एमालेको केन्द्रीय पदाधिकारीमा पहिलो पटक अट्यो कर्णाली

ओम शाही
सुर्खेत, ३ पुष ।
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा पहिलो पटक कर्णालीको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री यामलाल कँडेल पदाधिकारीमा निर्वाचित भएका छन् । एमालेको सात दशक लामो राष्ट्रिय राजनीतिमा केन्द्रीय कमिटीको पदाधिकारी चुनिने कँडेल पहिलो बनेका छन् ।
त्यो पनि निर्वाचनमार्फत । बिहिबार सार्वजनिक भएको मत परिणाम अनुसार ११ सय ८५ मत प्राप्त गरी कँडेल सचिव पदमा निर्वाचित भएका हुन् । १०औं राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा योग्य नेता हुँदाहुँदै पनि एमालेको केन्द्रीय कमिटीमा कर्णालीको प्रतिनिधित्व केवल स्थायी, पोलिटब्यूरो र केन्द्रीय सदस्यमै सीमित थियो । सम्पन्न ११औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली कर्णालीलाई पदाधिकारी दिन राजी भएपछि कँडेलले निर्वाचन जितेर देखाएका छन् ।
अन्य प्रदेशले केन्द्रीय पदाधिकारीमा बर्चश्व जमाउदा कर्णालीले भने हरेक अवसर गुमाउँदै आएको छ । एमाले कर्णालीको राजनीतिमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका कँडेलले केन्द्रीय नेतृत्वको हेपाहा प्रवृत्तिका विरुद्ध प्रतिवाद गर्दै आएका थिए । सोही कारण अध्यक्ष ओलीको कँडेललाई असहयोग थियो । एमालेको केन्द्रीय नेतृवबाट कर्णालीलाई यतिसम्म उपेक्षा थियो कि, प्रदेशको नेतृत्व गर्न इन्चार्जसमेत आयात गरेको थियो ।
कर्णालीमा योग्य नेता हुँदाहुँदै इन्चार्जमा अन्य प्रदेशका नेतालाई कर्णालीको जिम्मेवारी दिइएको इतिहास छ । २०७८ मंसिरमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि कँडेल सचिव पदका दावेदार थिए । उनलाई सचिव बनाउन कर्णालीका महाधिवेशन प्रतिनिधिहरु चितवन पुगेका थिए । तत्कालिन समयमा एमालेले १९ पदाधिकारी चुन्यो । सात उपाध्यक्ष, सात सचिव र तीन उपमहासचिव हुँदासमेत कँडेल अध्यक्ष ओलीको केन्द्रीय पदाधिकारीमा अटाएनन् । कँडेल कर्णालीमा संगठन निर्माणमा अब्बल र अनुभवी नेता हुन् ।
सचिव पदमा निर्वाचित भएपछि कँडेलले थप जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिए । ‘खुशीको विषयसँगै थप जिम्मेवारी प्राप्त भएको छ,’ उनले भने, ‘नेकपा एमालेमा रहेका नेताहरु मध्य आफ्ना इच्छा अनुसार दरखास्त हालेका थियौं । त्यसमध्ये प्रतिनिधिहरुले छानेर हामीलाई जिम्मेवारी दिनु भएको छ, यसलाई हामी इमान्दारीपूर्वक पुरा गर्छौ ।’ महाधिवेशनबाट थप एकतावद्ध र बलियो जनाधारसहितको पार्टी निर्माण हुने उनले बताए ।
को हुन् कँडेल ?
