घाँस–दाउराबाट पाहुना सत्कारसम्म  डल्ला होमस्टेले फेरिँदै थारु समुदायको जीवन

बर्दिया, ११ पुस ।

बर्दिया जिल्लाको डल्ला गाउँमा सञ्चालनमा रहेको होमस्टे (घरबास) कार्यक्रमले थारु समुदायको जीवनशैली, आम्दानी र सामाजिक संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको छ । कहिल्यै घाँस–दाउरा, मेलापात र जंगलमा निर्भर दैनिकीमा सीमित थारु समुदाय अहिले आन्तरिक तथा विदेशी पर्यटकको स्वागत–सत्कारमा रमाउन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको छेउमै रहेको यो गाउँ आज “डल्ला होमस्टे” का नामले चिनिन थालेको छ ।

डल्ला गाउँमा २०६७ सालदेखि होमस्टे कार्यक्रम सुरु गरिएको हो । सुरुका दिनमा सीमित घरधुरी र न्यून सुविधासहित सञ्चालनमा आएको होमस्टेले पछिल्ला वर्षहरूमा गति लिँदै थारु समुदायको आर्थिक सबलीकरणको बलियो आधार बन्न पुगेको छ । अहिले यहाँका थारु परिवारहरू होमस्टे सञ्चालनमार्फत नियमित आम्दानी गर्न थालेका छन्, जसले उनीहरूको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ ।

होमस्टे सञ्चालक मङ्गल थारुका अनुसार, “पहिला हामी जंगलमै निर्भर थियौँ । घाँस, दाउरा र मेलापातमै दिन बित्थ्यो । जंगली जनावरको जोखिम सधैँ थियो । अहिले पाहुना सत्कार गर्दै आयआर्जन गर्न पाउँदा जीवन नै फेरिएको महसुस हुन्छ ।” उनको भनाईमा, होमस्टेले मात्र आम्दानी बढाएको होइन, आत्मसम्मान र सामाजिक पहिचान पनि बढाएको छ ।

होमस्टे सञ्चालन अघि डल्ला गाउँका अधिकांश परिवारको जीविकोपार्जन जंगलमा निर्भर थियो । यसले मानव–वन्यजन्तु द्वन्द्वको जोखिम बढाउनुका साथै दैनिक जीवन असुरक्षित बनाएको थियो । तर तराई भूपरिधि तथा संरक्षण कार्यक्रम  लगायतका संघ–संस्थाको सहयोगमा होमस्टे प्रवद्र्धन सुरु भएपछि अवस्था क्रमिक रूपमा परिवर्तन हुँदै गएको छ । सुरुदेखि नै होमस्टे सञ्चालन र प्रवद्र्धनमा सहयोग पुगेकाले यहाँका महिलाहरू विशेष रूपमा लाभान्वित भएका छन् ।

होमस्टे सञ्चालक सर्मिला थारु भन्छिन्, “पहिला घरभित्र सीमित थियौँ । होमस्टेपछि बाहिरका मानिससँग भेटघाट बढ्यो, बोलचाल र व्यवस्थापन सिक्यौँ। अहिले आफैँ कमाएर घर चलाउन सक्ने भएको छु ।” उनको अनुभवमा, होमस्टेले महिलाहरूलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाएको छ ।

डल्ला होमस्टेमा पाहुनाको स्वागतसँगै स्थानीय उत्पादनको बजारीकरण पनि बढेको छ । स्थानीय परिकार, कृषि उपज, हस्तकला तथा थारु संस्कृतिसँग जोडिएका सामग्रीले बजार पाउन थालेपछि महिलाहरू आर्थिक रूपमा चलायमान बनेका छन् । यसले गाउँमै रोजगारी सिर्जना हुनुका साथै युवाहरूलाई पनि गाउँमै टिकाइराख्न सहयोग पुर्‍याएको छ ।

होमस्टे सञ्चालक लिखिनी थारुका अनुसार, “होमस्टे सुरु भएपछि मानव–वन्यजन्तु द्वन्द्वमा कमी आएको छ । जंगलमा जाने बाध्यता घटेपछि जोखिम पनि घटेको छ ।” उनका अनुसार, पछिल्लो समय डल्ला होमस्टेमा जर्मनी, फ्रान्स, इटालीलगायत विभिन्न देशका पर्यटकहरू आउन थालेका छन् । विदेशी पर्यटकको आगमनले स्थानीय संस्कृतिप्रति गर्व बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा डल्ला गाउँको परिचय फैलिएको छ ।

डल्ला होमस्टेको मुख्य आकर्षण स्थानीय खानाको स्वाद, थारु संस्कृतिको रहनसहन, नाचगान र सरल जीवनशैली हो । माछा, ढिक्री, घोंघी, सिद्रा लगायत परम्परागत थारु परिकारले पर्यटकलाई लोभ्याउने गरेको छ । साथै, थारु समुदायको मौलिक संस्कृति, पोसाक र आतिथ्य सत्कारले पाहुनालाई फेरि–फेरि आउन प्रेरित गरिरहेको छ ।

पर्यटन र संस्कृतिको समन्वय गर्दै डल्ला होमस्टे थारु समुदायको आम्दानीको दिगो आधार बन्दै गएको छ । यसले केवल व्यक्तिगत परिवारको जीवनस्तर सुधार गरेको छैन, समग्र गाउँको सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्‍याएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सरसफाइमा समेत सकारात्मक प्रभाव देखिन थालेको स्थानीयको भनाइ छ ।

डल्ला होमस्टे आज थारु समुदायका लागि मात्र होइन, ग्रामीण पर्यटन विकासको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको छ । स्थानीय सहभागिता, संस्कृति संरक्षण र दिगो आम्दानीको उदाहरण बनेको डल्ला होमस्टेले भविष्यमा अझै व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

घाँस–दाउराबाट पाहुना सत्कारसम्म   डल्ला होमस्टेले फेरिँदै थारु समुदायको जीवन

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

घाँस–दाउराबाट पाहुना सत्कारसम्म   डल्ला होमस्टेले फेरिँदै थारु समुदायको जीवन

सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद

Leave a comment

Your email address will not be published. Required fields are marked *