हरियो घाँस काटेर दसैं खर्च जुटाउदै

गोल्डेन बुढा

जुम्ला,१२ असोज ।
जुम्ला सदरमुकाम खलंगाको एक बिहान। घामको पहिलो किरण झुल्किन नपाउँदै डाँडापाखा जति सबै तिर घाँस काट्ने हँसियाको खनखनाहट सुनिन्छ। सडक छेउमा, खोल्साखोला किनारमा, जंगल र बारीका बिचको गोरेटोमा एउटै दृश्य देखिन्छ—काँधमा झाेला, हातमा हँसिया,डाेरी र अनुहारमा पसिनासँग मिसिएको दृढता।सिंजा गाउँपालिका–६ की १८ वर्षीया जमुना रावत यतिखेर खलंगामै डेरा लिएर बसेकी छन्। विगत सात दिनदेखि उनी हरेक बिहान ८ बजे घरबाट निस्किन्छिन् र साँझ ५ बजेसम्म साहुका लागि घाँस काट्छिन्। उनले भनिन्, “असोज ५ गतेदेखि काम थालेको, फुलपातीसम्म दिनभरि घाँस काट्नेछु। १३ दिनमा ७ हजार ७ सय ५० रुपैयाँ हुन्छ।”घाँस काट्ने यिनीहरूको काम देख्दा साधारण लाग्न सक्छ, तर यो उनीहरूको लागि केवल रोजगारी होइन—दसैंको खर्च, चामलको जोहो, पढाइको आधार र आत्मनिर्भरताको यात्रा हो।रेखा रोकाया यसै वर्ष एसईई पास गरेकी हुन्। अहिले उनी पढाइसँगै घाँस काट्ने काम पनि गर्छिन्। “पढाइ खर्च, किताब, कापी, ड्रेस अनि दशैंको तयारी सबै यही बाटै गर्नु छ,” उनले भनिन्। उनको भनाइमा अबोधपन छैन, जिम्मेवारी झल्किन्छ।रेखाले ९ हजार रुपैयाँ कमाएकी छिन्, त्यो पनि हँसियाको धार, हातको घाउ र पाखाको उकालो ओह्रालो पार गर्दै।अनिता रावतले १५ हजार ९ सय रुपैयाँ कमाएकी छन्।

मिना रावतले ८ हजार ८ सय र कमला रावतले १४ हजार रुपैयाँ। यिनीहरूको कमाइ रकममा मात्रै सिमित छैन, त्यहाँ छ आत्मसम्मान, परिवारको भरणपोषण र समाजमा टेकेर उभिने साहस।सुनिता बुढा पनि खलंगामै डेरा लिएर बस्छिन्। “विहान ८ बजे जान्छौं, दिउँसोभरि साहुका लागि घाँस काट्छौं। साँझ ५ बजे घर पुग्छौं,” उनले भनिन्। उनको आवाजमा थकान होइन, गर्व सुनिन्छ। उनी मुस्कुराउँदै थप्छिन्, “साँझ हातमा नगद आउँछ, अनि दिनभरको दुःख बिर्सिन्छ।”उनले १९ दिनको कामबाट १६ हजार १ सय ५० रुपैयाँ कमाएकी छन्। त्यो रकम उनले चामल, कोठा भाडा, दशैंको मासु, लुगा र थोरै पढाइ खर्चमा लगाउने योजना बनाएकी छन्।मनमाया रोकाया १२ हजार ६ सय रुपैयाँ कमाएर अहिले ढुक्क छन्। “७/८ जना मिलेर जान्छौं। बाटोमा गफगाफ हुन्छ। दु:ख पनि आधा लाग्छ। साथ हुँदा उकालो सजिलो लाग्छ,” उनी भन्छिन्। उनका अनुसार घाँस काट्ने क्रममा महिलाबीच मित्रता र सामूहिकताको भावना बलियो हुँदै गएको छ

।सहरका मल–सपिङ सेन्टरमा चमकधमक सुरू भइसकेको छ। जुम्लाका बजारमा भने दशैंको तयारी जंगलबाट सुरु हुन्छ। यहाँका महिला पिठ्युँमा सुन जस्तै मूल्यवान घाँस बोकेर फर्किन्छन्। त्यो घाँस दैनिकी हो, चाडपर्वको आशा हो।जाडो लागेपछि यिनै घाँस गाईभैंसीलाई खुवाइन्छ। तर दशैंको मुखमा यसले नगद कमाउने उपाय पनि दिएको छ। वनपाखामा उभिएर हँसिया चलाउने यी महिलाहरू घाँस काटिरहेका मात्रै होइनन्, आफ्ना सपना, कर्तव्य र भविष्य पनि बुनिरहेका छन्।दशैं नजिकिँदै गर्दा जुम्लाका गाउँघरमा ‘खुसी’ को मोल घाँसले तिरेको छ। यो खुसी पसलबाट किनेको हैन, पसिनाले कमाएको हो।घाँस काट्ने क्रममा शरीर थकाइन्छ, हातमा फोका पर्छ, तर मुटुमा उर्जा बढ्छ। त्यो उर्जा हो—”म केही गर्न सक्छु” भन्ने आत्मबल। विकट भेगहरूमा काम र अवसर खोज्न अन्यत्र जानुपर्ने अवस्था हुन्छ। तर जुम्लाका यी महिलाहरूले देखाइदिएका छन्—काम यही छ, प्रकृति साक्षात् स्रोत हो, र महिला सशक्तीकरणका कुरा भाषणले होइन, हँसिया समाएर पनि प्रमाणित गर्न सकिन्छ।जताततै डाँडापाखामा महिलाहरू घाँस काटिरहेका छन्। पिठ्युँमा हरियो घाँस बोकेर सहर झर्दै गर्दा उनीहरूको अनुहारमा थकान छैन, उत्साह छ। किनभने उनीहरू थाहा पाउँछन्—आफ्नो परिवारका लागि, चाडवाड लागि, र आफ्नै भविष्यका लागि उनीहरूले गरेकै काम पर्याप्त छ।जुम्लाको घाम, जुम्लाको चिसो, र पाखाको हरियालीसँगै यतिखेर जुम्लामा दशैं साँचो अर्थमा ‘श्रमको पर्व’ बन्दै गएको छ। र त्यो पर्वलाई आकार दिइरहेछन् यिनै मेहनती महिलाहरू—जसले हरियो घाँसमा सुनको भरोसा बोकेका छन्।

हरियो घाँस काटेर दसैं खर्च जुटाउदै

ठाकुरबाबामा जंगली हात्तीको आक्रमण : महिलाको घटनास्थलमै

हरियो घाँस काटेर दसैं खर्च जुटाउदै

दशैमा मासुको उच्च मागसँगै नेपालगञ्जमा अवैध कुखुराको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds