शिक्षामा समान पहुँचको पहल : कोहलपुर नगरपालिकाद्वारा सामुदायिक विद्यालयका ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाँके,४ असार ।
कोहलपुर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका समुदायका बालबालिकालाई लक्षित गरी सामुदायिक विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
नगरपालिकाले बादी, गन्धर्व, अल्पसंख्यक तथा असहाय वर्गका बालबालिकाहरूलाई पठनपाठनमा सहजता ल्याउन झोला, कापी, कलम, पेन्सिल, इरेजरलगायतका सामग्री वितरण गरेको हो। करिब २ लाख रुपैयाँ बराबरको लागतमा नगरका १० वटा सामुदायिक विद्यालयका कक्षा १ देखि ५ मा अध्ययनरत ७/७ जना बालबालिकालाई सामग्री उपलब्ध गराइएको कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत शिला गौतमले जानकारी दिइन्।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदीले विद्यार्थीहरूमाझ सामग्री हस्तान्तरण गर्दै सबै बालबालिका विद्यालयको पहुँचभित्र आउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “हामीले आयस्तरका आधारमा पछि परेका बालबालिकालाई लक्षित गरेर शैक्षिक सामग्री मात्र होइन, छात्रवृत्तिको पनि व्यवस्था गर्दै आएका छौँ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले कोहलपुर नगरपालिका ‘शिक्षा सबैका लागि’ भन्ने मूल धारणासहित अघि बढिरहेको बताउँदै शिक्षा पहुँचबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने कार्यलाई अझ प्रभावकारी बनाइने बताए।
सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकको अध्यक्षता र शिक्षा शाखा प्रमुख रामबहादुर हमालको शुभकामना मन्तव्यसहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा अधिकृत शिला गौतमले गरेकी थिइन्।
नगरपालिकाको यो पहलले शिक्षा क्षेत्रमा समानता र समावेशी अभ्यासलाई थप सबल बनाउने विश्वास लिइएको छ।






