सम्पादकीय : घुमौं कर्णाली

दशैँ सुरु भएसँगै देशैभर चहलपहल बढ्दै गएको छ । दशैँको आगमनसँगै कर्णाली प्रदेशबाट रोजगारी, अध्ययन, व्यापार व्यवसाय लगायतका कामका लागि प्रदेश बाहिर रहेकाहरू भित्रिने क्रम बढ्दै गएको छ । दशैँको उमङ्ग बोकेर फर्किएकाहरू कोही घर पुगिसकेका छन् भने कतिपय बाटोकै यात्रामा छन् । कर्णाली भित्रिने मुख्य नाकाहरूबाट दैनिक हजारौँको संख्यामा कर्णालीका नागरिकको आगमन भइरहेको छ । रोजगारीका लागि भारत तथा तेस्रो मुलकबाट लामो समयपछि फर्केकाहरू परिवारका साथ दशैँ मनाउँने अभिलाषा बोकेर घर फर्किंदै छन् । दशैँलाई पारिवारिक मिलनको उत्सवका रूपमा पनि लिइन्छ ।
कर्णालीलाई विकट भौगोलिक अवस्थित भएको स्थानका रूपमा चित्रण गरिँदै आएको पाइन्छ । यहाँ अभाव र गरिबी व्याप्त छ भन्ने भनाई स्थापित छ । तर, भौगोलिक रूपमा कर्णाली जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनि पनि छ । धार्मिक, ऐतिहाँसिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले विशिष्ट मात्रै होइन नेपाली भाषा, संस्कृति र इतिहाँसको खुला संग्रहालय हो कर्णाली । भूगोलको दृष्टिले कर्णालीलाई भेरी र कर्णाली नदी र यसका सहायक नदीहरूले सिँचाइ र जलविद्युतको भण्डारको रूपमा समेटेको छ । आर्थिक, धार्मिक र सांस्कृतिका दृष्टिकोणबाट हेर्ने हो भने उत्तर र दक्षिण व्यापार तथा सांस्कृतिक मार्गका रूपमा कर्णाली भएर मानसरोवर एवम् मध्य एसिया पुग्ने प्राचिन कर्णाली शिल्क रोडलाई प्रतिनिधित्व कर्णालीले गर्दछ ।
यहाँ रहेका मन्दिर, विहार, पत्थरनाउली, ज्वाला र पञ्चकोशी, थामहरू, मालिका, ऐतिहाँसिक गुम्बा, कीर्तिखम्ब र पञ्चदेवल, सिंजा र दुल्लू जस्ता गृष्मकालिन र शितकालिन ऐतिहाँसिक धरोहरले कर्णालीको सभ्यता र इतिहाँस झल्काइरहेका छन् । कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने देशकै ठूलो रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने स्थान हो । यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको बासस्थान कैलाश मानसरोवरको दर्शनसमेत कर्णालीबाटै गर्न सकिन्छ । जीवनमा एक पटक कैलाश मानसरोवरको दर्शन गरेको खण्डमा सबै प्रकारका पापबाट मुक्त भई मृत्युपश्चात स्वर्ग पुगिने धार्मिक विश्वासका साथ बर्सेनि हजारौँको संख्यामा नेपाल, भारत तथा तेस्रो मुलुकबाट तिर्थ यात्रीहरू यहाँ पुग्ने गर्दछन् । नेपाल एकीकरणपूर्व कर्णालीको शितकालिन राज्य जुम्ला र यसको प्रशासनिक केन्द्र दैलेखको दुल्लू रहेको इतिहाँस पाइन्छ । दैलेखको पञ्चकोशी अर्थात् शिरस्थान र नाभिस्थान जहाँ सदियौँदेखि निरन्तर पानीमाथी आगोको ज्वाला बलिरहेका छन् । जसले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्व दर्शाइरहेका छन् ।
ऐतिहाँसिक क्षेत्र दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दुल्लु दरबारको भग्नावेश, पटाङ्गिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् । पञ्चकोशीको दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा तिर्थ जाने चलन छ । कर्णाली प्रदेशमै ऐतिहाँसिक सुर्खेतका काँक्रेविहार, देउती बज्यै, बुलबुले, दैलेखको पञ्चकोशी, ज्वाला क्षेत्र, महावु गाथ, भुर्तिका २५ देवल, दक्षिण एसियाको दोस्रो अग्लो मानिने कालिकोटको पचालझरना, खाँडाचक्र पञ्चदेवल, जुम्लाको चन्दननाथ, डुडुल चैत्य, मुगुको छाँयानाथ, हुम्लाका लिमी भ्याली, बाह्रदेउ र खार्पुनाथ, माथिल्लो डोल्पा र त्रिपुरासुन्दरी, सल्यानको कुभिण्डे दह, डोल्पाको जगदुल्ला ताल, रुकुमको स्यार्पु दह, जाजरकोटको खलंगा दरवार, चित्रीपाटन, हिमालयन ग्रेट ट्रेल प्रमुख पर्यटकीय गन्तव्यले कर्णालीको विविधतालाई देखाउँछन् । यिनै अथाह सौन्दर्य र इतिहाँस बोकेको कर्णालीलाई नजिकबाट नियाल्न दसैँ–तिहार बिदाको सदुपयोग गर्न सकिन्छ । रमणीय दृश्य, मौलिक संस्कृति, ऐतिहाँसिक धरोहरको अवलोकन मात्रै नभई खोज तथा अनुसन्धानका माध्ययमबाट आफ्नो पहिचान देशमा मात्रै होइन विदेशमा समेत फैलाउन कर्णालीले निम्ता दिइरहेको छ । कर्णालीका अधिकांश पर्यटकीय क्षेत्रमा घुम्न यो सयम उपयूक्त हुन्छ । यसर्थ, दसैँ बिदाको सदुपयोग गर्न यस पालीको दशैँ–तिहारमा घुमौ कर्णाली ।
सम्पादकीय : घुमौं कर्णाली

कोहलपुरमा लिङ्गे पिङले दसैँको मौलिकता झल्कायो, पिङ्गसङ्गै

सम्पादकीय : घुमौं कर्णाली

दशैँको उमङ्गले नछोएको बाढीपीडितको बस्ती 

Leave a comment

Your email address will not be published. Required fields are marked *