विद्यार्थीलाई सेनाकाे ‘एनसीसी’ तालिम

गाेल्डेन बुढा
जुम्ला,१० असार ।
जुम्लाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसीसी तालिम सुरु गरिएको छ।नेपाली सेनाको नेतृत्वमा संचालन गरिएको तालिममा तातोपानी गाउँपालिका-५ मा रहेको दुर्गा माध्यमिक विद्यालय लाम्राका ३० जना विद्यार्थी सहभागी छन्।नेपाली सेना देविदत्त गण जुम्लाले तालिम सञ्चालनमा ल्याइएको हो।देविदत्त गणका गणपति प्रमुख सेनानी धीरज थापाले १५ जना छात्र र १५ जना छात्रा गरी कुल ३० जना छनाेट गरेपछि उनीहरूलाई सय दिने तालिम दिन थालिएको बताए।उनलेे भने, ‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न तालिम दिइने गरिन्छ ।
तालिम विशेषगरी सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन पाठ्यक्रमद्वारा निर्देशित गरिएको छ । विद्यार्थीको आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न, तथा नेतृत्व क्षमता बढाउन तालिमले सहयोग पुर्याउने प्रमुख सेनानी थापाले उल्लेख गरे।एनसीसीको तालिम पूरा गर्न केही अप्ठ्यारो भए पनि अन्ततः त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विश्वास उनले बताए। तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनाेट गरिएको थियो। यसअघि सदरमुकामका भित्रका चन्दननाथ नमुना मावि खलंगा बजार ,कर्णाली मावि अनामनगर र जनता मावि महतगाँउ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यो तालिम दिइएको थियो ।
यो वर्ष भने ग्रामीण भेगका एक वटा विद्यालयका विद्यार्थीलाई तालिमको अवसर दिने गरी विद्यालय छनाेट गरिएको देविदत्त गणले जनाएको छ । दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले एनसीसी तालिमले विद्यार्थीलाई अनुशासित र सिर्जनशील बनाउन सहयोग गर्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिप्रसाद न्याैपानेले तालिमले अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वास व्यक्त गरे। विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सृजना गर्नु उदेश्य छ ।सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०२२ साल कात्तिक ७ गतेबाट उक्त तालिम सुरु गरेको थियो । जिल्लामा भने आव २०७१÷७२ बाट यस्तो तालिको सुरुआत गरिएको हो ।






