कैलाश–मानसरोवर तीर्थयात्राले उकासिएको हुम्लाको अर्थतन्त्र

हुम्ला, २ कार्तिक ।

हुम्ला सदरमुकाम सिमकोट र नेपाल–चीन सीमास्थित हिल्साका होटलहरू जेठको पहिलो सातादेखि दैनिकजसो भरिभराउ भए । कैलाश–मानसरोवर तीर्थयात्राका लागि भारतीय पर्यटकले हिल्सा नाका प्रयोग गर्न थालेपछि सिमकोटमा झन्डै एक दर्जन र हिल्सामा आठ वटा पर्यटकीय होटल खुलेका छन् ।

‘दैनिक ४० देखि ८० जनासम्म पर्यटकलाई होटलमा व्यवस्थापन गरियो,’ सिमकोटस्थित होटल विजयका सञ्चालक विजय लामाले भने, ‘होटलहरूको क्षमताअनुसार नै पर्यटन व्यवसायीले तीर्थयात्री पठाएकाले यसपालि तीर्थयात्रीलाई टेन्टमा बसाउनुपरेन ।’

उनका अनुसार कोरोना महामारीअघिसम्म होटलमा पर्याप्त कोठा नहुँदा तीर्थयात्रीलाई टेन्टमा बसाल्नुपर्ने बाध्यता थियो । कैलाश–मानसरोवर जाने भारतीय तीर्थयात्रीका कारण होटल व्यवसायी मात्र होइन, भरिया, पर्यटक पथ प्रदर्शकदेखि जहाज र हेलिकोप्टरका कर्मचारीसमेत व्यस्त बने । भारतीय पर्यटकका कारण नेपालगञ्जबाट सिमकोट विमानस्थलमा एकै दिन ८३ वटासम्म जहाजका उडान भए भने सिमकोटदेखि हिल्सासम्म पर्यटक ओसार्न पाँचवटा हेलिकोप्टर विमानस्थलमा तयारी अवस्थामा थिए । जहाज कम्पनीहरूले भारतीय तीर्थयात्रीको चापका कारण झन्डै २५ जनालाई सामान लोड–अनलोड गर्ने रोजगारी दिएका थिए ।

हिमपातको मौसम सुरु भएकाले यो वर्ष कैलाश–मानसरोवरको सिजन करिब सकिएको छ । यस वर्ष ६ हजार ४ सय ७ जना विदेशी पर्यटक हुम्ला भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । जसमध्ये ५ हजार ९ सय ५७ जना भारतीय र ४ सय ५० जना अन्य देशका पर्यटक भित्रिएको कार्यालयले जनाएको छ ।

कोरोना महामारीपछि यो वर्षबाट तीर्थयात्रा खुलेकाले भारतीय तीर्थयात्रीको चाप धेरै भएको होटल व्यवसायी मिम लामाले बताए । ‘ठूला लगानीका होटलमा भारतीय तीर्थयात्री भरिभराउ भए, अरू यात्रुलाई राख्नै सकिएन,’ उनले भने, ‘अरू होटलहरू पनि एयरलाइन्सका कर्मचारी, पर्यटन व्यवसायी, पर्यटकका सहयोगीलगायतले भरिभराउ भए ।’

उनका अनुसार पर्यटकका लागि एक दिनका लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज तोकिएको थियो, जसमा साँझ–बिहानको खानासहित बस्ने व्यवस्था गरिएको थियो । ‘तीर्थयात्री हुम्ला आउँदा एक दिन र फर्कँदा एक दिन गरी दुई दिन सिमकोटका र जाँदा एक दिन हिल्साका होटलहरूमा बस्थे,’ उनले भने, ‘बाँकी तीन दिन भने चीनमा उनीहरूको बसोबास हुन्थ्यो ।’

होटलहरूले एक जना पर्यटक बराबर झन्डै १० हजार ५ सय रुपैयाँको कारोबार गरेको उनको भनाइ छ । उनको अनुमानअनुसार सिमकोट र हिल्साका होटलहरूमा मात्रै न्यूनतम ७ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ । उनले एउटा होटलले १० लाखदेखि ५० लाख रुपैयाँसम्म आम्दानी गरेको बताए ।

यस वर्ष स्थानीय तरकारीकै प्रयोग भएकाले किसानलाई समेत फाइदा पुगेको हुम्ला रिसोर्टका सञ्चालक दीपक रावतले बताए । ‘कोरोना महामारीसम्म नेपालगन्जबाट जहाजमा आएको भारतीय तरकारीकै भर थियो, यो वर्ष त सबै तरकारी स्थानीय नै खपत भयो,’ उनले भने, ‘पर्यटकहरूले फर्कँदा हुम्ली स्याउ, ओखर, सिमी, फापर, चिनो, कागुनो, मार्सी चामललगायत उपज पनि कोसेलीका रूपमा लैजाने गरेका थिए ।’

उनका अनुसार कोसेलीको रूपमा लैजाने स्याउ प्रतिकिलो ७० रुपैयाँ र ओखर प्रतिदाना १० रुपैयाँले खरिद–बिक्री हुने गरेको छ । अन्य कृषि उत्पादन पनि प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँमा किसानले बिक्री गरेका थिए । अहिले हुम्लामा स्थानीय तरकारी १ सयदेखि २ सय ५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ ।

चीनले गत वैशाख १८ गते मानसरोवर तीर्थयात्रा खुला गरेको थियो। मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो पर्ने भएकाले नेपालगन्ज हुँदै जाने भारतीय तीर्थयात्रीको आकर्षण बढेको पर्यटन व्यवसायी छिरिङ लामाले बताए । उनका अनुसार यो तीर्थयात्राले स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गरेको छ ।

उनका अनुसार भरियाको रूपमा पनि सिमकोट विमानस्थलबाट होटलसम्म भारी बोक्नेहरूले दैनिक ३ हजार रुपैयाँसम्म कमाइ गरेका छन् । ‘सामान्य झोला बोकेकै १ सय रुपैयाँसम्म भरियाले लिन्थे,’ उनले भने, ‘१० जना पर्यटकको भारी बोक्दा पनि एउटैले कम्तीमा ३ हजार कमाइ गरे ।’

उनका अनुसार सिमकोट विमानस्थलमा झन्डै १ सय ५० जनाले भरियाको काम गरे भने होटल, ट्राभल एजेन्सी, एयरलाइन्सले ज्यालादारीमा राखेका कामदारको संख्या पनि २ सयभन्दा माथि नै थियो । सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क समेत संकलन गरेका थिए । भारतीय तीर्थयात्रीबाट सरसफाइ शुल्क स्वरूप प्रतिव्यक्ति १ हजार १ सय रुपैयाँ राजस्व संकलन गरिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । उनका अनुसार अन्य देशका पर्यटकबाट १ हजार ५ सय रुपैयाँ शुल्क संकलन गरिएको थियो ।

भारतीय पर्यटकबाट ६५ लाख ५२ हजार र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार गरी ७२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ । मानसरोवर तीर्थयात्रा कोरोना महामारीपछि पहिलो पटक खुलेकाले यस वर्ष व्यवसायीहरूले राम्रै व्यवस्थापनमा तीर्थयात्रीलाई मानसरोवर दर्शन गराएको गाउँपालिका अध्यक्ष भण्डारी बताउँछन् ।

‘अर्को वर्षदेखि होटलहरूले थप स्तरीय सेवा दिनुपर्ने देखियो, होटलका कोठा थप्ने र अन्य पूर्वाधारको व्यवस्थापनमा अहिल्यैदेखि तयारी गर्नुपर्छ,’ उनले भने, ‘सिमकोटदेखि हिल्सासम्मको सडक स्तरोन्नति गर्न सके पर्यटकलाई हुम्ली जनजीवन अवलोकन गराउँदै चीन सीमासम्म पुर्‍याउन सकिन्थ्यो र आर्थिक कारोबार अझ बढ्थ्यो ।’ उनले सिमकोट नजिकैका पर्यटकीय स्थलहरूमा आगामी दिनमा तीर्थयात्रामा आउने पर्यटकलाई घुमाउने गरी पूर्वाधार विकासका काम थालिएको जानकारी दिए ।

कैलाश–मानसरोवर तीर्थयात्राले उकासिएको हुम्लाको अर्थतन्त्र

तल्नु–दुनै खण्ड १ अर्ब ७३ करोड लागतमा

कैलाश–मानसरोवर तीर्थयात्राले उकासिएको हुम्लाको अर्थतन्त्र

जुम्लाको तिला ६ मा आयतित प्लास्टिकका माला

Leave a comment

Your email address will not be published. Required fields are marked *