सयपत्री फुलका माला बेच्न महिला सदरमुकाम

गाेल्डेन बुढा

जुम्ला ,५ कार्तिक ।
जुम्लामा स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलमालाको व्यापार बढेको छ । अहिले किसानले सदरमुकाम खलंगाको चोकचोकमा मालाको व्यापार गरिरहेका छन् । उनीहरुले गाउँदेखि डोकोमा बोकेर फूलमाला खलंगामा ल्याएका हुन् ।जुम्लाको चन्दननाथ नगरपालिकाकाे जातिभिड,तलिउम,स्यालबाडा र राेकायाबाडा गाउँका महिला तथा किशोरीहरु,गुठिचौरका देपालगाँउ,उखाडी,धवलपुरा गाउँ र पातारासी गाउँपालिकाकाे बाता,उर्थु गाउँका किसानहरु सयपत्री फूलको माला बेच्न सदरमुकाम खलंगा झरेका छन् । एउटा सयपत्री फूलमाला न्यूनतम् ६० देखि १ सय ५० रुपैयाँसम्ममा बेच्ने गरेको चन्दननाथ नगरपालिका-८ स्यालबाडा गाउँकी लालकला राेकायाले बताइन् ।उनले दुई डोको माला बनाएर खलंगामा पुर्‍याएकी थिइन् । ती माला एकैदिनमा बेचिन् । पहिले फाटफुट मात्रै फूलमाला बेच्ने गरेकोमा अहिले व्यावसायिक रुपमै माला बेच्न थालिएको उनको भनाइ छ ।

अहिले स्याउका बगैंचाभित्र फूल छर्ने गरिएको छ । खलंगाको प्रशासन कार्यालय अगाडिको चोक, बालमन्दिर, कालेखोली,जुगाडपुल र विजयनगरका चोक तथा पसलहरुमा स्थानीय सयपत्री फूलका मालाहरु बेच्न थालिएको छ ।खलंगामा एकैस्थानमा फूलमाला राखेर बेच्न नपाइने भएकोले समस्या भएको किसानहरुको गुनासो छ। यस्तै पातारासी गाउँपालिका-६ बाता गाउँकी सृजना बुढाले उत्पादन गरेको सयपत्री फूलको माला बेच्न कठिन हुने गरेको बताइन् । उनले भनिन् , ‘एकै स्थानमा व्यवस्थित रुपमा राखेर बेच्ने ठाउँ नभएकोले सडकमै डोको चोकमा राखेर बेच्नु परेको छ ।’ अधिकांश किसानले गाउँगाउँमा डुलाएरसमेत माला बेच्ने गरेका छन् । ‘गाउँमा पहिलेदेखि सयपत्री फूलको माला लगाइन्थ्यो, तर सदरमुकाम र टुक्रे बजारमा प्लाष्टिक मालाको किनबेच बढिरहेको थियो,’सृजनाले भनिन्, ‘अहिले बजारमा समेत सयपत्री मालाले धानिरहेको छ । विस्तारै प्लाष्टिक माला विस्थापित हुने क्रममा छ ।’अहिले जिल्ला बाहिरबाट मगाउनु परे पनि सयपत्रीको माला नै मगाएर बेच्ने गरिएको छ । अहिले प्लाष्टिकको माला अशुभ भएको भन्दै भाइटीकामा लगाउन छाडिएको छ।सयपत्री फूलको माला बेच्न किसानलाई यति बेला भ्याइ नभ्याइ छ।किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन्।

उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्‍याइसकेका छन्।चन्दननाथ नगरपालिका तलिउम राेकायाबाडा गाउँकी पञ्चा राेकायाले फूलले उस्तै उत्साह थपेको बताउँछिन्। खलंगा बजारको बाल मन्दिरको कुनामा बसेर वरिपरि फुलका माला राखेर बसिन्। ती मालाले मन्दिरको शोभा पनि बढाएको अनुभुति हुन्थ्यो। उनले आफूले बोकेर ल्याएको पूरै डोकोलाई नै पूलजस्तो गरेर सजाएर राखेकी थिइन्। उनले दर्जनौं माला बेचिन्। बारीमा फुल लगाएकी थिएँ। घर ल्याएर सुन्दर माला बनाएँ, उनले भनिन्,‘बजारमा लिएर बेचे।’ प्रतिमाला ५० रुपैयाँमा बेचेको उनी बताउँछिन्। यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थानीय किसानले उत्पादन गरेको फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् ।

उनले आफूले सपयत्री फूलको माला ल्याउन दिदीबहिनीलाई भनिरहेको बताउँदै सबैले स्थानीय उत्पादित फूल प्रयोग गर्नुपर्नेमा जोड दिए । यो पटक भाइटीका अगाडि नै भएकोले सयपत्री फूल टन्न छ । अहिले जुम्लाको तिला गाउँपालिका-६ ले त प्लाष्टिक माला निषेध नै गरेको छ । जुम्लाको ८ वटा स्थानीय तह र ६० वटा वडा मध्ये तिला -६ वडाले प्लाष्टिक माला निषेध नै गरेको हो।भाइटीकामा किसानले उत्पादन गरेका सयपत्री ३ लाख रुपैयाँभन्दा बढोको कारोबार हुने गरेको छ । अधिकांश महिलाले त यही फूलमाला बेचेर तिहार खर्चसमेत जोहो गर्दै आएका छन् । खलंगाका केही पसलले समेत किसानबाट होलसेलमा फूलमाला किनेर बेच्न राखेका छन् ।

सयपत्री फुलका माला बेच्न महिला सदरमुकाम

पहिलोपटक जुम्लामै सम्भोट लिपि पढाइ

Leave a comment

Your email address will not be published. Required fields are marked *