सम्पादकीय ःमातृ स्वास्थ्य सुधारमा ध्यान देऊ !

कर्णाली प्रदेशका ३५ प्रतिशत महिलाहरु अझै पनि सुत्केरी हुन अस्पताल जादैनन् । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार प्रदेशभर झण्डै ३५ प्रतिशत महिला घरमा नै सुत्केरी हुने गरेको देखाउँछ । जसको साइड इफेक्ट प्रति एक लाख जीवित जन्ममा मातृमृत्यु दर एक सय ७२ छ । यो अन्य प्रदेशभन्दा धेरै हो । गर्भावस्थादेखि सुत्केरी भएको ४२ दिनसम्मको अवधिमा हुने मृत्युलाई मातृ मृत्यु दर भनिन्छ । जनगणना अनुसार कर्णालीमा प्रति हजार जीवित जन्ममा ३८ जनामा बालमृत्यु दर छ ।
कर्णालीमा विशेषगरी स्वास्थ्यकर्मीको सहयोग बिना असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा आमा र बच्चा दुवैका स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुने गरेको छ । सरकारले सुत्केरी आमाहरुलाई अस्पतालको पहुँचमा पु¥याएर मातृत्वलाई सुरक्षित बनाउन विभिन्न योजनाहरु अघि सारेको छ । तर, कर्णालीमा महिलाको जनसांख्यिक संरचना अनुसार ठुलो संख्या सुत्केरी अवस्थामा अस्पतालको पहुँच बाहिर रहेको तथ्यांकले देखाउँछ । जसका कारण सुत्केरी अवस्थामा देखिने जोखिमहरूले शारीरिक स्वास्थ्यजन्य सामाजिक असरसँगै कतिपय अवस्थामा ज्यानसमेत गुमाउनु पर्ने बाध्यता सुत्केरी आमाहरुलाई छ । भौगोलिक कठिनाई, सुविधा सम्पन्न अस्पतालको कमी तथा सुत्केरी सम्बन्धि चेतना अभावका कारण कर्णालीका ग्रामिण भेगका महिलाहरु अस्पताल नजाने गरेको बताइन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ छ । जसमा महिलाको जनसंख्या ५१ दशमलव २१ प्रतिशत छ । यो लैंगिक अनुपातका हिसावले ९५ दशमलव २७ प्रतिशत हो । कर्णाली प्रदेशमा अझै पनि बालविवाह हुने दर ३७ दशमलव नौ प्रतिशत छ । यहाँका ३७ प्रतिशत महिलाहरुले १८ देखि २० बर्षको उमेरमा विवाह गर्ने गरेको सरकारी तथ्यांकहरु नै बोल्छन् । जबकी नेपालको कानूनले २० वर्ष पूरा नगरी विवाह गर्नु गैरकानुनी मान्छ । उमेरले परिपक्व नभई विवाह गर्दा व्यक्ति, परिवार र समाजमा विभिन्न किसिमका शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्यालाई नजर अन्दाज गर्ने प्रचलनको अन्त्य कर्णालीमा हुन नसकेको तथ्यांकले देखाउँछ । विशेषगरी कम उमेरमा गर्भधारण गर्दा मातृमृत्यु, गर्भपतन र नवजात शिशुको मृत्यु हुने सम्भावना उच्च हुन्छ । उमेर नपुगी हुने विवाहका कारण गर्भावस्थाको अतिरिक्त आवश्यकता पूरा गर्न सकिने अवस्था नहुँदा आमा र शिशु दुबैमा कुपोषणसमेत हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । कर्णालीमा महिलाहरुको घर तथा जग्गामा स्वामित्वसमेत कम छ ।
कुल १२ दशमलव पाँच परिवारहरू महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै छ, भने महिलाको नाममा घर र जग्गा दुबै नहुने परिवार ६ दशमलव दुई प्रतिशत रहेको तथ्यांकले देखाउँछ । कर्णाली प्रदेशका ३३ प्रतिशत महिलाहरू पारिवारिक योगदानमा सहयोग पु¥याउँछन् । २५ दशमलव सात प्रतिशत महिला आंशिक काम गर्छन भने ३२ दशमलव चार प्रतिशत महिला विभिन्न पेशा व्यवसायमा संलग्न छन् । ४१ प्रतिशत औपचारिक, ५८ प्रतिशत अनौपचारिक, ८२ प्रतिशत कृषि र आठ दशमलव ६ प्रतिशत महिला रोजगारदाताको रूपमा कार्य गरी आर्थिक उपार्जनमा सक्रिय रहेको जनसांख्यिक तथ्यांकले देखाउँछ । कर्णालीका महिलाको साक्षरता दर ६९ दशमलव चार प्रतिशत छ । राज्यले वर्षेनी महिलाका क्षेत्रमा ठुलो बजेट खर्चदै आएको छ । तर, कर्णालीको तथ्यांकले बजेटमा समावेश भएका कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरुको पहँुच बढ्न नसकेको देखाउँछ । यसर्थ, राज्यले अघि सार्ने हरेक कार्यक्रममा महिला सहभागिता गराउन विशेष प्रकृतिका कार्यक्रम अघि सार्न जरुरी छ । अर्को महत्वपूर्ण पक्ष कर्णालीका ग्रामीण क्षेत्रमा जनचेतनासँगै सुविधा सम्पन्न स्वास्थ्य पूर्वाधारको विकास गर्नेतर्फ सरकारले ध्यान दिन आवश्यक छ ।






