मन्ता भिरले नापिरहेको छ राज्यको ल्याकत

सुर्खेत, ११ पुस ।
संघीय सरकारले आर्थिक वर्ष २०६४/०६५ मा आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्यायो । तत्कालिन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित मध्यपहाडी राजमार्गको परिकल्पना सरकारले गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मध्यपहाडी सडक आयोजनाको वेबसाइटमा उल्लेख भए अनुसार यो सडक बनाउनुको पहिलो उद्देश्य यहाँबाट भइरहेको बसाइँसराइ रोक्नु थियो । सडकले मध्यपहाडका करीब ५० लाख नागरिकलाई प्रत्यक्ष सुविधा पुर्याउने लक्ष्य छ ।
पछि आर्थिक वर्ष २०६९/०७० बाट सरकारले मध्यपहाडी राजमार्गलार्य ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गरेर निर्माणलाई तीव्रता दिएको थियो । तर, निर्माण थालिएको झण्डै १३ वर्षयता मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा पर्ने मन्ता भिरले राज्यको ल्याकत नापरिहेको छ ।
अन्यत्र खण्डको काम अन्तिम चरणमा रहदा जाजरकोटको छेडागाड नगरपालिकास्थित झण्डै सात सय मिटर लामो मन्ता भिरको चट्टानका कारण सडकले पूर्णता पाउन सकेको छैन । कर्णाली प्रदेशका तीन जिल्ला भएर पूर्व–पश्चिम लाग्ने मध्यपहाडी राजमार्ग यहीँ भीरका कारण सवारी साधनले लामो रुट प्रयोग गर्नु परिरहरेको छ । जाजरकोटमा कुल ८५ किलोमिटर मध्ये मन्ता भिरसहित ३५ किलोमिटर बाहेक अन्यत्र सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने रुकुम पश्चिममा १३ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ ।
अहिले दैलेखबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटको बडावनसम्म नियमित सवारीसाधन सञ्चालनमा छन् । तर, मन्ता भिरमा सडक नबनेका कारण मध्यपहाडी राजमार्ग छोडेर छिन्चु–जाजरकोट सडकखण्डको छेडा बजार पुग्नु पर्ने बाध्यता छ । यसपछि छिन्चु–जाजरकोट सडक भएर खलंगा बजार हुँदै रुकुम पश्चिममा पर्ने मध्यपहाडी राजमार्ग पुुग्नुपर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–३, का स्थानीय रज्नबहादुर बुढाले बताए ।
राज्यको कमजोरीका कारण आफुहरुलाई जिल्ला सदरमुकाम पुग्न पनि निकै लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । मध्यपहाडी राजमार्ग अछाम–रुकुम खण्ड निर्माण सुरु हुँदा नै मन्ता भिरमा ट्र्याक खोल्न ठेक्का भएको थियो । उक्त ठेक्का भएको १३ वर्ष बितेपनि सडकको ट्र्याक पूर्णरूपमा खुलिसकेको छैन ।
मध्यपहाडीलाई जाजरकोटको कुदु र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी नदीको पुलले पनि अवरोध गरिरहेको छ । २०६९ मा ठेक्का सम्झौता भइ अघि बढेको भरी नदीमाथिको पुल अलपत्र अवस्थामा छ । मन्ता भिरमा बाटो र भेरीमा पुल बनेको भए दैलेखबाट पोखरा जाने गाडीले मध्यपहाडी लोकमार्ग छोड्नु पर्दैन । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार मन्ता भिर र भेरी नदीमा पुल नबनेका कारण दैलेख–जाजरकोट–रुकुम पश्चिम खण्डमा अन्य सडक प्रयोग गर्नुपर्ने हुन्छ ।
कार्यालयले अछामको चौखुट्टेबाट रुकुमपूर्वको पातीहाल्नसम्मको चार सय ४० किलोमिटर सडक हेर्छ । यस खण्डमा ९० प्रतिशत बढी काम पूरा भएको जनाइएको छ । कार्यालय प्रमुख थापा भन्छन्, ‘कडा चट्टानका कारण मन्ता भिरमा सडकले पूर्णता पाउन सकेको छैन । निर्माण व्यवसायीले काम गरिरहेको भएपनि ट्र्याक खोल्न सकिएको छैन । पछिल्लो समय पुनः उक्त खण्डको नयाँ सर्वे गरेर सडक विभागमा पठाएका छौं । विभागमा पठाइएको सर्वे स्वीकृत भए लगत्तै चट्टान काट्न सुरु हुन्छ ।’
उनका अनुसार अब लागत बढाएर काम गर्ने योजना छ । ‘बाटो अन्तबाट मोडेर लैजाने विकल्प पनि तत्काललाई छैन । यसो गर्दा लागत धेरै बढ्छ,’ उनले भने, ‘मन्ता भिरकै कारणले निर्धारित अवधिमा सडक पूरा गर्न समस्या भइहालेको छैन तर दैलेख–पोखरा चल्ने गाडी घुम्नुपर्ने भएको छ ।’
जाजरकोटको थलह–कुदु खण्डको बीचमा पर्ने मन्ता भिरमा सडक निर्माणको ठेक्का सिंह एन्ड बदर्स निर्माण सेवाले लिएको छ । निर्माण कम्पनीले ठेक्का सम्झौता भएको लागतभित्र चट्टानी भिर खोल्न नसक्ने भनेर आयोजना कार्यालयलाई जानकारी गराएको थियो । सोही अनुसार कार्यालयले सडक विभागमा नयाँ सर्वे गरेर पठाएको थापाले बताए ।
त्यस्तै, जाजरकोट र रुकुमको चौरजहारी जोड्ने भेरी नदीको पुल बनाउन नयाँ ठेक्का गर्नुपर्नेछ । वाइपी कन्स्ट्रक्सनले एक सय २६ मिटर लामो पुल बनाउन १३ वर्षअघि १४ करोड रुपैयाँमा ठेक्का लिएको थियो । तर, निर्माण कम्पनीले दुई वटा खम्बामात्रै बनाएर पुल अलपत्र पारेपछि ठेक्का रद्द भएको थियो । आयोजना प्रमुख थापाका अनुसार भेरी नदीको पुल सडक विभागले हेर्ने भएकाले यसै वर्ष पुनः ठेक्का आह्वान हुन लागेको छ ।
पाँचथरको चिवाभन्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाट जोड्ने यो राजमार्गको कुल लम्बाई एक हजार आठ सय ७९ किलोमिटर छ । मध्यपहाडी राजमार्ग छेउमा १० वटा नयाँ सहर विकास गर्ने पनि सरकारी योजना छ । यसमध्ये कर्णाली प्रदेशमा दैलेखको राकम र रुकुम पश्चिमको चौरजहारी नगरपालिका पर्दछन् ।






