लुम्बिनीबाट कर्णालीमा सर्यो जल तथा मौसम विज्ञान कार्यालय

ओम शाही
सुर्खेत, २ कार्तिक ।
कर्णाली प्रदेशबाट लुम्बिनी प्रदेशको कोहलपुर सारिएको हावापानी विश्लेषण गर्ने कार्यालय पुनः कर्णालीमै स्थानान्तरण गरिएको छ । २०७६ मा सुर्खेतबाट कोहलपुर सारिएको जल तथा मौसम विज्ञान कार्यालय पुनः सुर्खेतमै सारिएको हो । उर्जा, जलस्रोत तथा सिंचाई विकास मन्त्रालय मातहत रहेको कार्यालयलाई स्थानान्तरण भएको ६ वर्षपछि सुर्खेत सारिएको हो । बहुपर्कोपिय विपद्जन्य जोखिमबाट वर्षेनी ठुलो मात्रामा धनजन र मानवीय क्षति व्यहोर्दै आएको कर्णालीले हावापानी विश्लेषण गर्ने कार्यालय पुनः स्थापना भएसँगै विपद्पूर्वको तयारी र विपद्पछिको प्रतिकार्यमा जुट्न सघाउ पुग्ने विश्वास छ । कार्यालय स्थापना भएसँगै अब कर्णालीको मौसमी जानकारी सुर्खेतबाटै प्रवाह हुने जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कँडेलले बताइन् । ‘मौसम सम्बन्धीको जानकारी र सूचनाको विश्लेषणले नै विपदबाट हुन सक्ने मानवीय र धनजनको क्षती रोक्न सहयोग पुग्छ । तसर्थ प्रदेश र स्थानीय सरकारले मौसम कार्यालयबाट अधिकतम जानकारीहरु लिएर विपदबाट नागरिककहरुको जिउधन जोगाउन प्रभावकारी समन्वय कार्यालयमार्फत हुनेछ,’ कार्यालय प्रमुख कँडेलले भनिन् ।
कमजोर भू–बनोट, छरिएर रहेका बस्ती, वातावरणीय प्रभाव अध्ययन बिनै हुने विकास तथा मौसमी फेरबदलका कारण कर्णाली वर्षेनी मौसमजन्य विपद्बाट आक्रान्त हुने गरेको छ । यसको मुख्य कारण जल र वायुको समयमै विश्लेषण गरी सूचना दिने प्रणाली कर्णालीमा नहुनु रहेको बताइन्छ । जल तथा मौसम विज्ञान कार्यालय कर्णालीबाट लुम्बिनी सारिदा विपद्को मौसमी तथ्यांक लिन प्रदेश र स्थानीय सरकारलाई कठिनाई थियो । मौसम कार्यालयलाई सुर्खेतमै सार्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पहल गर्दै आएको थियो । विपद्का कारण हुनसक्ने क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउँदै आएको मन्त्रालयले मौसम कार्यालय सुर्खेतमै हुँदा थप समन्वयबाट काम गर्न सहयोग पुग्ने मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले बताए ।
तत्कालिन अवस्थामा वीरेन्द्रनगरमा स्थापना भएको कार्यालयबाट साविकका मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मौसमसम्बन्धी तथ्यांक संकलन तथा सूचना सम्प्रेषण हुने गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले यसअघि जल तथा मौसम विज्ञान विभागलाई चार क्षेत्रमा रहने गरी स्वीकृती दिएको थियो । सोही बमोजिम प्रदेश नं. १ र २ हेर्ने गरि धरान, प्रदेश न ४ हेर्ने गरि पोखरा, प्रदेश ५ हेर्ने गरि भैरहवा, प्रदेश न ६ र ७ हेर्ने गरि कोहलपुर कार्यालय स्थापना भएको थियो । उति बेला कार्यालय कोहलपुर स्थानान्तरण भएपछि कर्णालीमा यसको विरोध भएको थियो । मौसम सम्वन्धी जानकारी दिने राडारसमेत सुर्खेतमा निर्माण भइरहेका बेला कार्यालय सार्नुलाई उपेक्षा गरिएको रुपमा कर्णालीका नागरिकले बुझेका थिए । केही समयअघि कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठकले मौसमको कार्यालय सुर्खेत सार्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले कोहलपुरमा रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतमा स्थानान्तरण गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो ।
प्रयोगविहिन छ मौसमी राडार
कर्णाली र सुदूरपश्चिममा मौसमजन्य घटनाहरूको बाह्रै महिना पूर्वानुमानको विश्लेषण गरी पूर्वसूचना प्रवाह गर्न स्थापना गरिएको अत्याधुनिक प्रविधियूक्त ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार) तीन वर्षदेखि प्रयोगविहीन छ । विशेष गरी पश्चिमी क्षेत्र लुम्बिनीका तीन जिल्ला बाँके, बर्दिया, दाङ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी गतिविधिको निगरानी गर्न १७ मंसिर २०७६ मा सुर्खेत र दैलेखको सीमावर्ती क्षेत्र वीरेन्द्रनगर नगरपालिका–१४ स्थित रातानाङ्लामा राडार जडान गरी सञ्चालनमा ल्याइएको थियो । उक्त राडारले वर्षा हुनुभन्दा तीन/चार घण्टा अघि र पछि मौसममा आउन सक्ने फेरबदल अर्थात कति वर्षा हुँदैछ, हावा कुन गतिमा कहाँबाट बहदै छ, तापक्रम घटबढको अवस्था र आँधीहुरी तथा बाढीपहिरोको पूर्वानुमान गर्ने बताइएको थियो । त्यसले पश्चिम नेपालमा प्रकोपबाट हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरणमा सघाउ पुर्याउने भनिएको थियो ।
यही विश्वासका साथ २०७६ मंसिरमा संघीय सरकारका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ विकासमन्त्री वर्षमान पुनले उद्दघाटन गरेका थिए । उक्त राडारले हवाई उडान गर्ने ठाउँ र ल्याण्ड गर्ने ठाउँबीचको आकाशको मौसमको निगरानी गर्ने भएकाले यस क्षेत्रको हवाई उडान पनि सुरक्षित हुने जनाइएको थियो । तर, तीन वर्षअघि राडारमा परेको चट्याङले उपकरणमा क्षति पुगेपछि अहिले राडार कामविहीन बनेको छ । विश्व बैंकको १८ करोड लागतमा तयार भएको राडारमा चट्याङ परेर केही उपकरण तथा इन्भटर र जेनेरेटरमा क्षति पुगेको छ । सरकारले बिग्रिएको राडार मर्मतमा ध्यान पुर्याउन नसक्दा यहाँका नागरिकलाई अन्दाजका भरमा मौसमको पूर्वानुमान गर्नुपर्ने बाध्यता छ । सुर्खेतमा स्थापना भएको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन् । जसमा पाल्पा र उदयपुरमा जडान भएका राडारले पूर्वी नेपालको मौसमी गतिविधिको निगरानी गर्ने गर्दछन् । चट्याङ्गका कारण बिग्रिएको राडार यसै वर्षभित्र मर्मत गर्ने तयारी रहेको कार्र्यालय प्रमुख कँडेलले बताइन । राडारमा प्रयोग भएको प्रविधि स्वदेशी जनशक्तिबाट मर्मतको सम्भावना नभएपछि परामर्शदातामार्फत मर्मतको कार्य अघि बढाउने तयारी रहेको उनले बताइन ।






