नेपालगन्जमा नेपाल रेडक्रसको विधान संशोधनका लागि सुझाव संकलन कार्यशाला 

बाँके ,७ पुस।

नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यसहित दुईदिने कार्यशाला नेपालगन्जमा आइतबारदेखि सुरु भएको हो। नेपाल रेडक्रस सोसाइटी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका ३१ जिल्ला शाखाका प्रतिनिधिहरूको सहभागितामा कार्यशाला सञ्चालन गरिएको हो।

कार्यशालामा विधानको प्रस्तावित १८औँ संशोधन–२०८२ को मस्यौदामाथि विस्तृत छलफल गरिनेछ। कार्यशालाबाट प्राप्त सुझावलाई समेट्दै आगामी विधान संशोधन महाअधिवेशनबाट विधान पारित गर्ने योजना रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष विनोद कुमार शर्माले विधान संशोधन तथा निर्वाचन सम्पन्न गरी निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्नु तदर्थ समितिको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले नेपाल सरकार, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को संयुक्त विधान आयोग र अनुपालन तथा मध्यस्थता समिति (सीएमसी) ले दिएका सुझावलाई आत्मसाथ गर्दै कार्यशालाबाट प्राप्त सुझावका आधारमा विधान संशोधन गरिने उल्लेख गर्नुभयो।
आतिथ्य जिल्ला नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका महामन्त्री मीनबहादुर मल्लले कार्यशालाको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी र सुदूरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले संस्थालाई पहिलेकै सुदृढ र विश्वसनीय अवस्थामा फर्काउन सबै पक्षको सहयोग, समन्वय र सहकार्य अपरिहार्य रहेको भन्दै त्यसका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यशालाले विधानलाई समयसापेक्ष, समावेशी र संस्थागत सुदृढीकरणमा केन्द्रित बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

नेपालगन्जमा नेपाल रेडक्रसको विधान संशोधनका लागि सुझाव संकलन कार्यशाला 

एमाले खुला केन्द्रीय सदस्यमा बाँकेका सूर्य ढकाल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds