तिहारअघि बाँकेमा कडा प्रहरी अभियान : कोहलपुरबाट तीन लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ

बाँके,३ कार्तिक ।

तिहार र दिपावली नजिकिएसँगै बाँकेमा जुवातासको विकृति नियन्त्रण गर्न प्रहरीले कडा अभियान सञ्चालन गरेको छ। यही क्रममा आइतबार राति कोहलपुरबाट करिब तीन लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आइतबार राति करिब साढे १२ बजे कोहलपुर–१५, चौधरीया गाउँस्थित लक्ष्मीप्रसाद बोहोराको पुरानो कुखुरा फर्मभित्र हारजित हुने गरी जुवातास खेल भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले छापा मारेको थियो।

प्रहरीले सो ठाउँबाट रु. २ लाख ८८ हजार ८३५ नगद, सात गड्डी खुलेको र सात गड्डी नखुलेको तास बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा कोहलपुर–१५ का लक्ष्मीप्रसाद बोहोरा, धनबहादुर परियार, मायाराम थारू, सन्जय चौधरी, सत्यनारायण थारू र राम सेवक थारू, कोहलपुर–४ का किसन सुनार, कोहलपुर–१२ का खेमबहादुर क्षेत्री, कोहलपुर–९ का चन्द्रराज गिरी, कोहलपुर–१४ का दिपेन्द्र थापा, र डोल्पा मुडकीचुला गाउँपालिका–३ स्थायी घर भई हाल कोहलपुर–१४, बैजनाथ टोल बस्ने दिलिप सिंह ठकुरी रहेका छन्।

प्रवक्ता पातलीका अनुसार यस पटकको तिहारमा जुवातास हुन नदिने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

यसअघि पनि प्रहरीको अभियान जारी रहेको थियो। गत साता मात्रै नेपालगन्जबाट करिब १४ लाख रुपैयाँसहित १४ जना, र खजुराबाट ४७ हजार रुपैयाँसहित पाँच जना जुवाडे पक्राउ परेका थिए। साथै, असोज २२ गते नेपालगन्जको मौरी रेस्टुरेन्टमा छापा मार्दा एक जना वरिष्ठ प्रहरी नायब निरीक्षकसहित १४ जना पक्राउ परेका थिए।

प्रहरीले तिहारलगायत चाडपर्वमा जुवातासको लत र आर्थिक क्षतिलाई रोक्न कडा निगरानी र नियन्त्रण अभियान निरन्तर सञ्चालन गर्ने बताएको छ।

 

तिहारअघि बाँकेमा कडा प्रहरी अभियान : कोहलपुरबाट तीन लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ

बर्दियामा मतदाता नामावलीमा नाम दर्ता सुस्त गतिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *