एमालेको ११औँ महाधिवेशनमा कर्णालीबाट एक सय १३ प्रतिनिधि कँडेल र बोगटी पदाधिकारीको लाइनमा
ओम शाही
सुर्खेत, १३ मंसिर ।
आसन्न नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि कर्णाली प्रदेशबाट एक सय १३ प्रतिनिधि छनौट भएका छन् । कर्णाली प्रदेश कमिटीले शनिबार २७–२९ मंसिरमा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो ।
१० वटै जिल्लाबाट महाधिवेशनमा सहमागी हुने प्रतिनिधिको सर्वसम्वत टुङ्गो लागेको प्रदेश कमिटी उपसचिव पद्मा खड्काले जानकारी दिइन । कर्णालीमा एमालेका ४७ हजार संगठित सदस्य छन् । एमालेको १५ कार्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार महाधिवेशन प्रतिनिधि छनौट भएको उनले जानकारी दिइन ।
कर्णालीबाट महाधिवेशनमा सहभागी हुने जिल्लागत प्रतिनिधिहरुमा हुम्लाबाट पाँच, दैलेखबाट २२, कालिकोटबाट आठ, सुर्खेतबाट २०, मुगुबाट पाँच, जाजरकोटबाट १० जना छन् । यस्तै, जुम्लाबाट ६, डोल्पाबाट आठ, रुकुमपश्चिमबाट पाँच, सल्यानबाट आठ जना महाधिवेशन प्रतिनिधि रहेको खड्काले बताइन ।
उनका अनुसार मजदुर संगठनबाट सात, कर्णाली सम्पर्क मञ्चबाट चार र प्रदेश पार्टी कमिटीलाई पाँच प्रतिनिधि दिइएको छ । नीति र विधि निर्माणको काम २०–२२ भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट भइसकेकाले यस महाधिवेशनले नेतृत्व चयनको काम गर्ने छ । महाधिवेशनमा दुई हजार तीन सयको हाराहारीमा प्रतिनिधिहरूले भाग लिने एमालेले जनाएको छ ।
कर्णालीबाट एक्लिए इश्वर पोखरेल
कर्णालीबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्दा अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल एक्लिएका छन् । छनौट भएका प्रतिनिधिहरु कोही पनि पोखरेलको पक्षमा नभई तत्काल अध्यक्ष ओली समूहमा देखिएका छन् ।
उनीहरुले एमालेको भावी अध्यक्ष ओलीको विकल्प नरहेको भन्दै पोखरेललाई साथ नदिने पक्षमा पुगेको सुर्खेतबाट महाधिवेशन प्रतिनिधि रहेका एक नेताले दावी गरे । यद्यपी प्रतिनिधि हुनका लागि नखुलेको पनि हुनसक्ने उनले बताए ।
‘हामी त केपी ओलीलाई नै अध्यक्ष बनाउनु पर्छ भनेर लागेका छौं,’ उनले भने, ‘ओलीको विकल्प खोज्नेहरु अहिलेसम्म देखिएका छैनन् ।’ प्रतिनिधि मात्र होइनन् स्थायी कमिटी सदस्य, पोलिट व्यूरो सदस्य र केन्द्रीय सदस्यसमेत पोखरेलको पक्षमा हालसम्म खुलेका छैनन् ।
यस्तै, कर्णालीबाट पोलिट ब्यूरो सदस्य रहेकाहरु पनि ओली पक्षमा देखिएका छन् । पोलिट ब्यूरो सदस्यहरूमा दैलेखका लक्ष्मीप्रसाद पोख्रेल मुगुका मोहन बानिया र जाजरकोटका भैरवसुन्दर श्रेष्ठ छन् । कर्णालीबाट २४ जना केन्द्रीय सदस्य रहेकोमा कालीकोटका प्रेमबहादुर सिंहले एमाले परित्याग गरिसकेका छन् । बाँकी २३ जना पनि अध्यक्ष ओलीको लाइनमा छन् ।
जसमा दैलेखका राजबहादुर बुढा, जाजरकोटका निरज आचार्य, दैलखका धर्मराज रेग्मी, सुर्खेतका नवराज रावत, रुकुम पश्चिमकी तिर्था गौतम, कालीकोटका नगिन्द्र शाही, जाजरकोटका डम्बरबहादुर सिंह, हुम्लाका दल रावल, हुम्लाकै दल फडेरा, दैलखका विष्णु रिजाल, डोल्पाकी बदमी क्वारी बुढा, सुर्खेतकी मोहनमाया ढकाल, दैलेखकी मिनासिंह रखाल, दैलेखकै सूर्यकुमारी श्रेष्ठ, जाजरकोटका सीपी घर्ती, कालीकोटकी दक्षिणा शाही छन् ।
त्यस्तै, जुम्लाका रतननाथ योगी, रुकुम पश्चिमका चन्द्रबहादुर विक, कालीकोटकी इन्दिरा सन्ज्याल, सर्खेतका ठम्मर विष्ट, हुम्लाका छक्कबहादुर लामा, दैलेखका विनोदकुमार शाह र सल्यानका गोविन्द पुन छन् ।
कँडेल र बोगटी पदाधिकारीको लाइनमा
कर्णालीबाट स्थायी कमिटी सदस्यमा दुई जना सुर्खेतका यामलाल कँडेल र हुम्लाका गोरखबहादुर बोगटी छन् । बरियताका हिसाबले हेर्ने हो भने बोगटीभन्दा कँडेल सिनियर हुन् । कँडेल आसन्न महाधिवेशनमा सचिव पदका दावेदारसमेत हुन् । कँडेल चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनमा सचिव पदका दावेदार थिए । तर, पछि सर्वसम्वत हुँदा उनलाई स्थायी कमिटीमा लगिएको थियो । यस्तै, कँडेलसँगै बोगटी पनि यसपटक सचिव पदका दाबेदार मानिएका छन् । बोगटीले आफू सचिव पदमा उम्मेद्वारी दिने विषय यसअघि नै कार्यकर्ता माझ खोलिसकेका छन् । केन्द्रीय कमिटी हुँदै पोलिटब्युरो सदस्यमा १० वर्ष बिताएका बोगटी चितवनकै महाधिवेशनबाट स्थायी कमिटी सदस्यमा बढुवा भएका थिए । कँडेल र बोगटीबीच पदाधिकारीमा प्रतिस्पर्धा भए कँडेल नै अघि आउने सम्भावना छ । किन भने २०८० असारमा सम्पन्न एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट कँडेल र बोगटीबीचको शक्ति मापन भइसकेको छ । उति बेला कँडेल र बोगटीको छुट्टाछुट्टै टीम हुँदा कँडेल टीमले प्रदेश कमिटीमा बर्चश्व जमाएको थियो । कँडेल हाल कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने, बोगटी एमाले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् ।





