भेडा बेच्न थालेयता दलबहादुरले परिवारसँग मनाएका छैनन् दशै मनाएका छैनन् दलबहादु दशैँ

ओम शाही
सुर्खेत, १३ असोज ।
कालीकोटको सान्नित्रिवेणी गाउँपालिका–६, मेहेलमुढीका ६० वर्षीय दलबहादुर सावद दशैँका लागि भेडाको बथान लिएर सुर्खेत झेरका छन् । घटस्थापनाको अघिल्लो दिन ४९ भेडासहित उनी सुर्खेत झरेका हुन् । दशैँ–तिहारलाई लक्षित गरेर भेडाको बथानसहित उनले कर्णालीको मुकाम पालिका वीरेन्द्रनगरमा ग्राहक खोजिरहेका छन् । उनले जुम्ला, सुर्खेत, नेपालगन्ज, काठमाण्डौं लगायतका बजारमा चाडपर्वको अवसर पारी मासुका लागि भेडा बिक्रि गर्न थालेको २५ वर्ष भयो ।
जति बेला उनी ३५ वर्षका थिए । बढ्दो जिम्मेवारीलाई घट्दो जवानीसँग तालमेल मिलाउन उनलाई सकस त परेको छ, तर उनी स्वास्थ्यले साथ दिएसम्म यसै बस्नेवाला छैनन् । यस वर्षको दसैँ सुरु भएसँगै सावदले एक अर्का साथिसँग मिलेर १२ लाख बढीका भेडा सुर्खेत झारेका छन् । वर्षेनी असोज महिना अर्थात दसैँ सुरु भएसँगै अध्ययन, रोजगारी, व्यापार–व्यवसाय गर्न बाहिरिएकाहरु घर पुग्छन ।
कोही बाटोमै यात्रा गरिरहेका हुन्छन । तर, सावदको कथा भने फरक छ । चाडपर्व सुरुभएसँगै सावदको व्यवसायको सिजन सुरु हुन्छ । वर्षभरी टाढा रहेका आफन्तहरु घर फर्कने सिजन चल्दा सावद भने भेडाको बथान लिएर बाहिरिन्छन् । सावदले भेडा डुलाएर बेच्न थालेदेखि अहिलेसम्म परिवासँग बसेर दशैँ मनाउन पाएका छैनन् । आफूले पालेका र खरिद गरेका सावदका भेडाहरु पाँच बर्षअघिसम्म जुम्लाका बजारमा पुग्थे । तर, अहिले जुम्लामा प्रसस्त भेडापालन हुन थालेपछि उनले बजार परिवर्तन गरेका छन् ।
चार वर्षयता उनले जुम्लामा भेडा पुर्याउन छाडेका छन् । गत वर्ष उनी घटस्थापनाको अघिल्लो दिन एक सय भेडा लिएर काठमाण्डौंका लागि हिँडेका थिए । गत वर्ष भेडा समयमै विक्रि नहुँदा उनी तिहारमा पनि घर पुग्न पाएनन् । ‘धेरै वर्ष जुम्लामा भेडा बेचियो । जुम्लामा भाउ पाउन छाडेपछि चार वर्षयता तल झार्न थालेको हुँ,’ उनी भन्छन्, ‘३५ वर्षको उमेरदेखि मैले यो व्यवसाय गर्दै आएको छु । यो व्यवसायमा लागेपछि दसैँ–तिहार हाम्रा लागि घर हुँदैन, विक्रि नभएका भेडा छोडेर जाने कुरा पनि त भएन ?’
