रोजगारीको खोजिमा कालापहाड

ओम शाही

सुर्खेत, १२ मंसिर । 

देशमा बिस्तारै आगामी २१ फागुनको निर्वाचनको माहोल बन्दै गएको छ । २३–२४ भदौको जेनी–आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमले देशलाई दुई वर्ष अगावै निर्वाचनमा लिन लागेको छ । भ्रष्टाचारको अन्त्य र सुशान कायम हुनुपर्ने माग राख्दै सडकमा उत्रिएको जेन–जी समूहमाथि भएको अत्याधिक बल प्रयोगले देशलाई विषम परिस्थितीमा धकेलेको छ ।

यद्यपी पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको सरकार र राजीतिक दलबीचको दुरीले तोकिएकै समयमा चुनाव हुने वा नहुनेमा एकिन भने भइसकेको छैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर–२ बाट मतदानमा सहभागी भएका थिए, बराहताल गाउँपालिका–८, भट्टेघारीका हर्कबहादुर तिरुवा ।

१ मंसिर २०७९ को मतदानबाट चुनिएका जनप्रतिनिधिले आफ्‌नो पाँच वर्षे कार्यकाल पुरा गर्न नपाउँदै देश पुनः निर्वाचनमय हुँदै गर्दा हर्कबहादुर भने बिहिबार रोजगारीको खोजिमा भारत हानिएका छन् । उनी उमेरले ५९ वर्षका भए । जीवनको उत्तरार्ध, अशक्त शरिरको कुनै प्रवाह नगरी हर्कबहादुर परिवारको रोजिरोटीको जोहो गर्र्न भारतको उत्तराखण्ड अर्थात कालापहाडको यात्रामा निस्किएका छन् ।

जाडो छेक्ने झुत्रा कपडाले सजिएका हर्कबहादुरले झोलामा श्रीमतीले भुटेर हालेको मकैसँगै एक सरो कपडा बोकेका छन् । हर्कबहादुर मजदुरीका लागि भारतको कालापहाड जाने मौसमी लाहुरे हुन । उनका अब आउने ६ महिना सडक निर्माण मजदुरका रुपमा बित्नेछन् । उनको यो क्रम ४० वर्षयता निरन्तर चलिरहेको छ ।

हर्कबहादुरका बुवाले पनि यसरी नै कालापहाडाको मजदुरी गरेर जीवन चलाएका थिए । ‘चाडपर्व सकिए, अब परिवार पाल्न हिडियो कालापहाड । यसवर्ष अलि शरिरले साथ नदेला जस्तो छ । हेरौ कति काम गर्न सकिन्छ,’ हर्कबहादुरले भने । यस वर्षको सिजनमा स्वास्थ्यले साथ दिए ऋण तिरेर एक लाख नेपाली रुपैयाँ बचत गर्ने लक्ष्य उनले राखेका छन् ।

हर्कबहादुरसँगै बराहताल गाउँपालिकाका विभिन्न क्षेत्रका एक सय जना रोजगारीको खोजिमा बिहिबार कालापहाडतर्फ लागेका छन् । उनीहरुलाई वर्षेनी ११ मंसिरमा स्थानीय सन्तोष शाही (स्थानीयको भाषामा मेट) ले भारतको उत्तराखण्डमा सडक मजदुरका रुपमा काम गराउन लैजाने गर्दछन् ।

चाडपर्व सकिएसँगै वर्षेनी उनीहरुको मजदुरीको यात्रा भारतर्फ लम्किन्छ । हर्कबहादुरहरुको यो रहर नभई बाध्यता हो । उनीहरु आफ्‌नै देशमा ज्याला मजुदरी गर्न चाहन्छन् । सीप अनुसारको रोजगारीको ग्यारेण्टी चाहन्छन् । परिवार पाल्नकै लागि घर छाड्न नपरोस भन्ने चाहन्छन् । बिडम्बना एकातिर रोजगारीका अवसर नहुन, नेपालको निर्माण क्षेत्रका बदमास व्यक्तिका कारण उचित श्रमको ज्याला त पाइदैन नै, काम गरेवापत उल्टै ठेकेदारको ठगी जालोबाट उनीहरु आक्रान्त छन् । यसै कारण पनि देशमै प्रसस्त निर्माण क्षेत्रमा रोजगारी रहेपनि उनीहरु भारत हानिन बाध्य हुन्छन् ।

