शब्दकोषमार्फत सुरक्षित भयो खस भाषाको पहिचान

ओम शाही
सुर्खेत, ९ कार्तिक ।
जुम्लाको चन्दननाथ नगरपालिका–१, का ७९ वर्षीय रमानन्द आचार्य १७ वर्ष यता एक गहन अनुसन्धानमुलक लेखमा व्यस्त थिए । उनले दिनरात नभनी यस्तो शब्दकोषको खोजी गरे, जुन शब्दकोष नेपाली भाषाको उद्गम थलो जुम्लाको खस भाषाका बारे थियो । आचार्यले त्यही खस भाषाको शब्दकोष तयार पारेका छन् । अध्ययन, अनुसन्धान र लेखन थालेको दुई दशक पुग्न लाग्दै गर्दा आचार्यले १३ सय पृष्ठमा ४० हजार शब्द एकिकृत गरेका छन् । उक्त ऐतिहासिक कृतिको नाम हो, ‘खसिया आखार’ ।
उनी १७ वर्षयता जिल्ला समन्वय समिति जुम्लाको परिसरको एक कोठामा खसिया आखर लेखिएको बोर्ड टागेर रातदिन नभई कर्णाली क्षेत्रमा बोलिने खस भाषाका शब्दहरु संकलनमा लागि रहे । आचार्यको लगावलाई कसैले फगत मान्थे, त कसैले उनको सपना पुरा नहुने ठोकुवा गर्थे । खस भाषा बुझेकाहरुले उनको तारिफ पनि खुबै गर्थे । आलोचना होस् या तारिफ जे भएपनि अन्ततः नेपाली भाषाको जननी जुम्लाको खस भाषाको शब्दकोष प्रकाशनमा सफल भएका छन्, आचार्य । उनले लोप हुँदै गरेको खस भाषको पहिचान शब्दकोषमार्फत सुरक्षित राखेका छन् ।
आचार्य भन्छन्, ‘नेपाली भाषाको उद्गम थलो जुम्लाको खस भाषालाई शब्दकोषमा संग्रहित गर्ने धोको पुरा भएको छ । यो मेरा लागि निकै चुनौतीको विषय थियो ।’ खस भाषाका शब्दहरु एकीकृत गर्ने कार्यमा लाग्दा उनी ६२ वर्षका थिए । जीवनको उत्तरार्धमा आइपुग्दा उनलाई दुख गरेर लेखेको शब्दकोषको पाण्डुलिपी सार्वजनिक गर्न नपाइने चिन्ता थियो । अब भने उनी ढुक्क छन् । भावी पुस्ताले यही दस्तावेजका आधारमा थप नयाँ खोज्ने छन्, जान्ने छन्, र बुझ्ने छन् भन्नेमा उनी विश्वस्त छन् ।
‘संकलित पाण्डुलिपी दराजमै थन्काएर अस्ताउँछु कि भन्ने लागेको थियो, जे होस मर्नुअघि नै प्रकाशन गर्ने धोको पूरा भएको छ,’ उनले भने, ‘खस भाषा र सभ्यता जीवित राख्ने प्रयास पूरा भएको छ, अब भावी पुस्ताले यसलाई दस्तावेजका रुपमा अध्ययन अनुसन्धान गर्नेछन् ।’
खस भाषा बोलिने क्षेत्रहरुमा कथ्य भाषाका रुपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न शब्दकोष नै निर्माण गर्नुपरेको आचार्य बताउँछन् । ‘यो शब्दकोषले १८४६ साल पूर्वको खस राज्यको पहिचान लोप हुन नदिने र यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व जीवन्त राख्ने अपेक्षा छ । अहिले गाउँबस्तीमा विदेशी भाषाको हालीमुहाली छ । युवा पुस्तालाई खसभाषाको अध्ययन, अनुसन्धानमा यो कृति कोसेढुंगा साबित हुनेछ,’ आचार्यले भने ।
शब्दकोषमा खस भाषाका उपज शब्दहरु मात्रै समेटिएका छन् । उनका अनुसार आयतित शब्दहरु शब्दकोषमा समावेश भएका छैनन् । जसले कर्णालीको खस भाषा बुझ्न र अध्ययन गर्न सहज बन्ने उनको दावी छ । उनलाई यो कृति प्रशासन गर्न कम्ता चुनौती भएन ।
