जुम्लामा सम्पन्न विद्यालयस्तरीय यू-१४ फुटबलमा: बने च्याम्पियन चन्दननाथ र सरस्वती मावि

गाेल्डेन बुढा
जुम्ला,४ असोज ।
जुम्लामा सम्पन्न विद्यालयस्तरीय यु-१४ फुटबल प्रतियोगितामा छात्रतर्फ चन्दननाथ माध्यमिक विद्यालय, खलंगा र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय, रीनीले उपाधि हात पारेका छन्।जिल्ला फुटबल संघ, जुम्लाको आयोजनामा भएको प्रतियोगितामा कुल २६ टिम (छात्रातर्फ १६ र छात्रातर्फ १०) ले सहभागिता जनाएका थिए। प्रतिस्पर्धात्मक खेलमार्फत चन्दननाथ माविले छात्रतर्फको फाइनलमा जेआर कर्णाली बोर्डिङ स्कूललाई सशक्त प्रदर्शनका साथ ३–० ले पराजित गर्दै उपाधि उचालेको हो।यस्तै, छात्रातर्फ सरस्वती माविले समेत जेआर कर्णाली बोर्डिङविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियनको उपाधि कब्जा गर्यो। दुवै टिमको जितले स्थानिय खेल प्रतिभा र तयारीको स्पष्ट संकेत गरेको छ।

सरस्वती मावि जुम्लाको दुर्गम मानिने पातारासी गाउँपालिका-७ मा पर्छ।भने चन्दननाथ मावि सदरमुकाममा खलंगा बजारको मुटु भनेर चिनिन्छ।पुरस्कार वितरण समारोहमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले विजयी तथा उपविजयी टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरूले बालबालिकामा खेलकुद, विशेषतः फुटबलप्रतिको उत्साह र आकर्षण उत्साहजनक भएको बताए। “स्थानीय स्तरमै यस्तो सहभागिता देखिनु सकारात्मक हो, तर अब संरचना निर्माण र दीर्घकालीन लगानीको खाँचो छ,” प्रमुख जिल्ला अधिकारी शर्माले भने।यता फुटबल संघ जुम्लाका अध्यक्ष भरतबहादुर बुढाथापाले प्रतियोगिता पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जानकारी दिए। उनले भने, “विद्यालयस्तरमै फुटबलको उपस्थिति देखिनु ठूलो उपलब्धि हो। अब हामी विद्यालयबाटै रेफ्री उत्पादन गर्ने र गाउँ–बस्तीबाट भविष्यका खेलाडी तयार पार्ने लक्ष्यमा छौं।”उनका अनुसार खेलकुदको आधारभूत पूर्वाधार, प्रशिक्षक तालिम, खेल सामग्री तथा स्थानीय तहको सहकार्यमार्फत अब जुम्लामा फुटबलको नयाँ युग सुरु हुने संकेत देखिएको छ।

स्थानिय विद्यालयस्तरमै देखिएको खेल चेतना र प्रतियोगिता सञ्चालनको व्यवस्थित प्रयासले जुम्लालाई प्रदेशस्तरमै खेलकुदको केन्द्र बनाउन सक्ने सम्भावना देखिएको छ। आवश्यक सहयोग, लगानी र दीर्घदृष्टिको अभावमा भने यस्तो प्रयास अलपत्र पर्ने जोखिमलाई पनि बेवास्ता गर्न मिल्दैन। समन्वय प्रमुख आचार्यले बालबालिकामा फुटबलप्रतिको बढ्दो रुचि प्रशंसनीय भए पनि त्यसको दीर्घकालीन विकासका लागि सबै पक्षले गम्भीरता देखाउनुपर्नेमा जोड दिए।स्थानीय स्तरमै यस्ता प्रतियोगिताले खेलकुदको विकास र प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेकाे छ।यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने छात्र र छात्रालाई पनि सम्मान गरिएको थियोे।खेल प्रतियोगिता नेपाली सेनाको खेलमैदान टुडिखेलमा भएको थियोे।






