अझै पक्राउ परेनन् जेन–जी  आन्दोलनमा जेल तोडेर भागेका कैदी

ओम शाही

सुर्खेत, ५ असोज ।

२३–२४ भदौको जेन–जी आन्दोलनपछि जेल तोडेर फरार कर्णाली प्रदेशका दुई जिल्लाका कैदीबन्दी अझै पनि पक्राउ पर्न सकेका छन् । शान्तिपूर्ण आन्दोलनले हिन्सात्मक रुप लिएपछि उत्पन्न मुलुकको विषम परिस्थितीको अनुचित फाइदा उठाएर कारागार कार्यालय जुम्ला र रुकुम पश्चिमबाट ८४ कैदी र ४५ थुनुवा गरी एक सय २९ जना फरार भएका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५६ कैदी र ३४ थुनुवा पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार अझै पनि २८ कैदी र ११ थुनवा  गरी कुल ३९ कैदीबन्दी फरार छन् । कारागार कार्यालय जुम्लाबाट २४ भदौको राति २९ कैदी र १२ थुनुवा गरी ४१ जना बाहिर निस्किएका थिए । यद्यपी, सोही दिन नेपाली सेनाले ६ जनालाई पक्राउ गरी पुनः कारागार पठाएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीले फरार रहेका ३६ मध्ये २४ जना पक्राउ परिसकेको बताए । उनका अनुसार फरार रहेका १२ जनाको खोजी कार्य जारी छ । ‘जेन–जी आन्दोलनका क्रममा २४ गते राति फरार भएका मध्ये २४ जनालाई पक्राउ गरिसकिएको छ,’ उनले भने, ‘बाँकी १२ जनाको खोजी कार्यपनि जारी छ । हामीलाई प्राप्त सुराकका आधारमा उनीहरुको खोजी कार्य भइरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय जुम्लाले फरार भएका कैदीबन्दीहरुलाई सम्पर्कमा आउन आग्रह गरेपनि उनीहरु सम्पर्कमा आएका छैनन् । जुम्ला कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल सम्पर्कमा आउन अनुरोधसमेत गरेको थियो । कारागार कार्यालय जुम्लबाट फरार भएका कैदी बन्दीहरुलाई यथासिघ्र सम्पर्कमा आउन प्रशासनले अनुरोध गरेको थियो । सम्पर्कमा नआउने कैदिबन्दीहरुको हकमा कानून बमोजिम कडा कारवाही गरिने प्रशासनको चेतावनीका बिच पनि उनीहरु सम्पर्कमा आउन चाहेका छैनन् । यस्तै, कारागार कार्यालय रुकुमपश्चिमबाट ५५ कैदी र ३३ थुनुवा गरी ८८ कैदीबन्दी फरार भएका थिए । जसमध्ये ३९ कैदी र २३ थुनुवा गरी ६२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममले जनाएको छ । रुकुम पश्चिम कारागारबाट फरार भएका १६ कैदी र १० थुनुवा अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक प्रवेश विष्टले जानकारी दिए । फरार रहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख विष्टले जानकारी दिए । ‘कारागार कार्यालयबाट कैदीबन्दी फरार भएको सूचना लगत्तै हामीले अप्रेसन नै चलाएका थियौ,’ उनले भने, ‘सोहीक्रममा ४० बढीलाई सोही दिन पक्राउ गरिएको थियो । बाँकी २६ जनाको पनि खोजी कार्य जारी छ ।’ उनका अनुसार रुकुम पश्चिमको सोतीमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भई कैद सजाय भोगिरहेका अधिकांशलाई पनि पक्राउ गरिएको छ । उनीहरु पनि जेन–जी आन्दोलनकै क्रममा भागेका थिए ।

जेनजी आन्दोलनको फाइदा उठाँदै कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवाहरुमध्ये केही आफै फर्किएका छन् । जिल्ला भित्र र बाहिरका विभिन्न ठाउँमा लुकेर बसेका यस्ता व्यक्तिहरुलाई लुकीछिपी बसेकै अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । फरार भएका कैदीबन्दीहरु जघन्य अपराधमा जेल जीवन बिताइरहेका धेरै छन् । जेन–जी आन्दोलनका कारण कारागार कार्यालयको सुरक्षामा खटिएको प्रहरी रक्षात्मक बन्दा देशैभर १४ हजार बढी कैदीबन्दी कारागार तोडफोड गरेर निस्किएका थिए । सामाजिक सञ्चालमाथिको प्रतिवन्ध, भ्रष्टाचार र अनियमितताका विरुद्ध सडकमा उत्रिएका कलिला युवामाथि सरकारले अत्याधिक बल प्रयोग गरेपछि सोही दिन १९ जनाले ज्यान गुमाएका थिए । सोही घटनापछि दोस्रो दिन सडकमा उत्रिएको जेन–जी समूहको आन्दोलन तोडफोड र आगजनीमा उत्रिएपछि सुरक्षा दिन नसकेको प्रहरीका कारण कैदीबन्दीहरु कारागार फोडेर भागेका थिए । यसरी कारागारबाट निस्कने मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नक्कली भुटानी सरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी समेत थिए । रास्वपा सभापति लामिछाने पुनः जेल फर्किएपनि रायमाझी भने अझै फरार छन् ।

सुर्खेतमा चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले देशका विभिन्न कारागार कार्यालयबाट फरार भएका चार जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका उनीहरुलाई पक्राउ गरी पुनः कारागार चलान गरेको हो । प्रक्राउ पर्नेमा सुर्खेतको लेकवेशी नगरपालिका–१०, का शिवलाल घिमिरे छन् ।

उनी काठमाण्डौंस्थित जगन्नाथ देवल कारागारबाट फरार भएका थिए । यस्तै, सोही कारागारबाट फरार रही सुर्खेत पुगेका सर्लाही जिल्लाको वागमती नगरपालिका–३, का सागर तामाङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ । घिमिरे र तामाङ्ग ३० भदौमा पक्राउ परेका थिए । जेन–जी आन्दोलनकै क्रममा कारागारमा लफडा बनाएर बाँकेको जयन्दु बालसुधार गृहबाट भागेका रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४, का मनिष विष्टलाई पनि सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

उनी बालसुधार गृहबाट भागेर सुर्खेत पुगेको अवस्थामा २७ भदौमा प्रहरीले पक्राउ गरेको हो । यस्तै, काठमाण्डौंको जगन्नाथ देवल कारागारबाट फरार भएका वीरेन्द्रनगर नगरपालिका–१०, का गणेश नेपालीलाई पनि प्रहरीले २७ भदौमा पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले पक्राउ गरिएका कैदीलाई कारागार कार्यालय सुर्खेतमा पठाइएको बताए ।

अझै पक्राउ परेनन् जेन–जी   आन्दोलनमा जेल तोडेर भागेका कैदी

सम्पादकीय दलहरुलाई ताजा जनमत लिने अवसर !

अझै पक्राउ परेनन् जेन–जी   आन्दोलनमा जेल तोडेर भागेका कैदी

जेनजी आन्दोलन : २० अर्ब ७० करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *