थापाको फुलबारीमा फूलेका थाइल्यान्डका सयपत्रीहरू – स्थानीय बजारमा नयाँ आकर्षण

बाँके,३ कार्तिक ।

तिहार नजिकिँदै जाँदा बाँकेका फूल बजारहरू सयपत्री फुलको सुगन्ध र रङले रंगिन थालेका छन्। घर–घरमा दीयो बाल्ने र फूलमालाले सजिने पर्व तिहारलाई लक्षित गर्दै बाँकेमा सयपत्री फूलको माग ह्वात्तै बढेको छ। यसै सन्दर्भमा कोहलपुरका एक युवाले थाइल्यान्डमा पाइने विशेष जातको सयपत्री फूल उत्पादन गरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्।

 

कोहलपुर नगरपालिका–१३ का पुष्प व्यवसायी कर्णबहादुर थापाले थाइल्यान्डबाट ल्याइएको विउविजन प्रयोग गरी स्थानीय माटोमा सयपत्री फुलाएका छन्। लामो समय विदेशमा संघर्ष गरेर फर्किएका थापा अहिले स्वदेशमै “थापा कृषि तथा नर्सरी फर्म” दर्ता गरी करिब १५ कठ्ठा जमिनमा फूल खेती गर्दै आएका छन्।

थापा भन्छन्, “विदेशमा दुःख गरेर कमाएको अनुभव र सीपलाई अब आफ्नै देशमा प्रयोग गर्नुपर्छ भन्ने सोचले मैले फूल खेती सुरु गरेँ। कम लगानीमा राम्रो प्रतिफल पाइन्छ, त्यसैले यो व्यवसाय युवाहरूका लागि निकै आकर्षक छ।”

गत वर्ष बेमौसमी वर्षाका कारण अपेक्षित उत्पादन घटे पनि यस वर्ष उनले ६ क्विन्टल फूल उत्पादन गर्ने लक्ष्य राखेका छन्। स्थानीय बजारमा माग अत्यधिक भएकाले उत्पादन सहजै बिक्री हुने उनले विश्वास व्यक्त गरे। हाल उनी वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानी गर्ने लक्ष्यसहित तीन चार जनालाई रोजगारी दिइरहेका छन्।

थाइल्यान्डको विशेष जातको सयपत्री फूलले कोहलपुरमा नयाँ स्वाद र रंग थपेको छ।
थापाका अनुसार, तिहारलाई लक्षित गर्दै नगरका विभिन्न ठाउँमा पुष्प व्यवसायीका स्टल राख्ने र स्थानीय उत्पादनको बिक्रीमा सहजता ल्याउने योजना बनाइएको छ।

थापाको फूल फार्मबाट उत्पादन हुने सयपत्री बाँकेभित्र मात्र होइन, छिमेकी जिल्लाहरूमा समेत पठाउने तयारी भइरहेको छ। यसले स्थानीय उत्पादनमा नयाँ आयाम थपेको छ।

फूल खेतीमा युवा पुस्ताको प्रवेशले बाँकेमा स्वरोजगारका नयाँ अवसर सिर्जना गरेको छ। तिहारको रौनकसँगै स्थानीय माटोमा फूलेका यी सयपत्रीहरूले अब कोहलपुरको पहिचानलाई पनि सुगन्धित बनाइरहेका छन्।

थापाको फुलबारीमा फूलेका थाइल्यान्डका सयपत्रीहरू – स्थानीय बजारमा नयाँ आकर्षण

तिहारअघि बाँकेमा कडा प्रहरी अभियान : कोहलपुरबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *