सुर्खेतमा एक वर्षमै ३८ जनाले सडक दुर्घटनामा गुमाए ज्यान
सुर्खेत, ११ साउन ।
सुर्खेतमा एक वर्षको अवधिमा सडक दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर चार सय २३ सडक दुर्घटना भएका छन् । जसमा ३८ जनाले सडकमै ज्यान गुमाउँदा नौ सय ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा २९ पुरूष, एक बालक, ६ महिला र ३ बालिका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनमा गत वर्ष सवारी दुर्घटनामा कमी आएको भएपनि मृतकको संख्या भने बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाभर ६ सय ७३ सवारी दुर्घटनामा पर्दा २८ जनाको मृत्यु भएको थियो भने एक हजार एक सय ८४ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।
प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै सडक दुर्घटना तीव्र गती र क्षमताभन्दा बढी भारका कारण भएको देखिन्छ । ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाई गर्दै आएको भएपनि सवारी चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु, यन्त्रिक गढबढी, जिर्ण सडक लगायतका कारणले हुने सडक दुर्घटनमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ । दिनप्रतिदिन बढ्दै गएको सवारी चापसँगै ट्राफिक नियम उल्लंघनका घटनामा समेत उल्लेख्य बृद्धि भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार आठ सय ४२ सवारी साधनहरूलाई ट्राफिक नियम उल्लघंन गरेको कसुरमा कारवाही भएको देखिन्छ । यसरी कारवाहीमा परेका सवारीबाट एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको प्रहरीको तथ्यांक छ ।
गत वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लघंन गर्नेको संख्या १७ हजार एक सय ५१ पुगेको छ । यी सवारी साधनलाई नियम उल्लघंन गरेवापत गरिएको कारवाहीबाट प्रहरीले एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो विगत वर्षको तुलनामा २९ लाख १५ हजार पाँच रुपैयाँ बढी रहेको प्रमुख सुनारले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले तीन वर्षको अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने सवारीबाट झण्डै पाँच करोड बढी राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ६ सय ३१ सवारी साधनहरु कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट एक करोड ४७ लाख ६३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार सात सय दुई वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड नौ लाख ११ हजार राजश्व संकलन भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ ।

विभिन्न समयमा ट्राफिक नियमको उल्लघंन गर्नेलाई कारवाही गर्दा उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । जसमा मालवाहक, निजी र यात्रुवाहक सवारी साधन लगायतका साना र ठूला सवारी साधन कारवाहीमा परेका छन् । मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएका सवारी साधनलाई प्रहरीले कारवाही गर्ने गरेको छ ।
यस्तै, नम्बर प्लेट नभएका, हेल्मेट नलगाएका र कागजात नवीकरण नगरेका सवारीलाई पनि कारवाही गर्ने गरिएको उल्लेख गर्दै ट्राफिक नियमको जानकारी हुँदाहुँदै पनि त्यसलाई नियतबस पालना नगर्दा सवारी दुर्घटनासमेत निम्तिने गरेको प्रहरी निरीक्षक सुनार बताउँछन् । उनले राजश्व धेरै उठ्नुले ट्राफिक नियमको बढी उल्लघंन भएको देखाउने बताए । उनका अनुसार पहिलो पटक कारवाहीमा पर्ने सवारीलाई पाँच सय रुपैयाँ जरिवाना गर्ने गरिएको छ ।
यस्तै, दोस्रो पटक एक हजार र तेस्रो पटक कारवाहीमा परे एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ । उनले आमनागरिकले ट्राफिक नियमको पालन गरे मात्र पनि सवारी दुर्घटना, सवारी कारवाहीलाई कम गर्न सकिने बताए । जनचेतनामा वृद्धि, सडक संरचनाको सुधार, अपाङ्गमैत्री सडक निर्माण, जेब्रा क्रसिङको प्रयोग गर्न सके ट्राफिक नियमको उल्लघंनमा कमी आउने बताए ।
उनका अनुसार गत वर्ष कार्यालयले दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । यसबाट एक लाख १३ हजार एक सय दुई सवारी चालक, सह–चालक र पैदल यात्रीहरू लाभान्वित भएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण गर्न क्याम्पस, विद्यालय, पैदल यात्री, चालक, सह–चालक, सवारी धनीलाई लक्षित गरी दुई हजार पाँच सय ३४ पटक ट्राफिक सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरेको छ ।
यस्तै, लागूपदार्थ सेवन र मापसे चेकजाँचमा कडाई, राडर गनको प्रयोग गरी गति नियन्त्रणसँगै विभिन्न निकायसँगको समन्वयमा आठ सय ८६ स्थानमा रोड फर्निचरहरू राख्ने काम भएको छ । यात्रु बहाक सवारीमा ओभर लोड नियन्त्रण गर्न दुई सय ६ वटा अतिरिक्त सिट निकालिएको छ भने मोडिफाई गरी चर्को आवाजमा चलाउने ८४ सवारी साधन नियन्त्रणमा लिई कारवाहीको दायरामा ल्याएको ट्राफिक कार्यालयले जनाएको छ ।





