हवाई सेवा सुधारका लागि जुम्लामा छलफल

गाेल्डेन बुढा

जुम्ला,६ पुस।
दुर्गम जिल्लाको जीवनरेखा जस्तै रहेको हवाई सेवा सहज बनाउने विषयमा जुम्लामा नागरिक उड्डयन प्राधिकरणको पहलमा बृहत अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रशासन, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल एयरलाइन्स, निजी एयरलाइन्स, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरू सहभागी थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्ला प्रमुख प्रदीप अर्यालले विमानस्थलको इतिहास, वर्तमान अवस्था, समस्या र चुनौतीहरू प्रस्तुत गर्दै टिकट अभाव र सहज उपलब्धतामा आएको कमीलाई प्रमुख समस्या भएको बताए। उनले भने,“हवाई सेवा दुर्गम क्षेत्रका लागि सामाजिक अधिकार हो। यसलाई नागरिकसम्म सहज पहुँच पुर्‍याउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ।” यता राष्ट्रिय मानव अधिकार आयोग जुम्ला प्रमुख कल्पना नेपाल (आचार्य)ले स्थानीय नागरिकका गुनासो र त्यसको समाधानमा भएका प्रयासबारे जानकारी दिँदै भनिन्,“निजी जहाज कार्यालय नखोल्ने र टिकट वितरणमा समस्या भएकाले नागरिक, विशेषतः बिरामी र तत्काल यात्रा आवश्यक पर्नेहरू असुविधामा परिरहेका छन्।

यो समस्या तत्काल प्राथमिकतामा पर्नु आवश्यक छ।”स्थानीय तहमा जहाज कार्यालय खोल्ने,टिकट प्रणाली अनलाइनमार्फत सहज बनाउने र केन्द्रीय तहमा नीति, दरबन्दी र निगरानी सुधार गर्ने मुख्य तीनवटा पक्षमा छलफल भएको थियो।यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले तत्काल विमानस्थल भित्रका कार्यालय बाहिर सारेर नागरिकको सहजता सुनिश्चित गर्नुपर्ने सुझाव दिए।“उनलेे भने,सेवाग्राही नागरिकलाई मुस्कानसहित सेवा दिनु एयरलाइन्सको दायित्व हो। टिकट व्यवस्थापनमा सहजता ल्याउन विगतका निर्णय तत्काल कार्यान्वयन गर्नुपर्छ।”प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जहाज प्रतिनिधिलाई काउण्टर खोल्ने समयसीमा निर्धारण गर्न निर्देशन दिए। उनले विमानस्थल व्यवस्थापन कार्यालयलाई विगतका निर्णय कार्यान्वयन गर्न गृहकार्य गर्न निर्देशन दिँदै सबै पक्षलाई जिम्मेवार बनाउने प्रतिबद्धता जनाए।यस्तै नगरपालिकाका जनप्रतिनिधिहरूले पनि स्थानीय नागरिकका लागि टिकट प्रणाली सजिलो बनाउन जोड दिएका थिए। चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी खड्काले स्थानीय स्तरमा सहज पहुँच सुनिश्चित गर्न पहल गर्नुपर्ने बताए। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विगतका निर्णयलाई कार्यान्वयन गर्न जहाज प्रतिनिधिलाई तयार रहन सुझाव दिए।

पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले स्थानीय र केन्द्रीय तहमा जिम्मेवारी स्पष्ट पार्नुपर्नेमा जोड दिए।नेपाल एयरलाइन्स र निजी एयरलाइन्स–सिमिट एयर, तारा एयर, सिता एयरका प्रतिनिधिहरूले पनि आफ्नो धारणा राख्दै सेवाको नियमितता, दरबन्दी र टिकट सहजता सुधारका लागि पहल गर्नुपर्ने बताएका थिए।जुम्लाको दुर्गम भूगोल र सीमित सवारी साधनले हवाई सेवा नागरिक जीवन र स्थानीय अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। तर, टिकट अभाव, निजी एयरलाइन्सको कार्यालयको अनियमितता, नीति अस्पष्टता र अनलाइन पहुँचको कमीले सेवामा अवरोध सिर्जना गर्दै आएको छ।

स्थानीयहरुका अनुसार स्थानीय र केन्द्रीय तहबीच समन्वय, अनलाइन टिकट प्रणालीको विकास, एयरलाइन्समा निगरानी र नियमीत निरीक्षण कार्यान्वयन भए मात्र नागरिकको सहज हवाई पहुँच सुनिश्चित हुन सक्छ।नागरिक उड्डयन प्राधिकरण जुम्लाले अन्तरक्रियापछि विमानस्थलमा सुविधा, नियमिता र भरपर्दो सेवा सुनिश्चित गर्न ठोस कदमहरू तय गर्ने जनाएको छ। यस अन्तरक्रियालाई केवल छलफल नभई कार्यान्वयनको सुरुवातको संकेतको रूपमा लिइएको छ।

हवाई सेवा सुधारका लागि जुम्लामा छलफल

सम्पादकीय : योग्य व्यक्तिलाई परिषद्को जिम्मेवारी देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds