९ गते नै निर्वाचनमा भएको १८ लाख ८ हजार रुपैयाँ खर्चको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लामा बुझाई सकेकाे प्रमाण सहित जानकारी दिइएका छन् ।
उनी सँगै गोमा कुँवर र ज्ञानेन्द्र शाहीले विवरण नबुझाएको भनी प्रकाशित समाचार प्रति सोही समयका उम्मेदवारहरूले आपत्ति जनाएका छन् । यस्तै, प्रदेशसभा तर्फ (क) क्षेत्रका उम्मेदवार धिरेन्द्रराज गिरी र (ख) क्षेत्रका उम्मेदवार टेकराज पछाईले पनि तोकिएको समयमै निर्वाचन खर्च विवरण बुझाइसकेको स्पष्ट गरिएको छ ।
सामाजिक सञ्जाल र केही मिडियाबाट फैलिएको भ्रमलाई चिर्दै नेकपा एमालेका युवा नेता धर्मेन्द्र रोकायाले सबै उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई खर्च विवरण पेश गरेको र दर्ता भएको प्रमाण सार्वजनिक गरे ।
उनले खर्च विवरण बुझाए–नबुझाएको विषयमा अन्योल रहे एकपटक निर्वाचन कार्यालय जुम्लामा पुगेर तथ्य बुझ्न सबैलाई आग्रह समेत गरे । यो घटनाले सूचनाको विश्वसनीयता कति महत्वपूर्ण हुन्छ भन्ने कुरा फेरि एकपटक उजागर गरेको छ ।
अपूर्ण वा गलत जानकारीले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । गोमा कुँवर (गौतम) ले खर्च विवरण बुझाई सकेको बताइन् । खर्च विवरण बुझाए वा नबुझाएको कार्यालयले सार्वजनिक गर्नु पर्ने उनको भनाइ छ ।






