बाँके–बर्दियाका विद्यालयमा जलवायु सचेतना अभियान

बर्दिया, १४ मंसिर ।

जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्यसहित बाँके र बर्दियामा विद्यालय स्तरबाटै व्यापक सचेतना अभियान थालिएको छ । वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा विद्यालय र विद्यार्थीको भूमिका अत्यन्त प्रभावकारी हुने विश्वाससहित विभिन्न विद्यालयमा कार्यक्रम विस्तार गरिएको हो ।

दिगो वन व्यवस्थापन विज्ञ सुवास देवकोटाका अनुसार स्थानीय समुदायमा प्रत्यक्ष असर पारिरहेको जलवायु परिवर्तनका संकेतहरू बुझ्न र समाधानका उपायहरू अपनाउन विद्यार्थीहरू क्षमता भएका सचेतना दूत हुन् । “विद्यार्थीमार्फत प्रचार–प्रसार गर्दा सन्देश छिटो फैलिनुका साथै व्यवहारमै परिवर्तन ल्याउन मद्दत हुन्छ,” उनले बताए ।

त्यसै लक्ष्यसहित बाँके र बर्दियाका १० वटा विद्यालयमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा वातावरणीय व्यवस्थापनसम्बन्धी पाठ्यक्रम निर्माण गरी ‘शिक्षालयदेखि समुदायसम्म’ अभियान अघि बढाइएको पैरवी अधिकृत जयन जोशी बताउँछन् । उनका अनुसार विद्यालयस्तरमा तयार गरिएका शैक्षिक सामग्री र गतिविधिबाट विद्यार्थीले आफ्नै समुदायमा वन संरक्षण, नदी–नाला संरक्षण र वातावरण मैत्री अभ्यासबारे जनचेतना फैलाइरहेका छन् ।

पछिल्लो समय मानवीय क्रियाकलापका कारण नदीनाला दोहन, अवैध रुपमा वन विनाश, बालुवा–गिटी उत्खनन, तथा अनियन्त्रित विकास–निर्माणका कारण प्रकृति असन्तुलित बन्दै गएको छ। यसले भूक्षय, पहिरो, अतिवृष्टि तथा अनावृष्टि जस्ता प्रकोपहरू बढाएको छ । यस्तो परिवेशमा विद्यार्थीमार्फत सचेतना फैलाउने कार्य अत्यन्त प्रभावकारी बन्न थालेको इको शिक्षक भिम खरेलको भनाइ छ । “विद्यार्थीले घर–घरमा पुगेर जलवायु परिवर्तनको असर, यसको कारण, जोखिम र न्यूनीकरणका उपायबारे आफूले सिकेको कुरा सुनाउन थालेका छन्,” उनले भने ।

विद्यालयमा वातावरण सम्बन्धी कक्षा सञ्चालन, वृक्षरोपण, सामुदायिक वन अवलोकन, नदी–नाला सरसफाइ, स्थानीय जैविक विविधता पहिचानजस्ता गतिविधिले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिएको छ । उनीहरूका मार्फत समुदायमा वातावरण संरक्षणको सन्देश तीव्र गतिमा फैलिरहेको छ ।

वन वातावरणको रक्षा, वन्यजन्तु संरक्षण र जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान दीर्घकालीन रुपमा अत्यन्त प्रभावकारी बन्ने देखिन्छ । बालबालिकामा वातावरणप्रति उत्तरदायित्वको भावना विकास हुनु नै भावी पुस्तालाई सुरक्षित, स्वस्थ र दिगो भविष्य दिने महत्वपूर्ण आधार हो । यसरी विद्यालयस्तरबाट सुरु भएको जलवायु सचेतना अभियानले स्थानीय समुदायलाई वातावरण संरक्षणप्रति प्रेरित गर्दै दिगो विकासतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

बाँके–बर्दियाका विद्यालयमा जलवायु सचेतना अभियान

कर्णाली याक्स ५ विकेटले पराजित

बाँके–बर्दियाका विद्यालयमा जलवायु सचेतना अभियान

चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत्

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds