नाम मात्रको कर्णालीको सडक सुरक्षा योजना चाडपर्वमै सुरक्षित छैन नागरिकको ज्यान
ओम शाही
सुर्खेत, १२ कार्तिक ।
७ कार्तिक अर्थात तिहारको भोलिपल्ट रुकुम पश्चिममा एक अप्रिय घटना घट्यो । तिहारकोे रौनककै बिच जिल्लाको बाँफिकोट गाउँपालिका–७, झारमारे नजिक बुराउसेनी भन्ने स्थानमा जीप दुर्घटनामा पर्यो । जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको उक्त जीप दुर्घटनामा परेपछि आठ जनाले मृत्युवरण गरे ।
चाडपर्वको रौनक चलेका बेला भएको उक्त दुर्घटनामा परी १० जना सामान्यदेखि गम्भीर घाइते हुन बाध्य बने । क्षमताभन्दा तेब्बर यात्रु बोकेर हिँडेको उक्त जीप भारवहन गर्न नसकेर सडकभन्दा झण्डै सात सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दुर्घटनामा परी सात जनाले घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाएपछि सिङ्गो जिल्ला नै सोकमा डुबेको थियो । यो प्रतिनिधिमुलक घटना हो । जो चाडपर्वको रौनक छाएका बेला घट्ने सडक दुर्घटनाबाट परिवार र आफन्तमा सदाका लागि आहात दिएर जान्छन् ।
प्रहरीका तथ्यांकहरु केलाउने हो भने कर्णालीमा सडकको अवस्था, चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारण वर्षेनी चाडपर्वको समयमा अप्रिय घटनामा बृद्धि हुँदै गएका छन् । सडक सुरक्षाको जिम्मा पाएको ट्राफिक प्रहरी, सामाजिक उत्तरदायित्व बिर्सेर कमाउ धन्दामा लागेका यातायात व्यवसायी र स्वयम यात्रुको लापरवाहीले ठुलो मानवीय क्षति हुने गरेको छ ।
अन्य समयभन्दा चाडपर्वका समयमा प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागुु गर्छ । यस वर्ष पनि कर्णालीमा प्रहरीले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ लागु गरेको थियो । उक्त सुरक्षा योजनामा सडक दुर्घटनाको विषय प्राथमिकतामा राखिएको थियो । तर, नाम मात्रको सुरक्षा योजना, यातायात व्यवसायीका सामु निरिह बन्ने प्रहरी र प्रशासनका कारण नागरिक अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् ।
यस वर्षको दशैँ र तिहारको समयमा पनि ठुलो धनजनको क्षति भएको छ । कर्णाली प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार दसैँ र तिहारको समयमा प्रदेशभर ९१ वटा सवारी दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएका छन् । एक सय आठ जना गम्भीर घाइते हुँदा एक सय १५ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
रुकुम पश्चिममा मानविय क्षति धेरै
प्रहरीको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामध्ये चाडपर्वमा सुर्खेतमा सबैभन्दा बढी ३६ वटा सवारी दुर्घटना भएका छन् । यस्तै रुकुममा १६, सल्यानमा ११ र जाजरकोटमा नौ वटा दुर्घटना भएका छन् । दैलेख र कालिकोटमा ६/६ वटा दुर्घटना हुँदा जुम्लामा चार र डोल्पामा एक सवारी दुर्घटना भएको प्रदेश प्रहरीसँग तथ्यांक छ ।
सवारी दुर्घटनामा रुकुममा सर्वाधिक ८ जनाको मृत्यु भएको छ । सुर्खेत र सल्यानमा चार/चार जनाको मृत्यु भएको छ । त्यस्तै, जाजरकोटमा एक र दैलेखमा दुई जनाको मृत्यु भएको छ । कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भने यस अवधिमा सवारी दुर्घटनाबाट कसैको पनि मृत्यु भएको छैन । दुर्घटनामा गम्भीर घाइते हुनेको संख्या सुर्खेतमा ३७, रुकुम पश्चिममा २५ र सल्यानमा १७ रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, कालिकोटमा आठ, जाजरकोटमा पाँच, दैलेखमा ११, जुम्लामा चार र डोल्पमा एक जना गम्भीर घाइते भएका छन् । सामान्य घाइतेमा सबैभन्दा बढी सुर्खेतमै ३९, रुकुम पश्चिममा १७, जाजरकोटमा २३, दैलेखमा २०, सल्यानमा र कालिकोटमा ६/६ र जुम्लामा चार जना छन् । चाडपर्वमा भएका कुल ९१ दुर्घटनामध्ये बडादसैँको अवधिमा ५७ वटा र दीपावलीको अवधिमा ३४ वटा दुर्घटना भएका छन् ।
दुर्घटनाको संख्या दशैंंमा बढी देखिए पनि मानवीय क्षतिको हिसाबले तिहारमा अलि बढी देखिएको छ । दशैंको अवधिमा आठ जनाको ज्यान गएको थियो भने दीपावलीमा ११ जनाको ज्यान गएको छ । दसैँको अवधिमा भएको दुर्घटनामा ६६ जना गम्भीर घाइते र ९३ जना सामान्य घाइते भएका थिए । दीपावलीमा भने ४२ जना गम्भीर घाइते र २२ जना सामान्य घाइते भएका छन् । अधिकांश जिल्लामा तिहारको तुलनामा दसैँको समयमा बढी सवारी दुर्घटना भएको छ ।
सुर्खेतमा दशैँमा २२ र तिहारमा १४, सल्यानमा दशैँमा सात र तिहारमा चार, रुकुममा दशैँमा ११ र तिहारमा पाँच, जाजरकोटमा दसैँमा पाँच र तिहारमा चार तथा दैलेखमा दशैँमा चार र तिहारमा तीन दुर्घटना भएका छन् । जुम्लामा दशैँको अवधिमा चार र डोल्पामा एक दुर्घटना भए पनि यी दुई जिल्लामा तिहारमा भने कुनै दुर्घटना भएका छैनन् । मृत्युको तथ्यांक विश्लेषण गर्दा रुकुम पश्चिममा तिहारको समयमा धेरै मानविय क्षति भएको छ । तिहारको समयमा रुकुम पश्चिममा आठ जनाको ज्यानले ज्यान गुमाएका छन् । यस्तै, सल्यानमा दसैँमा चार जनाको मृत्यु भएको थियो भने तिहारमा कुनै मृत्यु भएको छैन । सुर्खेत र दैलेखमा दसैँमा दुई–दुई र तिहारमा एक–एक जनाको मृत्यु भएको छ ।