अनौपचारिक क्षेत्रमा काम गर्ने नेपाली श्रमिकको मुख्य रोजगारीको गन्तव्य नै भारत होे । त्यसमा पनि कर्णालीका १० वटै जिल्लाका नागरिकहरु दैनिक ज्याला मजदुरीका लागि भारतका विभिन्न ग्रामिण तथा सहरी क्षेत्रमा जाने गर्छन । रोजगारीको ठुलो हिस्सा भारत हुने गरेको भएपनि राज्यको हेपाहा प्रवृत्तिका कारण कति नेपाली कुन अवस्था र कस्तो काम गरिरहेका छन् भन्ने एकिन तथ्यांकमा भन्न सकिने अवस्था छैन । ‘आफ्‌नै देशमा रोजगारी गर्ने मन नभएको त कहाँ होर ? तर, काम पाइन्छ, पैसा पाइदैन,’ हर्कबहादुरले भने ।

उनी ढुङ्गाको गारो लगाउने मिस्त्री हुन् । भारतमा उनको सीप अनुसारको काम पाइन्छ । भारतबाट फर्केपछि उनी मौसमी बेरोजगार बन्ने गर्दछन् । आफ्‌नै देशमा रोजगारीका पर्याप्त अवसर नहुँदा कालापहाड जाने हजारौ नेपालीको जीवन नै असुक्षित छ । भारतको उत्तराखण्डका सडक निर्माणमा हर्कबहादुरले आफ्‌ना जोशिला ४० वर्ष बिताएका छन् ।

मजदुरीको क्रममा उनका धेरै साथीहरु आजिवन अपाङ्गतासँग बाँचेका छन् । केहीले ज्यान गुमाएका छन् । कामको सिलशिलामा घाइते भए वा मृत्यु भए त्यहि नै जीवन समाप्त हुने उनको दुखेसो छ । जसले परिवारमा थप आर्थिक भार थपिने गरेको उनले सुनाए । भारत त्यसमा पनि निर्माण मजदुरका रुपमा काम गर्ने कुनै पनि नेपालीको भविष्य सुखद् छैन । उमेर र शरिरमा ताकत रहुन्जेल पाखुरा बजार्ने उनीहरु अलिकति तलमाथि परे जीवनसँग हार्नुको विकल्प छैन ।

कामको सिलशिलामा चोटपटक लागे उपचार, मृत्यु भएमा बीमाको व्यवस्था नहुँदा कालापहाडेहरुको जीवनसँगै परिवारको भरोषासमेत जोखिममा छ । पुस्तौदेखि चल्दै आएको हर्कबहादुरको कालापहाडको यात्राले गरिवीलाई झन् पुस्तान्तरण गरिरहेको छ । राज्यले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको सामाजिक सुरक्षामा ठोस योजना नबनाउँदा मानवविकास सुचाङ्कको पुछारमा रहेको कर्णाली गरिवीको चक्रमबाट मुक्त हुन अझै समय लाग्ने देखिन्छ ।  मेटबाट अग्रिम पैसा लिएर उनीहरु मंसिरमा काम गर्न निस्कन्छन् । यसरी लिएको अग्रिम पैसा नतिरी बचत हुँदैन । योक्रम हर्कबहादुर जस्ता बेरोजगारका लागि निरन्तर चलिरहन्छ । सडक निर्माण मजदुरका रुपमा पछिल्लो समय महिला पनि भारत जाने गरेका छन् ।

२८ हजारले लिए श्रम स्वीकृति

कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या दिनप्रतिदिन बढ्दोक्रममा छ । वैदेशिक रोजगार विभागका अनुसार हालम्म कर्णालीबाट २८ हजार व्यक्ति वैदेशिक रोजगारीमा छन् । विभागका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट नयाँ तथा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २८ हजार ५८ छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यो संख्या आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ११ दशमलव ८७ प्रतिशतले बढी हो । राष्ट्र बैंकको तथ्यांकले भन्छ, ‘आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका लागि प्रदान गरिएको कुल श्रम स्वीकृतिमध्ये कर्णाली प्रदेशको हिस्सा तीन दशमलव ७८ प्रतिशत छ ।

यस अवधिमा नयाँ श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या २० हजार आठ सय ८६ छ । जुन त्यसअघिको वर्षको तुलनामा १६ दशमलव ०६ प्रतिशतले बढी हो ।’ वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिएर जाने गरेका छन् । यस्तै, केहीले विदेशमा सिकेको सीप स्वदेशमै प्रयोग गरी स्वरोजगारमा संलग्न भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

रोजगारीको खोजिमा कालापहाड

सम्पादकीय : कहिले बन्छ ट्रायल सेन्टर ?

रोजगारीको खोजिमा कालापहाड

खजुरा गाउँपालिकामा टिनमुक्त विद्यालय अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds