स्याउ निर्यात गर्न सिफारिस दिन सुरु

गाेल्डेन बुढा

जुम्ला,१० भदौ
जुम्ली स्याउ जिल्ला बाहिर निर्यात गर्न सिफारिस दिन थालिएको छ। जुम्लाका ८ वटै स्थानीय तह अन्तर्गतका कृषि शाखाले सिफारिस गर्न सुरु गरेका हुन्। यसअघि भदौ १५ सम्म स्याउ निर्यात गर्न नपाउने भन्दै सूचना जारी गरेका स्थानीय तहले स्याउ पाकेकाले निर्यातका लागि सिफारिस दिन थालेका छन् । भदौ २ गतेदेखि नै स्थानीय तहका कृषि विकास शाखाले सिफारिस दिन थालेका छन् ।स्याउको गुणस्तर र कलर आइसकेको जिल्लाको तल्लो क्षेत्रको स्याउ निर्यातका लागि तयारी भइसकेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले पाकेको स्याउ १५ भदौसम्म राख्नु ढिला हुन्छ? कि भन्ने निष्कर्षसमेत निकालेको छ । यसपटकको तीज भदौ १० मा परेको र तीजअगावै स्याउ बजारसम्म लैजानुपर्ने भएकाले निर्यातको सिफारिस दिन थालिएको प्रमुख अधिकारीले बताए।‘जिल्लामा धेरै जातका स्याउ फल्छन् । कुनै जात अघि पाकिरहेका छन् त कुनै जातका स्याउ ढिला पाक्ने गर्छन्,’ प्रमुख जिल्ला अधिकारीले भने, ‘छिटो पाक्ने स्याउ ढुवानीका लागि सिफारिस दिन सुरु भएको हो ।’कृषि विकास कार्यालय जुम्लाले साउन ९ मै भदौ १५ भन्दा अगाडि स्याउ टिप्न र ढुवानी गर्न नमिल्ने गरेर काम गर्न परिपत्र गरेको थियो । तर जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकिसकेकाले ढुवानी सुरु गर्नुपर्ने भयो । स्याउ निर्यातका लागि स्थानीय तह कृषि विकास शाखाको सिफारिस अनिवार्य गरिएको छ । बैठकले काँचो स्याउ निर्यात हुन लागेको भन्दै गत साउन २७ मा प्रहरीले बरामद गरेको स्याउको गुणस्तर जाँच गरेर पठाउने समेत निर्णय गरेको हो ।बागवानी विकास अधिकृत तीर्थराज देवकोटाले अहिलेसम्म जुम्लाको स्याउ सहरसम्म पुग्न नसकेको बताए । ‘असारमा पाक्ने स्याउ भन्दै फाट्टफुट्ट लैजाने गरे पनि खासै स्याउ गएको छैन,’ उनले भने, ‘अब जुम्लाको स्याउ निर्यात हुन सुरु भयो ।’जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, चितवन, बुटवल, भैरहवा र काठमाडौं लगायतका सहरमा पुग्छ। यता कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । यो वर्ष २ हजार हेक्टरमा रोपिएको स्याउले फल दिएको छ । गत वर्ष १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएकामा यो पटक घट्ने प्रक्षेपण कृषि विकास कार्यालयले गरेको छ।गतवर्ष कृषि विकास कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँकाे स्याउ बेचेको थियोे । बागवानी विकास अधिकृत देवकोटाले खडेरी र असिनाले स्याउ नष्ट भएकाले उत्पादनमा गिरावट आएको बताए ।

जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा स्याउखेती भइरहेको छ।यता कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम अगाडि सारेकाे छ।२०६४ सालमा जुम्लालाई अर्गानिक जिल्लाका रुपमा घोषणा भएपछि अर्गानिक स्याउ उत्पादन हुन थालेको हो ।सिफारिस दिन थालेपछि स्याउ टिप्ने र खरिद गर्ने ब्यापारीको चहलपहल बढेको छ ।
क्याप्सन: जुम्ली स्याउ तस्बिर गाेल्डेन बुढा जुम्ला !

स्याउ निर्यात गर्न सिफारिस दिन सुरु

आम्दानीको मुख्य स्रोत बन्दै दुनाटपरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds