जेन–जी आन्दोलनको क्षतिलाई राजनीतिक रुप नदिन आग्रह
सुर्खेत, १२ कार्तिक ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा २४ भदौमा भएको सार्वजनिक तथा निजी सम्पत्तिमाथीको क्षति र संलग्न व्यक्तिको सन्दर्भलाई राजनीतिक रुप दिन नहुने बताएका छन् । बुधबार २३ र २४ भदौका घटनाको छानबिन गर्न बनेको आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीसँगको भेटमा उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्य, तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।
२४ भदौको दिउँसो १ बजेपछि सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र चोरीमा संलग्न व्यक्तिमाथि निष्पक्ष छानविन गरी कारवाहीको सिफारिस हुनुपर्ने माग उनको थियो । जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्य, तथ्य र निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारवाहीको दायरामा ल्याए मात्रै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
मुख्यमन्त्रीसँगको भेटमा जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिको रूपमा आयोगले अध्ययन गर्ने बताए । उनले व्याक्तिगत घरमा आगजनी, लुटपाट र चोरी भएको विषय राजनीतिक नभएको उल्लेख गरे ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसँग सम्बन्धित फोटो तथा भिडियो प्रमाणहरू सङ्कलन गरिएको जानकारी दिए । उनले प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्य अन्तिम चरणमा पुर्याएको बताउँदै केही दिनभित्रै कानुनी कारबाही अघि बढाइने दावी गरे ।





