सम्पादकीय : पर्यटन पूर्वाधार निर्माणमा ध्यान देऊ !

कर्णालीका प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा र डोल्पाको शे–फोक्सुण्डो तालको एकै वर्ष २४ हजार बढी पर्यटकले भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा यी दुई तालमा स्वदेशी, सार्क र तेस्रो मुलुकका २४ हजार दुई सय १२ पर्यटकले भ्रमण गरेका हुन् । यस अवधिमा रारामा मात्रै १९ हजार बढी पर्यटक पुगेका छन् । स्वर्गको उपमा पाएको रारा तालमा गत आर्थिक वर्षमा १९ हजार चार सय ५७ पर्यटक पुगेका छन् ।

रारा राष्ट्रिय निकुञ्जका अनुसार गत वर्ष रारा अवलोकन गर्नेहरुमा १९ हजार एक सय चार नेपाली पर्यटक छन् । यस्तै, सार्क मुलुकबाट ७७ र तेस्रो मुलुकका दुई ७६ पर्यटकले रारा भ्रमण गरेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को भदौ मसान्तसम्म रारा पुग्ने पर्यटकको संख्या तीन सय ४७ पुगेको छ । भदौ मसान्त यताको तथ्यांक अद्यावधिक गरिएको छैन । भदौपछि दशैँ–तिहारमा बिदा पर्ने भएकाले रारा घुम्न आउने पर्यटकको चाप ह्वात्तै बढ्ने बताईन्छ । यस वर्ष मौसमी प्रतिकुलता कम भएकाले दैनिक सयौको संख्यामा पर्यटकहरु रारा पुग्ने गरेका छन् । मौसम अनुसार रारा ताल घुम्ने उपयूक्त समय चैतदेखि असार र असोजदेखि मंसिरसम्म मानिन्छ ।

रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । प्रदेशको राजधानी सुर्खेतबाट करिब डेढ दिनको यात्रामा रारा पुग्न सकिन्छ । रारा यात्राका लागि साना चार पाङ्ग्रे र मोटरसाइकलको यात्रा सहज मानिन्छ । सुर्खेत, दैलेख, कालीकोट, जुम्लाहुँदै मुगुको रारा पुगिन्छ । आन्तरिक तथा बाह्य पर्यटनको अथाह सम्भावना बोकेको रारामा सहज पहुँचमार्ग र बास बस्नका लागि स्तरीय होटलको प्रबन्ध हुन नसक्दा पर्यटकहरु छोटो समयमै फर्किन बाध्य हुने गरेका छन् । रारालाई यस वरपरका अन्य पर्यटकीय सम्भावनासँग जोड्न राज्यले ध्यान पुर्‍याउन सकेको छैन । गत आर्थिक वर्ष २०८१/०८२ मा डोल्पाको शे–फोक्सुण्डो ताल घुम्न पाँच हजार एक सय आठ पर्यटक पुगेका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म फोक्सुण्डो पुग्ने पर्यटकको संख्या एक हजार नौ सय ७४ छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांकले देखाउँछ । कुनै जीवजन्तु नपाइने यो ताललाई निर्जीव ताल पनि भनिन्छ ।

वर्षैभरी पुग्न सकिने फोक्सुण्डो ताल घुम्ने उपयुक्त सयम फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म मानिन्छ । डोल्पा सदरमुकाम दुनै नजिक सुलिगाडसम्म सडक मार्ग र त्यसपछि साढे दुई दिनको पैदल यात्रपछि फोक्सुण्डो पुग्न सकिन्छ । पर्यटन पूर्वाधार अभावका कारण फोक्सुण्डो ताल पुग्न पर्यटकलाई निकै हैरानी व्यहोर्नु पर्ने अवस्था छ । रारा र फोक्सुण्डो मात्रै होइनन् कर्णालीमा पर्यटकीय सम्भावनाले भरिएका क्षेत्रहरु पर्यटन पूर्वाधारको अभाव झेलिरहेका छन् । प्रकृतिले कर्णालीको छातिमा अथाह सम्भावना दिएको भएपनि काठमाण्डौंको ध्यान अझै पुग्न सकेको छैन । कर्णालीको विशेषता भनेकै जल, जंगल, कृषि, जडिबुटी र पर्यटन भएपनि प्रदेश सरकारको नजर नपरेको अवस्था छ । वार्षिक नीति, कार्यक्रम तथा बजेटमा कर्णालीको पर्यटन क्षेत्र प्राथमिकतामा पर्छ । तर, कार्यान्वयनको पाटो सबल नहुँदा अर्थतन्त्रका गेमचेन्जर प्राकृतिक सम्पदा ओझेलमा छन् । कागजी नीति र भाषणमा मात्रै सीमित बोलीले कर्णालीको अवस्था फेरिदैँन भन्ने तथ्यमा निर्णायक तहमा बसेकाहरुले ध्यान पुर्‍याउन आवश्यक छ । कर्णालीका १० वटै जिल्लामा अवस्थित प्रमुख पर्यटकीय क्षेत्रसम्म पुग्न स्तरिय सडकसँगै ति सम्पदासँग नजिक रहेका अन्य क्षेत्रलाई जोडेर पर्यटकको बसाई लम्ब्याउन मात्रै सक्ने हो भने यसले स्थानीयका साथै समर्ग राष्ट्रिय अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याउनेमा दुई मत छैन ।

सम्पादकीय :  पर्यटन पूर्वाधार निर्माणमा ध्यान देऊ !

छठ पर्वको सामाजिक र प्राकृतिक महत्व

सम्पादकीय :  पर्यटन पूर्वाधार निर्माणमा ध्यान देऊ !

हुम्लामा अघि बढ्यो दुई ठुला  जलविद्युत आयोजना

Leave a comment

Your email address will not be published. Required fields are marked *