२५ कात्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाविसमा बुबा मनिराम कँडेल र आमा भागिरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनुपूर्व शिक्षण पेसामा संलग्न थिए । २०३६ मा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए, कँडेल ।
चार जनाले ‘सहादत’ प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो । उनी त्यतिबेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए । किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवारसम्म पुग्यो । तर, उनी नेविसंघका उम्मेदवार सुर्खेतका हृदयराम थानीसँग पराजित भए ।
२०४२–४३ मा झण्डै नौ महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए । २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल क्रियाशील राजनीतिमा संलग्न भएका थिए ।
२०४९ मा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए । २०४९ को स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका थिए कँडेल । २०५१ मा मेयर पदबाट राजीनामा दिई मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै पहिलोपटक संसदीय अभ्यासमा प्रवेश गरेको अनुभव कँडेलसँग छ ।
शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा थानीसँग हारेको बदला कँडेलले प्रतिनिधिसभा सदस्य चुनावमा लिएका थिए । २०५१ मा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए । मालेमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । २०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा मालेको तर्फबाट उम्मेदवार बनेका कँडेल कांग्रेसका हृदयराम थानीसँग पराजित भए ।
२०६४ मा एमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०७० मा पुनः सोही क्षेत्रबाट कांग्रेसका हृदयराम थानीसँग कँडेल पराजित भए । यस्तै, २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्ष निर्वाचित भएका कँडेल एमाले प्रदेशसभा संसदीय दलको नेतासमेत हुन् ।
कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका थिए । कर्णालीको इन्चार्जसमेत भइसकेका उनी दैलेख इञ्चार्जको जिम्मेवारीमा समेत रहिसकेका छन् । एमाले–माओवादी एकताबाट बनेको नेकपाकालमा कर्णाली प्रदेशको सहइञ्चार्ज र स्थायी कमिटी सदस्य रही काम गरेको अनुभव कँडेलसँग छ । कँडेलले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् भने भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा तथा बेलायतलगायतका देशहरूको भ्रमण गरेका छन् । कँडेल हाल कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा छन् ।
पोखरेल र रेग्मी केन्द्रीय सदस्यमा पराजित
नेकपा एमालेको ११औं महाधिवेशनमा तीन सय एक केन्द्रीय सदस्य निर्वाचित हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट दैलेखका लक्ष्मीप्रसाद पोखरेल र धर्मराज रेग्मी पराजित भएका छन् । ओली टिमबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका मध्ये सबै विजयी हुँदा पोखरेल र रेग्मी पराजित बनेका हुन् ।
बिहिबार सार्वजनिक भएको मत परिणामअनुसार पोलिटब्यूरो सदस्य तथा दैलेख इन्चार्जसमेत रहेका पोखरेलले आठ सय ४३ मत प्राप्त गरी खुला केन्द्रीय सदस्यमा पराजित बनेका हुन् । निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमाओवादी रहेका रेग्मीले नौ सय ९२ मत प्राप्त गरे । कर्णालीबाट एक पदाधिकारी (सचिव)सहित २७ जनाले ओली समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
खुला केन्द्रीय सदस्यतर्फ दैलखका राजबहादुर बुढाक्षेत्री, हुम्लाका दल रावल, जाजरकोटका निरज आचार्य, हुम्लाकै गोरखबहादुर बोगटी र कालीकोटका मिनबहादुर शाही विजयी भएका छन् ।
कर्णाली भूगोल खुलातर्फ सुर्खेतका नवराज रावत, जाजरकोटका डम्बर सिंह, दैलेखका विष्णु रिजाल, हुम्लाका दल फडेरा, मुगुका जितबहादुर मल्ल विजयी भएका छन् । प्रदेश भूगोल युवातर्फ दैलेखका रुद्रबहादुर शाही, प्रदेश भूगोल महिलातर्फ सुर्खेतकी मोहनमाया ढकाल, दैलेखकी मिनासिंह रखाल, कालीकोटकी इन्दिरा सन्ज्याल विजयी भएका छन्् ।
आदिवासी जनजाती केन्द्रीय सदस्यतर्फ जाजरकोटका सीपी घर्ति र सल्यानका गोविन्द पुन विजयी भएका छन् । दलित कलस्टर खुलामा मुगुका दानसिंह परियार र दलित महिलातर्फ दैलेखकी पार्वती विशंखे पनि केन्द्रीय सदस्य बन्न सफल भएकी छन् । पिछडिएको तर्फ खुलामा कालीकोटका नागिन्द्र शाही र महिलातर्फ डोल्पाकी बदमीक्वारी बोहरा एमालेको केन्द्रीय सदस्य बनेका छन् । केन्द्रीय सदस्य खुला ४० मुनि दैलेखका सुशील थापा सर्वसम्वत निर्वाचित हुँदा केन्द्रीय सदस्य महिलातर्फ सुर्खेतकी पद्मा खड्का र दैलेखकी सूर्यकुमारी श्रेष्ठ पनि विजयी भएका छन् ।
कर्णालीमा ओली समूहले बर्चश्व जमाउँदा इश्वर पोखरेल समूह भने सून्य बनेको छ । पोखरेल समूहबाट भुगोलतर्फ केन्द्रीय सदस्य लडेका कालिकोटका कुर्मराज शाही, सुर्खेतका ठम्बरबहादुर विष्ट, जुम्लाकी मेनका पछाई र कालिकोटका तपेन्द्रबहादुर शाही पराजित बनेका छन् । ओली समूहले टिकट नदिएपछि उनीहरु पोखरेल समूहमा लागेका थिए । कुर्मराज शाही विवादित पृष्ठभूमिका व्यक्ति हुन भने ठम्मर विष्ट पूर्वमाओवादी हुन् ।






