दुध बेचेर दैनिक पाँच हजार आम्दानी गर्दै बढैयातालका भट्ट 

बाँके १०भदौं ।

बर्दिया जिल्लाको बढैयाताल–८, मुनालबस्तीका ४१ वर्षीय जयराम भट्ट अहिले गाईपालन व्यवसायका कारण सफल किसानका रूपमा परिचित छन्। पाँच वर्षअघि सीमित लगानी र स्रोतबाट सुरु गरेको गाईपालनले आज उनी आत्मनिर्भर मात्र बनेका छैनन्, अन्य युवालाई पनि प्रेरित गरिरहेका छन् ।

जयरामले पाँच वर्षअघि तीन वटा गाई र एक लाख रुपैयाँ लगानीबाट भट्ट गाई फार्म सुरु गरेका थिए। गाईपालनप्रतिको लगाव र मेहनतले गर्दा आज फार्ममा २२ वटा गाई छन्, जसमा १० वटा माउ गाई छन् । दैनिक ९० लिटर दूध उत्पादन गर्दै आएका उनी यसबाट वार्षिक लाखौं रुपैयाँको आम्दानी गर्दै आएका छन् ।

भट्टले उत्पादन गरेको दूध भगवती दुग्ध सहकारी संस्था मार्फत बिक्री हुन्छ । चिसो मौसममा प्रतिलिटर ६४ रुपैयाँ र गर्मी मौसममा ७२ रुपैयाँका दरले दूध बिक्री हुन्छ । यसरी दैनिक ५,००० रुपैयाँभन्दा बढी कमाइ हुने गरेको छ ।

गाईपालन व्यवसायबाट बार्षिक ५ लाख रुपैयाँसम्म खर्च हुन्छ । यसमा घाँसको बिउ, गाईको आहारा, गोबर व्यवस्थापन, र अन्य व्यवस्थापकीय कामका लागि आवश्यक रकम पर्छ । तर, खर्च कटाएर पनि जयरामले वार्षिक १२ लाख रुपैयाँसम्म बचत गर्दै आएका छन् । उनी भन्छन्, “गाईपालनबाट राम्रो आम्दानी भएकाले घरखर्च सजिलै चल्छ र भविष्यका लागि बचत पनि गर्न सकेको छु ।”

भट्टले आफ्नो फार्मलाई व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रयोग गरेका छन् । गोबर फाल्ने ठेला, घाँस काट्ने मेसिन, र गाईका लागि आरामदायक म्याटजस्ता सामग्रीको प्रयोगले फार्मलाई आधुनिक बनाएको छ । यी उपकरणको लागि स्थानीय तह र सरकारी अनुदानले पनि सहयोग गरेको छ ।

गर्मी मौसममा गाईपालन चुनौतीपूर्ण हुने भट्ट बताउँछन् । गर्मीमा गाईको स्वास्थ्य समस्या बढ्नुका साथै दूध उत्पादनमा कमी आउने समस्या छ । यसलाई समाधान गर्न फार्ममा चिसो वातावरण बनाउने, गाईको आहारमा विशेष ध्यान दिने, र नियमित स्वास्थ्य परीक्षण गराउने जस्ता काम हुँदै आएका छन् ।

भट्टले फार्ममा रहेका १० वटा माउ गाईको बीमा गराएका छन् । यसले आकस्मिक अवस्थामा आर्थिक जोखिम कम गर्न मद्दत गर्छ । घाँसको व्यवस्थापनका लागि सरकारले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने कार्यक्रमले पनि उनलाई ठूलो सहयोग गरेको छ ।

जयराम भट्टको गाईपालन व्यवसाय स्थानीय युवाका लागि प्रेरणाको स्रोत बनेको छ । उनी भन्छन्, “युवाहरू विदेश जानभन्दा देशमै केही नयाँ काम गर्नुपर्छ । गाईपालन जस्तो व्यवसाय मेहनत र लगनशीलता आवश्यक पर्ने भए पनि यसले आत्मनिर्भर बन्न सकिन्छ ।”

भट्टले आगामी दिनमा फार्मलाई थप विस्तार गर्ने योजना बनाएका छन् । गाईको संख्या बढाउने, अत्याधुनिक प्रविधि थप गर्ने, र दूधजन्य उत्पादनलाई स्थानीय ब्रान्डको रूपमा विकास गर्ने उनको लक्ष्य छ ।

जयराम भट्टको गाईपालन यात्रा केवल आर्थिक सफलताको कथा मात्र होइन, यो मेहनत, लगनशीलता र स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रमाण हो । सुरुवाती चुनौतीहरूका बाबजुद उनले आफ्नो व्यवसायलाई सफल उद्यममा रूपान्तरण गरेका छन् ।

आज, भट्टले गाईपालनमार्फत आफ्नो जीवनस्तर सुधार्न मात्र होइन, गाउँकै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन भूमिका खेलेका छन् । उनको यो यात्रा आत्मनिर्भर बन्न चाहने प्रत्येक व्यक्तिका लागि प्रेरणादायी छ । “देशमै केही गर्ने सपना छ भने गाईपालनजस्तो व्यवसाय उत्कृष्ट छ,” भट्ट गर्वका साथ भन्छन् ।

दुध बेचेर दैनिक पाँच हजार आम्दानी गर्दै बढैयातालका भट्ट 

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds