जुम्लाको छुमचौर ज्युलोमा जुम्लि मार्सि धान रोपेर २२औँ धान दिवस मनाइयो( तस्बिर सहित)

गोल्डेन बुढा
जुम्ला,६ जेष्ठ ।
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर ज्युलोमा २८५० मिटर समुन्द्री सतहको उचाइमा रहेको खेतमा २२औँ धान दिवस मनाउँदै ऐतिहासिक धान रोपाइँ सुरु गरिएको छ। कालीमार्सी धान प्रवर्द्धन तथा संरक्षण केन्द्रको आयोजनामा र कृषि विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा धान महोत्सवको आयोजना गरी रोपाइँ गरिएको हो।

“जुम्ली मार्सी धान रोपौँ, विश्वको उचाइमा खेती गरिने धान खेतीलाई संरक्षण गरौँ” भन्ने नारासहित आयोजना गरिएको रोपाइँ कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख राम अधिकारीले छुमचौरमा रोपाइँ सुरु भएसँगै जिल्लाभर विविध ढंगले धान रोपाइँ सुरु भएको बताए। उनले परम्परा, संस्कार र संस्कृतिसँग जोडिएको जुम्ली मार्सी धानको संरक्षणका लागि कृषकमा उत्साह जगाउन यस्तो कार्यक्रम गरिएको जानकारी दिए।

तर अधिकारीले उत्पादन घट्दै जानु, रोग कीराको समस्या, सिँचाइ अभाव र अधिक मेहनतको आवश्यकता जस्ता कारणले कृषक वैकल्पिक खेतीतर्फ मोडिएको बताए। “बर्सेनि खेत बाँझिँदै जानु चिन्ताको विषय हो,” उनले भने, “सिँचाइ सुविधा पुगे थप ३४ हेक्टरमा धान रोप्न सकिन्छ।”

हाल कतिपय किसानले खेतमा जौ, मकै, गहुँ, आलु रोप्दै आएका छन् भने महिलाले मात्र खेतीपाती सम्हाल्नुपर्ने अवस्था र यार्सा गुम्बा संकलनले पनि मार्सी खेतीप्रतिको आकर्षण घटाएको छ।

स्थानीय ललिता बोहोराले छुमचौरमा उत्पादन हुने मार्सी धानको पहिचान महत्वपूणर् भए पनि मरुवा रोगका कारण उत्पादन घटिरहेको गुनासो गरिन्। अर्की स्थानीय पुनी महताराले छुमचौरलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।

छुमचौर ज्युलाेमा वि.सं. २०२१ सालदेखि धान रोपाइँ सुरु गरिएको भए पनि उत्पादन न्यून हुने कारण केही समय रोपाइँ स्थगित गरिएको थियो। हाल संसारको अग्लो स्थानमा फल्ने धानको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखिएको छुमचौरमा पुनः रोपाइँ संस्कृति फर्काउन प्रयास भइरहेको वडा अध्यक्ष गोविन्द बुढाले बताए।

“संसारको अग्लो ठाउँमा फल्ने धान खेती हेर्न पर्यटक आउन् र चामल पनि यहीबाट बिकोस् भन्ने हाम्रो चाहना हो,” अध्यक्ष बुढाले भने।

सहायक प्रमुख जिल्ला अधिकारी मीन बहादुर रावलले जुम्ली मार्सी धानको संरक्षण सम्पूर्णको दायित्व भएको उल्लेख गर्दै गुणस्तरीय उत्पादनले गरीबी निवारणमा योगदान पुर्‍याउने धारणा राखे।

कृषि विकास कार्यालय जुम्लाका अनुसार हाल जिल्लामा २ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ। २२औँ धान दिवसका अवसरमा भूमि आयोगका विज्ञ सदस्य सुमन आचार्य, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

जुम्लाको छुमचौर ज्युलोमा जुम्लि मार्सि धान रोपेर २२औँ धान दिवस मनाइयो( तस्बिर सहित)

बाँकेमा यौन उत्तेजक अवैध औषधीसहित एक भारतीय

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds