राष्ट्रपति महिला उत्थान कार्यक्रम विकटका सुत्केरीलाई निदान र सुरक्षामा बरदान

सुर्खेत, १२ कार्तिक ।

आर्थिक वर्ष २०७५/०७६ देखि सुभारम्भ भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका आठ सय बढी मातृशिशुको ज्यान जोगिएको छ । संघीय सरकारले ७ पुस २०७५ मा हुम्लाको चंखेली गाउँपालिकाबाट एक सुत्केरीको उद्धार गरेर कार्यक्रमको सुभारम्भ गरेको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी मातृमृत्यु र बालमृत्यु दर घटाउने उद्देश्य अनुरुप संघीय सरकारले यो कार्यक्रम सुभारम्भ गरेको थियो । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका १९ वटा पहाडी तथा हिमाली जिल्लामा पूर्ण र अन्य २९ जिल्लामा आंशिक गरी कुल ४८ जिल्लामा यो कार्यक्रम लागु छ । पूर्णरुपमा कार्यक्रम लागु भएका जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा, अछाम, दार्चुला हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म यस कार्यक्रममार्फत कर्णालीका ६ सहित कार्यक्रम लागु भएका जिल्लाहरुबाट आठ सय ७५ गर्भवती र सुत्केरी आमाले निशुल्क हवाई सेवा प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म ३० जनाको उद्धार भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको महिला सशक्तीकरण महाशाखाका अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ शाखाका प्रमुख महिला विकास अधिकृत अन्जु ढुङ्गानाले दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यानै जोखिममा परेका महिलाहरुलाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याएर विशेषज्ञसहितको निशुल्क सेवा प्रदान गर्दै आएको बताउँछिन् । उनका अनुसार हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी गर्भवती र सुत्केरीलाई पोषण स्याहार तथा यातायात सहयोग वापत गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त हुने सोही बमोजिमको खर्च दोहोरो नपर्ने गरी एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध गराइन्छ । ‘हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी गर्भवती तथा सुत्केरी महिलालाई प्रदान गरिने पोषण स्याहार तथा यातायात सहयोग रकम बैंक खातामा जम्मा हुन्छ,’ ढुङ्गाना भन्छिन्, ‘गर्भवती तथा सुत्केरी महिलाको बैंक खातामा रकम जम्मा हुन नसक्ने अवस्थामा सम्बन्धित अस्पतालबाट भुक्तानी हुन्छ ।’

कस्तो अवस्थामा गरिन्छ हवाई उद्धार ?

प्रमुख महिला विकास अधिकृत ढुङ्गानाका अनुसार सुत्केरी अवस्थामा लगातार लामो प्रश्रव बेथा (१८ घण्टा भन्दा बढि) लागि बच्चा जन्मन कठिनाई भएको अवस्थामा हवाई उद्धार सेवा दिइन्छ । बच्चाको हात खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएमा, शिशु जन्मेको ३० मिनेटसम्म पनि सालनाल ननिस्केमा, गर्भमा नै बच्चाको मृत्यु भएको अवस्थामा पनि हेलिकप्टरबाट उद्धार गरेर विशिष्टिकृत अस्पताल पुर्‍याएर सेवा दिइने उनले बताइन । ‘गर्भ अवस्थामा गर्भवती महिलाको हात, खुट्टा र शरीर अधिक सुन्निएको अवस्थाका साथै गर्भवती अवस्था र प्रसूतिपछिको अवस्थामा अधिक रक्तश्राव भएका गर्भवती र सुत्केरीको निशुल्क हवाई उद्धार गरिन्छ,’ उनले भनिन्, ‘सुत्केरी हुने क्रममा उच्च रक्तचाप तथा एक्लम्प्सिया र पाठेघर फुटेको लक्षण देखिएका महिलाको पनि तत्काल उद्धार हुन्छ ।’

साथै, पाठेघरभन्दा बाहिर बच्चा बसेमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर सास फेर्न गाह्रो भएका र रक्तअल्पताबाट ग्रसित गर्भवती तथा सुत्केरीलाई निशुल्क हवाई उद्धार सेवा प्रदान गर्ने गरिएको उनले बताइन । यस्तै, यसै कार्यक्रममार्फत विशेष परिस्थिति अर्थात बाढी, पहिरो, भुकम्प, हावाहुरी, हुण्डरी, महामारीका कारण सडक सञ्जाल क्षतविक्षत भई सडक यातायातका साधन सञ्चालन हुन नसकेको र काबु बाहिरको अवस्थामा समेत गर्भवती, सुत्केरी र बच्चालाई हेलिकप्टरबाट उद्धार गरी निशुल्क उपचार सेवा दिइन्छ ।

हवाई उद्धार सेवा लिन के गर्ने ? 

गर्भवती तथा सुत्केरी अवस्थामा जटिल समस्या देखिएको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिशपत्रका साथ हवाई उद्धारको सूचना मन्त्रालयलाई दिनु पर्दछ । जसमा सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसपत्रका साथै स्थानीय तहको सिफारिसपत्रसमेत समावेश गर्नुपर्ने हुन्छ । ढुङ्गानाका अनुसार प्रक्रिया पुर्‍याएर आएपछि कार्यविधिले तोके बमोजिम दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हवाई उद्धार गरी तोकिएका पायक पर्ने निदिष्ट अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाइन्छ ।

हवाई उद्धार गरिएका गर्भवती र सुत्केरी महिलाहरुको कोशी अञ्चल अस्पताल मोरंग, सगरमाथा अञ्चल अस्पताल सप्तरी, जनकपुर अञ्चल अस्पताल जनकपुर नारायणी उप–क्षेत्रीय अस्पताल पर्सा विरगन्ज, परोपकार प्रशुती तथा स्त्रीरोग अस्पताल थापाथली, भरतपुर अस्पताल चितवनमा उपचार हुनेगर्छ । यस्तै, गण्डकी प्रदेश अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती उप–क्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल नेपालगञ्ज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कर्णाली प्रदेश अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुने गरेको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम  विकटका सुत्केरीलाई निदान र सुरक्षामा बरदान

सम्पादकीय : सडक सुरक्षामा खेलाँची नगर !

राष्ट्रपति महिला उत्थान कार्यक्रम  विकटका सुत्केरीलाई निदान र सुरक्षामा बरदान

जेन–जी आन्दोलनको क्षतिलाई राजनीतिक रुप नदिन आग्रह 

Leave a comment

Your email address will not be published. Required fields are marked *