जुम्लाका २६ स्कुललाई ६ सय बढी बल

गोल्डेन बुढा
जुम्ला,१३ कार्तिक ।
जुम्लाको नेपाली सेनाको टुडिखेल मैदान त्यो दिन असाधारण थियो। बालबालिकाको हर्षोल्लास, विद्यालयका झण्डा, र बीचमा फुटबलका थुप्रा। हरेक बलमा थियो— नयाँ सपना, नयाँ उमंग, र नयाँ सुरुवातको प्रतीक।फुटबल केवल खेल होइन, जुम्लाका ती बालकका लागि यो हो, आशाको घेरा जसले उनीहरूलाई विद्यालय, अनुशासन र एकतासँग बाँधिरहेको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र जुम्ला जिल्ला फुटबल संघको सहकार्यमा, फिफा “फुटबल फर स्कुल ” कार्यक्रम अन्तर्गत पहिलोपटक जुम्लाका २६ विद्यालयलाई ६ सय २५ वटा फुटबल वितरण गरिएको छ।एन्फाका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ जब पहिलो फुटबल हस्तान्तरण गर्दै थिए, टुडिखेल मैदानको वातावरण फुटबलको जोशमा रन्किएको थियो।“हामी विद्यालयमा फुटबल पुर्याउँदैछौं, ताकि खेल पढाइसँगै जीवन सिकाउने माध्यम बनोस्,” उनले भने।“फुटबल केवल खेल होइन, यो चरित्र निर्माणको प्रक्रिया हो।”त्यो क्षण, विद्यालयका बालबालिकाका आँखामा बल होइन, भविष्य चम्किरहेको थियो।कर्णालीका १० जिल्लाका ६५ वटा विधालयमा बल वितरण गर्ने छौ ।

जसमध्य सबैभन्दा बढी जुम्लाका २६ विधालयमा ६ सय २५ वटा बल वितरण गरिनेछ।जुम्लाका विद्यालयहरूमा बलको अर्थ पहिल्यै अर्कै थियो।पहिले एउटा फुटबल पाँच वर्षसम्म खेलिन्थ्यो,फुटेको ठाउँमा रबर टाँसिन्थ्यो, धागोले सिउँथियो। अहिले ती हातमा नयाँ चम्किला केल्मी ब्रान्डका बल छन्।जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बहादुर बुढ्थापा भन्छन् “यो केवल बल वितरण होइन, यो परिवर्तनको सुरुवात हो।उनका अनुसार जुम्लामा १ सय ८० बढी विधालय छन् ।उनले भने,´तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकाका २६ वटा मावि, निमावी र आधाभूत विधालयलाई ६ सय २५ वटा बल वितरण गरिएको छ । मावि विद्यालयलाई २५ वटा, निमावी विधालयलाई १० देखि १५ वटा र आधारभूत विधालयलाई ५ देखि ७ वटा बल दिईएको छ ।

`प्रतिबल ५ हजार ५ सय सम्म मुल्य बराबरको बल नि:शुल्क वितरण गरिएको छ । एन्फाका अध्यक्ष बुढ्थापाका अनुसार केल्मी ब्राण्डका प्रति बल ५५ सयका दरले ”कुल ३४ लाख ३७ हजार ५ सय बराबरका बल नि:शुल्क वितरण गरिएको छ।बुढ्थापाको सपना छ,“जुम्लाको प्रत्येक विद्यालय फुटबलमैदान बनेको देख्ने।”यता चन्दननाथ नगरपालिकाकी उप–मेयर रामदेवी खड्काका अनुसार, जुम्ला अब खेलमैदानको अभावमा सीमित छैन।“नगरपालिकाले सहरी विकास परियोजनासँग सहकार्य गरेर रंगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ,” उनले भनिन्,“अब ६ महिनामा हामी आफ्नै रंगशालामा प्रतियोगिता आयोजना गर्नेछौं।”उनले एन्फा र जिल्ला संघलाई खेल क्षेत्रको संस्थागत विकासका लागि “अग्रणी प्रेरक” को रूपमा उल्लेख गरिन्।एन्फाका प्रशिक्षक महेश बुढ्थापाका अनुसार,“हामीसँग उत्साह र प्रतिभा छ, तर खेल्न ठाउँ छैन। मैदान नहुँदा हामी ए–साइड खेल्न बाध्य छौं।”तर उनी निराश छैनन् “फुटबल जुम्लाको पहिचान बन्न थालेको छ।

अब पूर्वाधार पनि आउँछ। खेलाडीहरू त यहाँ हरेक गल्लीमा छन्।”त्यो आत्मविश्वासले नै जुम्लामा फुटबलको जग बसाल्दैछ।एन्फा ग्रासरुट हेड कोच पंकज शाही भन्छन् “फुटबलले बालबालिकालाई केवल खेलाडी होइन, नागरिक बनाउँछ। यसले टोली भावना, सहकार्य र अनुशासन सिकाउँछ।”उनका अनुसार, एन्फाको लक्ष्य दुर्गम गाउँसम्म फुटबल पुर्याएर समुदायमा सकारात्मक रूपान्तरण ल्याउनु हो। शिक्षकशरु भन्छन् “पहिले विद्यार्थीहरू खेलमा चासो देखाउँदैनथे, अब त बिहानै विद्यालय आइपुग्छन् र भन्छन् ‘सर, बल कहाँ छ?’अब विद्यालयका आँगनमा धूलोमात्र होइन, खुशी उड्छ। फुटबलले बालबालिकालाई पढाइसँगै आत्मविश्वास पनि सिकाएको छ।फुटबलले जुम्लालाई फेरि जोड्न थालेको छ। उक्त कार्यक्रम प्रदेशसभा माननीय देवेन्द्र बहादुर शाही र जिल्ला समन्वय प्रमुख गाैरीनन्द आचार्य पनि सहभागी थिए।






