कोहलपुरमा अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माण सम्पन्न, सफल परीक्षणपछि हस्तान्तरणको तयारी

बाँके ,५ जेष्ठ
बाँकेको कोहलपुर नगरपालिकामा अत्याधुनिक सुविधासहितको शवदाह गृह निर्माण सम्पन्न भएको छ। शिलान्यास भएको सात महिना १६ दिनमै निर्माण कार्य पूरा भई हालै सफल परीक्षणसमेत गरिएको हो। कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदी, नगर प्रमुख पूर्णप्रसाद आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी र समाजसेवीहरूको उपस्थितिमा परीक्षण सम्पन्न गरिएको हो।

उपप्रमुख सुवेदीले शवदाह गृहको परीक्षण सफल भएको जानकारी दिँदै, यसले नगरवासीहरूका लागि धेरै सहजता ल्याउने बताउनुभयो। “यो समग्र कोहलपुरवासीका लागि खुसीको क्षण हो,” उहाँले भन्नुभयो, “स्थानीयलाई शवदाह गर्न सहयोग पुगोस् र मलामीहरूलाई सहज होस् भन्ने उद्देश्यले यो निर्माण गरिएको हो।”
उहाँले बैंक तथा वित्तीय संस्था, दाता र निर्माण उपभोक्ता समितिको उल्लेखनीय योगदान रहेको बताउँदै सबैलाई धन्यवाद दिनुभयो। “यिनै सहयोग र अथक प्रयासका कारण कोहलपुर नगरपालिकामा एउटा गौरवपूर्ण कार्य सम्पन्न भएको हो,” उपप्रमुख सुवेदीको भनाइ थियो।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले शवदाह गृह कोहलपुरवासीको दीर्घकालीन सपना रहेको बताउँदै निर्धारित समयमै निर्माण कार्य सम्पन्न भएकामा सन्तोष व्यक्त गर्नुभयो। “अब कोहलपुर नगर मात्र होइन, राप्ती सोनारी, बैजनाथ, जानकी र नेपालगञ्जका नागरिकलाई समेत यो सेवा उपलब्ध हुने विश्वास लिएको छु,”उहाँले बताउनुभयो।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा शवदाह गृह निर्माणलाई प्राथमिकतामा राख्दै प्रारम्भिक रूपमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो। नगर प्रमुखको अध्यक्षतामा गठन भएको स्थल पहिचान समितिले सात स्थानको अध्ययनपछि कोहलपुर–११ स्थित डुडुवा–रोहिणी खोलाको क्षेत्रलाई उपयुक्त स्थानका रूपमा सिफारिस गरेको थियो।

कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चक्र अधिकारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक संकलन तथा निर्माण उपभोक्ता समिति गठन गरिएको थियो। असोज १९ गते नगर प्रमुख आचार्यले धार्मिक विधिअनुसार शिलान्यास गरेपछि तीव्र गतिमा निर्माण कार्य अगाडि बढाइएको थियो।
संयोजक अधिकारीले शवदाह गृहको मेसिन परीक्षण सफल भएको जानकारी दिँदै छिट्टै उपभोक्ता समितिबाट नगरपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो। सचिव तुल्सीप्रसाद आचार्यका अनुसार हालसम्म ८७ लाख रुपैयाँ संकलन भई ६७ लाख रुपैयाँ खर्च भइसकेको छ। एभरेष्ट बैंकले ५० लाख, ग्लोबल आइएमई बैंकले २० लाख रुपैयाँ सहयोग गरेका छन् भने दुगड समूहले प्रतिक्षालय निर्माण गरिदिएको छ।

हाल दुई वटा प्रतिक्षालय, तीनवटा शौचालय, तीन स्नानगृह, सिँढी, धारा जस्ता संरचनाहरू निर्माण भइसकेका छन्। अब शवदाह स्थलसम्मको बाटो पिच गर्ने, महादेवको आकृति र ढुंगेधारा निर्माण कार्य बाँकी रहेको जानकारी सचिव आचार्यले दिनुभयो।
शवदाह गृहमा युरोटेक नेपालका पशुपति आचार्यको समूहले प्रदूषणरहित आधुनिक मेसिन जडान गरेको छ। परम्परागत दाउराबाट सञ्चालन हुने यो मेसिन एक घण्टामा शवदाह गर्न सक्षम छ। साथै, शवदाह गृहबाट ५०० मिटर पर किरियापुत्री भवनसमेत निर्माण गरिएको छ।
सचिव आचार्यले देशभर यस्ता शवदाह गृह निर्माणमा आफूहरू सक्रिय रहेको उल्लेख गर्दै बाँकेका अन्य पालिकालाई पनि व्यवस्थित शवदाह गृह निर्माण गर्न आग्रह गर्नुभयो।






