जुम्ला आइडलको विश्वसनीयता माथि प्रश्न, आयोजकप्रति तीव्र शंका

काली बहादुर परियार
जुम्ला ३ असाेज
आरकेभी कला केन्द्र नेपालगंजले गत असोज ६ गते पत्रकार सम्मेलनमार्फत जुम्ला आइडल प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो । प्रतियोगिता विभिन्न चरण पार गर्दै यही असोज २९ गते एक भव्य समारोहबीच फाइनल सम्पन्न गर्ने तयारी गरिएको आयोजकले जनाएको थियाे ।
नृत्य र गायनतर्फ तीन–तीन जना गरी कुल ६ जनालाई क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित गर्दै विजेताहरूलाई रु. २,२२,२२२ बराबरको नगद पुरस्कार वितरण गर्ने घोषणा समेत गरिएको थियो ।
तर, यही संस्थाले अघिल्लो वर्ष आयोजना गरेको छिन्चु आइडलका विजेताहरूले अझैसम्म पाउनुपर्ने पुरस्कार रकम नपाएको तथ्य सार्वजनिक भए पछि आयोजकको विश्वसनीयता माथि गम्भीर प्रश्न उठेको छ।
हाम्रा सहकर्मी लाेकेन्द्र राज गिरिले छिन्चु आइडलका विजेतासँग गरिएको कुराकानीमा उनीहरूले आयोजकले पटक–पटक आश्वासन मात्र दिइरहेको तर रकम नदिएको गुनासो गरेका छन् ।
गायनतर्फ प्रथम भएकी टिका घिमिरे भन्छिन्, निर्देशक राजन वैश्य र आयोजकलाई पटक–पटक सम्पर्क गर्दा कहिले स्पोन्सरबाट पैसा उठाउन बाँकी छ भन्ने, कहिले अहिले दिने अवस्था छैन भनेर टार्ने गरिन्छ। कहिले त दैलेख वा जुम्ला आइडल सकिएपछि दिने भनेर मात्र आश्वासन दिइन्छ।
त्यस्तै, दोस्रो स्थान हासिल गरेका हस्त निरौला ले पनि एक वर्ष बितिसक्दा समेत नगद पुरस्कार नपाएको गुनासो गरे । विजेता घोषणा भएको वर्ष दिन भइसक्यो, तर नगद पुरस्कार पाएका छैनौं । आयोजकले पछि दिन्छौं’ भनेर मात्र ढाँटिरहेको उनकाे गुनासाे रहेकाे छ ।
यस्तै तेस्रो स्थान प्राप्त चन्द्र बहादुर खत्रीले भने आयोजकले प्रमाणपत्र, मेडल र ट्रफी त दिएको तर नगद रकम भने अझै नदिएको बताए । हामीले नगद पुरस्कारको अपेक्षा राखेका थियौं, तर अहिले सम्म पाएका छैनौं,” उनले दुःखेसो पोखे ।
यता आयोजक राजन वैश्यले भने विजेताहरूले पाउनुपर्ने रकम अझै बाँकी रहेको स्वीकार गर्दै निकट भविष्यमा वितरण गर्ने आश्वासन दिएका छन् । गायनतर्फका तीन विजेतालाई रकम दिन बाँकी छ। केहि आन्तरिक र व्यावहारिक कारणले ढिलाइ भएको हो । म विजेतासँग सम्पर्कमा छु र तिहारपछि नै रकम दिने योजना छ,” उनले भने ।
यता हिजाे मात्रै जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी, स्थानीय पत्रकार, आइडल व्यवस्थापक र निर्णायक बीचको बैठकले जुम्ला आइडलको भोटिङका नाममा पैसा उठाउने कार्य तुरुन्त रोक्न निर्देशन दिएको छ ।
प्रशासनले नागरिकलाई भोटिङको नाममा कुनै पनि रकम नदिन आग्रह गरेको छ र आयोजकलाई सबै आधिकारिक कागजात प्रशासनमा पेश गर्न पनि आदेश दिएको छ।
यस घटनाले जुम्ला आइडलको विश्वसनीयता र आयोजकको पारदर्शिता माथि गम्भीर शंका उत्पन्न भएको छ। स्थानीयहरूले प्रशासनको निगरानी र विजेताहरूको हक अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।






