सम्पादकीय : स्याउको बीमा रकम तत्काल भुक्तानी देऊ !

जुम्लाका स्याउ किसान र शिखर इन्स्योरेन्स कम्पनीबीच पछिल्ला केही महिना यता टकराव चलिरहेको छ । कम्पनीले पाँच वर्षअघि सुरु गरेको मौसमी सूचकांकको आधारमा गरिने बीमाको भुक्तानीलाई लिएर जुम्लाका स्याउ किसान आन्दोलनमै उत्रिन बाध्य बनेका छन् । मौसमजन्य प्रकोपबाट स्याउमा क्षति पुगेपछि किसानहरुले पटक–पटक आफुहरुले तिरेको मूल्य बराबरको भुक्तानी पाउनुपर्ने माग गर्दै आएका छन् । बीमावापतको रकम भुक्तानीमा आनाकानी गरेपछि किसानहरुले शिखरको जुम्लास्थित शाखा कार्यालयमा पुनः ताला लगाइदिएका छन् । बीमा रकम भुक्तानीको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय जुम्लामा भएको छलफल निष्कर्षबिहीन बनेपछि आक्रोशित तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका किसानहरूले शिखरको शाखा कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि स्याउ बिमावापतको रकम नपाएको गुनासो गर्दै आएका किसानले पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि कम्पनीले बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् । किसान र बीमा कम्पनीबीच टकराव हुनुको मुख्य कारण मौसमी तथ्यांक हो । शिखरले किसानलाई मौसमी फेरबदलबाट पुगेको क्षतिवापत बीमा रकम उपलब्ध गराउने गरी बीमा पोलिसी जारी गरेको छ ।

सोही बमोजिम दुई वर्षअघि स्याउको बीमा गर्न जुम्लाका पालिकाले सूचना आह्वान गरेका थिए । उति बेला प्रति बोट ३६ रुपैयाँ २० पैसाका दरले किसानले स्याउको बीमा गरेका थिए । असिना र खडेरीका कारण स्याउ खेतीमा क्षति पुगेपछि किसानहरुले पहिलो पटक भुक्तानी दावी गरे । सुरुमा भुक्तानी दिन आलटाल गरेपछि चन्दननाथ नगरपालिकाका किसानले विरोध जनाएका थिए । किसानको आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौता अनुसार खडेरीबाट क्षति शिर्षकमा किसानले तिरेको कुल मूल्यमा १२ रुपैयाँ घटाएर भुक्तानी दिएसँगै विवाद सिर्जना भएको थियो । कम्पनीले मौसम कार्यालयको राडारमा असिनापानी र खडेरी नदेखाएको भन्दै किसानले तिरेको प्रिमियम मूल्यभन्दा १२ रुपैयाँ घटाएर दिन लागेको भुक्तानीका विरुद्ध किसानहरु आन्दोलनमा उत्रिएको जनाइएको छ । बीमा कम्पनीले आफुखुशी खडेरी र असिनापानीबाट क्षति पुगेको भन्दै मूल्य निर्धारण गरेपछि विवाद उत्पन्न भएको हो । जुम्लाको भुगोल र हावापानी एकै किसिमको हुन्छ तर, बीमा कम्पनीले कतै खडेरी त कतै असिनापानीले क्षति पुगेको रिपोर्ट बनाएर १२ रुपैयाँ घटाएर भुक्तानी दिन खोजेपछि किसान आन्दोलित बनेका छन् ।

प्राकृतिक प्रकोप र खडेरीका कारण स्याउ बालीमा ठूलो क्षति भएपछि नियमानुसार बीमाबापतको रकम दावी गर्दापनि भुक्तानीमा आलटाल भइरहेको किसानको आरोप छ । कम्पनीले स्याउ बीमा गरेका अधिकांश किसानका बगैंचा अनुगमन नगरी भुक्तानी प्रक्रियामा चरम लापरवाही गरिरहेको आरोप किसानको छ । किसान र बीमा कम्पनीको कुरा सुन्ने हो भने वास्तविक मौसम कार्यालयको तथ्यांक गलत देखिन्छ । अर्कोतर्फ किसानलाई गुमराहमा राखेर बीमा कम्पनी पनि आफु खुशी चलेको देखिन्छ । स्याउ उत्पादन हुने क्षेत्रको हावापानी प्राय एकै हुने मौसमविद्हरु बताउँछन् । तर, बीमा कम्पनीले के को आधारमा फरक रिपोर्ट पायो भन्ने विषय अनुसन्धानको विषय रह्यो । यसमा वास्तविक तथ्यसँग बीमा कम्पनी जानकार हुन जरुरी छ । बीमाको प्रिमियम रकम लिने बेला चिल्ला आश्वासन देखाउँने तर क्षतिवापतको भुक्तानी दिदा नाक खुम्च्याउने शिखरलाई समयमै सबक सिकाउन जरुरी छ । यसो हुन सकेमात्र बीमा कम्पनीप्रतिको विश्वास आमनागरिकमा कायम हुनेछ ।

सम्पादकीय : स्याउको बीमा रकम तत्काल भुक्तानी देऊ !

घुयँत्राे:‘केटाकेटी आए, गुलेली खेलाए’ : चुनावी राजनीति

सम्पादकीय : स्याउको बीमा रकम तत्काल भुक्तानी देऊ !

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds