अपराधको जालोमा किन फस्दैछन् युवा ?

सुर्खेत, ३ साउन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको संचार शाखाको १०० नम्बरमा बिहिबार अपरिचित व्यक्तिको फोन आयो । उक्त नम्बरमा फोन गर्ने व्यक्तिले प्रहरीलाई संकास्पद गतिविधि भइरहेको सूचना दिएका थिए । उनले वीरेन्द्रनगर नगरपालिका–८, कृष्णमन्दिर नजिक ठुलो मात्रामा लागुऔषध तथा हातहतियार रहेको हुनसक्ने सूचना प्रहरीलाई दिएका थिए ।
उक्त सूचनाको आधारमा बिहिबार राति ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक (असई)को कमाण्डमा अनुसन्धान टोली खटियो । पछिल्लो समय अबैध लागुऔषध र यौन व्यवसायलाई निसाना बनाएको सुर्खेत प्रहरीले सूचना प्राप्त भए लगत्तै संकास्पद स्थानमा खटिएर छापा हानेको थियो । केही दिनअघि लागुऔषध र नक्कली नोट कारोवारीको ठुलो गिरोहलाई आफ्नो ट्रयापमा पार्न सफल सुर्खेत प्रहरीले यस पटक भने भिन्न र नयाँ खालको घटना फेला पारेको छ ।
अपरिचित व्यक्तिको सूचनालाई पछ्याउँदै संकास्पद भनिएको स्थानमा पुगेको सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–८, बस्ने अन्दाजी २३ वर्षीय बिधान शाही र २२ बर्षिय आदित्य घिमिरेलाई सङ्काको घेरामा राखेर अनुसन्धान थाल्यो । आगुऔषध रहेको सूचनामा सोधपुछ थालेको प्रहरीले उनीहरु बस्ने कोठा खानतलासी गर्दा अनौठो रहस्य पत्ता लगायो ।
अघिपछि लागुऔषध र केही रकम मात्रै फेला पार्ने प्रहरीले यस पटक भने २५ वर्ष मुनिका यी दुई युवाको साथबाट अत्याधुनिक हतियारसमेत बरामद गरेको छ । यस घटनाले कम उमेर समूहका युवाहरु जघन्य अपराधको जालोमा फस्दै जान थालेको डर लाग्दो दृश्य देखाउँछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार बिधान र आदित्यको साथबाट एक थान सेमी स्वचालित चाइनिज पेस्तोल र सो पेस्तोलमा लाग्ने दुई थान म्यागजिनसहित १२ राउण्ड गोली बरामद गरिएको छ ।

उनीहरुको साथबाट विभिन्न आकारका चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो, एक थान नाईनस्टिक, एक थान कैची लगायतका विभिन्न हातहतियार तथा खरखजाना बरामद गरिएको उनले बताए । उनका अनुसार उनीहरुको शरीर तथा कोठामा खानतलासी गर्दा औषधीजन्य लागूऔषध ट्रामाडोल जस्तो देखिने ९० पत्ता (जम्मा ८९९ ट्याबलेट) लागूऔषध स्पास्मो लेखिएको ट्रामाडोल जस्तो देखिने १६ पत्ता (जम्मा १२८ ट्याब्लेट), नाइट्राज्पाम जस्तो देखिने ४० पत्ता (जम्मा ३९९ ट्याब्लेट) लागूऔषध गरी जम्मा एक सय ४६ पत्तामा एक हजार चार सय २६ ट्याबलेट बरामद गरिएको छ ।
यति मात्रै होइन उनीहरुको साथबाट एक थान प्रतिबन्धित वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार (सिङ्ग)समेत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले पक्राउ परेका विधान शाही यसअघि पनि अपराधिक कार्यमा संलग्न हुँदै आएको बताए । २७ भदौ २०७८ मा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई बिधान नाम गरेको व्यक्ति प्रहरीको फरार सूचिमा रहेको शाहीले बताए ।
लागुऔषध कारोवारका क्रममा उनीहरुले व्यक्तिगत सुरक्षाका लागि पस्तोलसहितका हातहतियार प्रयोग गर्ने गरेको प्रहरी उपरीक्षक शाहीले बताए । उनीहरुविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार कसुरमा मुद्दा चलाइएको प्रहरी प्रमुख शाहीले बताए । प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय प्रदेश राजधानी सुर्खेतमा लागुऔषध सेवन तथा कारोवारीको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ । यसको दलदलमा १८ देखि ४५ वर्षसम्मको संक्रिय जनसंख्या फस्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ ।
२२/२३ वर्ष उमेर समूहका युवाहरु अत्याधुनिक हातहतियारसहित लागुऔषध कारोवारीमा संलग्न हुनुले समाजमा नकरात्मक प्रभाव पर्दै जान थालेका बताउँछन् लागुऔषध न्यूनिकरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कुमार बढकाल । देखासिकी, अरुको नक्कल, पारिवारिक विचलन, बेरोजगारी लगायतका विविध कारण युवायुवतीहरु लागुऔषध दुव्र्यसनीमा फस्दै गएको उनले बताए । यति मात्रै होइन यो क्रम बालबालिकामा समत सर्न थालेको उनको भनाई छ ।
समाजलाई लागुऔषधमुक्त बनाउन प्रहरीबाट मात्रै सम्भव नरहेको उनी बताउँछन् । समाजलाई लागुऔषधमुक्त बनाउन स्थानीय सरकारहरूले अपनत्व नलिएसम्म यसको न्यूनिकरण कदापी हुन नसक्ने उनको तर्क छ । यसका लागि स्थानिय तहका जनप्रतिनिधि कर्मचारी, शिक्षक र स्कुल क्याम्पस व्यवस्थापक, आमा समूह र नागरिक समाजलाई सचेत बनाउँनु पर्ने उनी बताउँछन् ।
निर्वाचित मेयर, उपमेयरदेखि सबै वडाका अध्यक्ष तथा सदस्य, नगर तथा गाउँपालिकाभित्रका अन्य राजनीतिक दलका प्रतिनिधिहरूसमेतलाई लागुऔषधका बारेमा मसिनो गरी सिकाउन सके यसको रोकथामको पहिलो प्रयास थालनी हुने उनले बताए । प्रथम चरणको सचेतना कार्यक्रम पूरा भइसकेपछि दोस्रो चरणमा पालिकाका प्रशासकीय अधिकृत, स्वास्थ्य, शिक्षा र सामाजिक सेवासँग सम्बन्धित कर्मचारी, प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बैंकका कर्मचारीलाई लागुऔषधसम्बन्धी तालिम प्रदान गुर्नपर्ने ढकाल बताउँछन् । जनप्रतिनिधि र कर्मचारी ड्रग्समुक्त पालिका बनाउन तयार भएपछि घर–घर, टोल–टोल र सबै शैक्षिक संस्थाहरूमा तेस्रो चरणको अभियान थाल्नुपर्ने ढकालले बताए ।
‘अधिकांश युवाहरू स्कुल कलेजमै भेला हुने हुँदा ड्रग्सका डिलरहरूले यही स्थानलाई लक्षित गरी आफ्नो कारोबार सञ्चालन गर्ने प्रयास गर्छन्,’ उनी भन्छन्, ‘अतः हरेक स्कुल व्यवस्थापन र शिक्षकहरूले आ–आफ्ना स्कुललाई कसरी लागुऔषधमुक्त गर्न सकिन्छ ? भनेर बुझाउन सकिए यसको न्यूनीकरण गर्न सकिन्छ ।’
लागुऔषधमुक्त समाज निर्माणमा आमाहरूको भूमिका महत्त्वपूर्ण हुने उनी बताउँछन् । ‘प्रत्येक आमाहरूले ड्रग्सबाट आफ्ना छोरा–छोरी र परिवारलाई जोगाउन ड्रग्स के हो ? सेवन गरेको कुरा कसरी थाहा पाउने ? थाहा पाएपछि के गर्ने के नगर्ने ? पुनस्र्थापना केन्द्र भनेको के हो ? आदि कुराहरूका सम्बन्धमा गहिरो ज्ञान राख्नुपर्ने हुन्छ र यो ज्ञान हरेक घर घरमा पु¥याउन आवश्यक छ,’ उनले भने । उनका अनुसार सुधार केन्द्र वा कारागार बसेर आएका व्यक्तिहरु समाजमा सहज पुनसर््थापना हुन नसक्दा पुनः लागुऔषध दुव्र्यसनीमा फर्कन बाध्यन हुने गरेका छन् ।






