भेरी नदीको बाढीले पुरेको फाँटमा हरियाली

सुर्खेत, ३मंसिर ।
सुर्खेतको बराहताल गाउँपालिका–२ पाग्मस्थित भेरी नदी किनारको एउटा फाँटमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य प्रायः सक्रिय देखिन्छन् । २०७१ सालमा भेरी नदीमा आएको बाढीले यो फाँटमा बालुवा भरेको थियो । बाढीको केही समयपछि यो क्षेत्र मरुभूमिजस्तो देखिन्थ्यो ।
सामुदायिक वन उपभोक्ता समितिको सक्रियताले अहिले यो फाँट जंगलमा परिणत भईरहेको छ । सात प्रजातिका बिरुवा लगाईएको छ । यी बिरुवा लगाउनेदेखि हुर्काउनेसम्मको जिम्मेवारी कालिका सामुदायिक वनको उपभोक्ता समितिलाई छ । समितिका पदाधिकारी र सदस्यले आफूसँगै समुदायका उपभोक्ताहरुलाई पनि यो काममा सक्रिय राखेका छन् ।
‘खडेरीका बेला बिरुवामा पानी हाल्नेदेखि गोडमेल गर्ने काम समुदायबाटै गर्छौं, यसले बाढीका कारण मरुभूमिजस्तो देखिएको यो क्षेत्र हरियाली बन्दैछ,’ कालीका सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष शक्तिराम भण्डारी भन्छन्, ‘यसले हाम्रो जलवायुजन्य संकटबाट जोगाउन मद्दत गर्ने आशा छ, विगतको बाढीजस्तै आउँदो सम्भावित जोखिमलाई पनि कम गर्नेछ ।’ उनका अनुसार यो क्षेत्रमा अमला, अम्लिसो, हर्रो, बर्रो, रिट्ठा, बेल र लप्सीका बिरुवा लगाईएको छ । यी प्रजाति मूल्यवान भएकाले आउँदा दिनमा सामुदायिक वनको आम्दानीको स्रोत बन्ने उनले बताए ।
‘सुरुमा लगाएका केही बिरुवा मरेपछि जोगाउन सकिँदैन कि भन्ने पनि लागेको थियो, पछि हामी निरन्तर जोगाउन लागेपछि र आकाशे पानीले पनि साथ दिँदा अहिले सोचेअनुसार भएको छ,’ अध्यक्ष तुलाराम खत्रीले भने, ‘यसको दीगोपनाका लागि अझैं सक्रियता चाहिन्छ, हामी निरन्तरता दिनेछौं ।’
समाज जागरण केन्द्र (स्याक) नेपालमार्फत कार्यान्वयनमा रहेको सेभ द चिल्ड्रेनको ‘माइ फरेस्ट चाइल्ड’ परियोजनाले बराहतालका यस्ता विपदजन्य जोखिममा रहेका र प्रभावित क्षेत्रमा वृक्षारोपणको लागि सहजीकरण गरिरहेको छ । परियोजनाको सहयोगमा कालीका सामुदायिक वनकै दुई वटा क्षेत्रमा २ हजार सात सय ३७ बिरुवा रोपिएको छ ।
परियोजना कार्यान्वयनमा आएको दुई बर्षमा यी बिरुवा रोपिएको छ । सामुदायिक वनका उपभोक्ता र उपभोक्ता समितिमार्फत गरिएको यो कामले स्थानीयलाई समेत उत्साहित बनाएको छ । परियोजनाले समितिलाई बिरुवा, मल खरिद गरी दिएको छ । बीचमा गोडमेलका समयमा पनि सहभागी स्थानीयलाई नियमअनुसार ज्याला परियोजनाले नै दिईरहेको छ ।
‘पहिले सुन्तला र आँपले भरिएको यो क्षेत्रलाई बाढीले उजाड बनाईदिएको थियो, परियोजनाको सहयोग र प्रशिक्षणपछि हामीले पुनः यसलाई बगैंचा जस्तै बनाउन थालेका छौं,’ स्थानीय जयबहादुर थापाले भने, ‘परियोजना त सँधै नरहला, संस्थामार्फत गरिएका यी कामलाई हामीले निरन्तरता दिन्छौं ।
‘माइ फरेस्ट चाइल्ड’ परियोजनामार्फत नौ वटा सामुदायिक वनमा गरिएको वृक्षारोपण सफल भएको बराहताल सवडिभिजन कार्यालयका प्रमुख केशव वलीले बताए । परियोजनाले दुई बर्षको अवधिमा सफलता प्राप्त गरेको उनको बुझाई छ ।
यी क्षेत्रमा चुरे पहाड भएकाले बाढी र पहिरोको जोखिम बढी रहेकोले वृक्षारोपण कार्यक्रम समुदायको हितमा हुने उनले बताए । स्थानीयसँगको सहकार्यमा सवडिभिजन वन कार्यालयले पनि आफ्नो क्षेत्रमा पर्ने झण्डै ६ रोपनी जोखिम स्थानमा वृक्षारोपण गरिएको उनले बताए ।
परियोजनाले बराहतालका सामुदायिक वनमा वृक्षारोपण गर्नुअघि बड्डीचौर सवडिभिजन कार्यालयको हातामा नर्सरी बनाएको थियो । उक्त नर्सरीमा १२ हजार भन्दा बढी बिरुवा उत्पादन गरिएको नर्सरी हेरालु विमला सुनारले बताईन् । उनका अनुसार पछिल्लो समय सामुदायिक वनले नर्सरीमा खयरको बिरुवा बढी माग गरिरहेका छन् ।
समुदायमा डढेलो, नदी कटान र बाढीको मुख्य जोखिम रहेकाले परियोजनासँग सहकार्य गरी वृक्षारोण गरिएको बराहताल–५ का वडाध्यक्ष धीमराज जोल्मी मगरले बताए । यसले जोखिम न्युनिकरणमा मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए । गाउँपालिकाबाट पनि जोखिम न्युनिकरणको प्रयासस्वरपमा तटबन्धनको काम भईरहेको वडाध्यक्ष जोल्मीले बताए ।
‘माइ फरेस्ट चाइल्ड’ परियोजनाले बराहतालका विद्यालयहरुमा पनि जलवायु पविरवर्तन र यसको असरका विषयमा बालबालिकाहरुलाई जानकारी दिन कक्षाहरु सञ्चालन गरिरहेको छ । यी कक्षाबाट बालबालिकाले जलवायुको असर कम गर्न समुदायको भूमिकाबारे पनि सिक्न पाएका छन् ।
कक्षामा सहभागी भएपछि हामीले जलवायुका विषयमा नजिकबाट बुझ्ने मौका पाएको बराहताल–२ को बिजयश्वरी माविका कक्षा ८ मा अध्ययनरत अभिशेक रेग्मीले बताए । ‘घरमा आमाबुवाले बालीनाली पहिलेको भन्दा कम उत्पादन भयो भन्नुहुन्थ्यो, म आफैंले के कारण होला भनेर सोच्थेँ, तर बुझ्न सकेको थिईनँ’ उनले भने, ‘कक्षामा सहभागी भएपछि जलवायु परिवर्तनको असरले यस्तो हुनेरहेछ भन्ने अनुभूति भएको छ ।’ कक्षा सञ्चालनपछि विद्यालयमा पनि प्लास्टिकजन्य वस्तु निशेष गरिएको उनले बताए ।
कक्षा सञ्चालनपछि जलवायुजन्य असर कम गर्ने विषयमा विद्यार्थीहरु नै उत्साही भएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर कार्कीले बताए । कक्षा सञ्चालनपछि विद्यालयमा भएका बिरुवा जोगाउन पनि विद्यार्थीहरु सक्रिय भएको उनले बताए । ‘विद्यार्थीले चाउचाउ लगाएतका प्लास्टिकजन्य खानेकुरा ल्याउँथे, हामीले निषेध गर्न खोज्दा उनीहरुको विरुद्धमा गएको जस्तो हुन्थ्यो,’ कार्कीले भने, ‘अहिले उनीहरु नै निषेध गर्नुपर्छ भनेर सक्रिय भएका छन् ।’ यो विद्यालय पनि २०७१ सालको बाढीले पूर्ण रुपमा क्षति भएको थियो । अहिले यो विद्यालयलाई जोखिम कम भएको क्षेत्रमा सारिएको छ ।
स्याक नेपालमा ‘माइ फरेस्ट चाइल्ड’ परियोजना संयोजक सिमा लामिछानेले बराहताल गाउँपालिकाका पाँच वटा मावि र तीन वटा आधारभूत तहका विद्यालयसहित आठ वटा विद्यालयमा जलवायुका विषयमा कक्षा सञ्चालन भईरहेका छन् । ती विद्यालयमा कक्षा ८ मा भएका बालबालिकालाई सहभागी गराएर बर्षमा १६ वटा कक्षा सञ्चालन भईरहेको उनले बताइन् । उनका अनुसार परियोजनाले बराहतालको वडा नम्बर २, ४ र ५ का १३ वटा सामुदायिक वनमा काम गरिरहेको छ ।
तीमध्ये पाँच वटा सामुदायिक वनमा जलवायु परिवर्तनसम्बन्धित कार्यक्रम पनि सञ्चालन गरिएको छ । ‘बाढी, पहिरो जस्ता जोखिमयुक्त क्षेमा वृक्षारोपण गर्ने र जलवायुका विषयमा बालबालिकालाई जानकारी दिने मुख्य उद्देश्य परियोजनाको हो,’ लामिछानेले भनिन्, ‘यसले समुदायमा सकारात्म परिवर्तन ल्याएको छ, अपेक्षाअनुसार उपलब्धी पनि पाएका छौं ।’