उनले यस पटक मूल्य राम्रो पाए दुई लाख ५० हजार नाफा कमाउने लक्ष्य राखेका छन् । उनले ल्याएका भेडाको बजार भाउ जिउदोको प्रति किलो ६ सय र काटेको एक हजारसम्म विक्रि हुने सुनाए । यही व्यवसायबाट उनको पाँच जनाको परिवारलाई वर्षभरी खान र लाउन पुग्छ । उनको परिवार पशुपालन र कृषिमा निर्भर छ ।

तीन छोराले कक्षा १२ सम्मको अध्ययन पुरा गरेका छन् । एक छोरा गाउँपालिकामा जागिरे छन् । उनलाई चाडपर्वमा घर छोड्नु पर्दा न्यास्रोसमेत लाग्दैन । ‘अरु केही गर्न सकिएन । यहीँ भेडा डुलाएर खर्चको जोहो हुन्छ,’ उनी भन्छन्, ‘म यो पेशाप्रति सन्तुष्ट पनि छु । अरु पेशा–व्यवसाय केही छैन । भेडापालनबाट आम्दानी पनि छ ।’ छोराहरु आत्मनिर्भर नहुन्जेल यही पेशालाई निरन्तरता दिने सोचमा उनी छन् । उनले आगामी वर्षका लागि माउपाठा गरी एक सय भेडा पालेका छन् । उनले पाल्ने भेडा बढिमालिका लेकमा चरेर बजार पुग्छन् ।
जेठबाट बढिमालिका लेकमा पुर्याइने भेडा भदौ लागेसँगै विक्रिका लागि बजार पुर्याउने गरेको उनले बताए । भेडा विक्रि गर्न बजार लैजानेक्रममा प्रहरी र ढुवानी गर्ने सवारीबाट निकै सास्ती भोग्नुपर्ने उनको दुखेसो छ । मानव स्वास्थ्यका दृष्टिकोणल उपयोग गर्न लाएक भए नभएको जाँच गरिन्छ । पशु प्राविधिकले प्रमाणित गरेका कागजात हुँदा पनि अनावश्यक झमेलामा पर्दा भने निकै दिक्क लाग्ने गरेको उनले सुनाए ।
सावदको परिवार भेडापालक किसानमा पर्छ । उनको परिवारले रमेश एण्ड सुभाष केषि तथा पशुपालन फर्मसमेत सञ्चालनमा ल्याएको छ । व्यवसायिक पशु तथा भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनस्वरुप अनुदान र भत्ता दिँदै आएको उनले सुनेका छन् । तर, हालसम्म पनि सावदले प्रोत्सानवापतको अनुदान कस्तो हुन्छ भन्नेसम्म देखेका छैनन् । अनुदान प्राप्त गर्न उनले कैयन पटक सम्बद्ध निकायमा निवेदन दिने गरेको तर, नपाइने गरेको उनले सुनाए । उनी मात्रै होइनन् यस्ता सरकारी अनुदानको पहुँचमा कर्णालीका वास्तविक पशुपालक किसानको ढोका बन्द छ ।
सावदजस्ता भेडापालक किसानलाई पहिलेको जस्तो सहज अहिले छैन । चरन क्षेत्र कम हुँदै जानु, नयाँ प्रकृतिका रोगहरु देखा पुर्नु, प्राविधिक ज्ञानको अभाव सावदमा छ । प्रकृतिसमेत उनलाई वर्षेनी सताउने गरेको छ । भेडी चरन क्षेत्रमा वर्षेनी पर्ने चट्याङबाट भेडालाई जोगाउनै मुस्किल पर्ने उनले बताए । चट्याङ वा अन्य रोगका कारण वर्षेनी ठुलो क्षति व्यहोर्नुपर्ने बाध्यता उनले सुनाए ।
भेडापालनको सम्भावना निकै भएपनि उल्लेखित कारणबाट भने सावदलाई सताउने गरेको सुनाउछन् उनी । सावद एक प्रतिनिधिमुलक पात्र मात्रै हुन् । कर्णालीमा सावद जस्ता धेरै भेडा लगायतका पशुपालन गर्ने किसानहरु प्रसस्त छन् । जसले वर्षेनी दशैँ–तिहारलाई लक्षित गरेर भेडा–च्याङ्ग्रापालन गर्छन । दशैँ सुरु भए लगत्तै उनीहरु देशका विभिन्न क्षेत्रमा गएर मासुका पारखीलाई स्वास्थ्य वद्र्धक मानिने जडिबुटीका पाटन चरेका भेडा उपलब्ध गराउँछन् । यसले उनीहरुको मात्रै होइन किसानसँगै कर्णालीको आन्तरिक आर्थिक उपार्जनको पाटोमा समेत टेवा पुर्याइ रहेको छ ।