११ बैशाख २०६५ मा बसेको जुम्ला जिल्ला परिषद्ले खस भाषा संरक्षणको नीति लिएको थियो । सोही बमोजिम तत्कालीन जिल्ला विकास समितिले पहिलो वर्ष दुई लाख रुपैयाँ छुट्याएर खस भाषामा दख्खल राख्ने आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मेवारी दिइएको थियो । तत्कालिन समयमा शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरिएको थियो । तर, पछि न समिति सक्रिय भयो, न त आर्थिक सहयोग नै जुट्यो । उनीहरु सुरुवाती केही समय मात्रै संक्रिय भए ।
पछि उक्त समितिका सदस्यहरु खटिन छाडेपछि आचार्य दैनिक आधा घण्टा हिँडेर सदरमुकाम खलंगा बजार पुगरे एक्लैले शब्द संकलन तथा लेखनको काम गर्न थाले । अहिले जस्तो सडक सञ्जालमा नजोडिएकोले पैदल हिँडेर जानुको विकल्प थिएन । संकलन गरेका शब्दहरु बिना सेवा सुविधा एक्लै अर्थ्याइरहेका हुन्थे उनी । शब्द संकलन गर्न गाउँगाउँ जानुपर्ने, त्यसैमा बजेट अभावको समस्या आचार्यको अघि थियो ।
तर आचार्यले हार मान्नुको सट्टा एक्लैले शब्द खोज्दै वर्णानुक्रमदेखि अर्थ्याउने लगायतका काम लागेका थिए । त्यस पश्चात आचार्यले निकै दुःख गरेर खस शब्द संकलन गरे । उनी कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्तीसम्म पुगे । हरेक जिल्ला र क्षेत्रमा बोलिने भाषा शैली नै फरक भएकाले शब्दको अर्थ लगाउन निकै कठिन थियो ।
तर पनि उनले संकलन गरेका खस शब्दलाई पुस्तकको रुप दिन पछिल्लो समय उनी कम्प्युटर टाइपिङको काममा खटिए । आफू कम्प्युटर चलाउन नसक्ने भएकाले टाइपिस्ट राखेर शब्दहरु टाइप गर्न लगाए । उनले संकलन गरेका कतिपय खस शब्दहरु कम्प्युटरको लिपिमा भेट्न मुस्किल पर्यो । तै पनि शब्दकोषको पाण्डुलिपि तयार भयो । पाण्डुलिपि तयार भएपनि त्यसलाई प्रकाशन गर्न उनीसँग पूँजि थिएन । उनी शब्दकोष प्रकाशन गर्न विभिन्न निकाय तथा व्यक्तिसँग प्रस्ताव गरे । तर, आर्थिक लाभ नुहुने देखेपछि आचार्यको शब्दकोष प्रकाशनको प्रस्तावमा कोही राजी भएनन् ।
अन्ततः उनको सारथी बन्यो कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय । मन्त्रालयले खस शब्दकोष प्रकाशन गर्न प्रति गोटा एक हजार रुपैयाँ दिएपछि आचार्यको सपना पुरा भएको छ । तर, यो रकम पर्याप्त भने छैन । उनका अनुसार प्रति शब्दकोष छाप्न एक हजार पाँच सय बढी रुपैयाँ लागेको छ ।
शब्दकोषलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो ८० दराली भाषिकामा ८० दरा, पाँच सय दरा र सिञ्जा दराका शब्दहरु राखिएको छ । दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरु, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ ।






