जुम्लाको धारामा अझै पनि विभेदको घाउ

काली बहादुर परियार

जुम्ला ,१ भाद्र।
बिहान सबेरै जुम्लाको छिना गाउँको आकाश सुनौलो घामले चम्किन थाल्छ। घरघरको छानामा कोमल किरण पर्छन्, चराहरूको चिरबिर आवाज सङ्गै बसपार्कका सवारी साधनको हरनहरुले गाउँ धपक्क ब्यूँझिन्छ । त्यही बेलामा, नानी सुनार नामकी महिला आफ्नो काँधमा गाग्री बोकेर ढुंगामय बाटो हुँदै सार्वजनिक धारातिर लाग्छिन् । उनको लागि यो मात्र पानी लिन जाने दिनचर्या होइन, बरु आत्मसम्मानको परिक्षा जस्तै हो ।
गाउँको माथिल्लो भागमा बनेको धारा देख्दा सबैलाई सहज लाग्छ । स्थानीय सरकारले अघिल्लो बर्ष मात्र यस धारोलाई ब्यबस्थीत पुर्न निर्माण गरेको थियो ।मानौं गाउँलेहरूलाई सुविधा दिन बनाइएको हो । तर नानीलाई थाहा छ, त्यो धारा उसको लागि सहज छैन । त्यहाँ पुगेपछि उसले पानी भन्दा पहिला मान्छेको दृष्टि र वाणीको भारी सहनुपर्छ ।
धारामा पहिला पुग्ने प्रायः क्षेत्री समुदायका महिलाहरू हुन्छन्। उनीहरू हाँस्छन्, फुसफुसाउँछन्, अनि नानीलाई देख्नेबित्तिकै कुनै अदृश्य रेखा कोरेझैँ गर्छन्। कतिपय दिन त सिधै शब्दहरू बाणझैँ आउँछन् ।
“तिमीहरू तल्लो जात, अलग धारा छ, उता जाऊ।”
नानी भित्रभित्रै पोलिन्छिन् । तर उसले गाली फर्काउँदिन, केवल चुपचाप गाग्रीमा पानी हाल्छिन्। फर्किँदा उसको काँध भन्दा बढी भारी हुन्छ, हृदयमा बोकेको अपमान ।
दुई धाराको कथा
छिना गाउँमा दुई धारा छन् एक माथिल्लो जातका लागि, अर्को दलित समुदायका लागि । सतहमा हेर्दा सबैलाई पानीको सुविधा दिएको जस्तो लाग्छ, तर वास्तवमा त्यो व्यवस्था विभेदको स्थायी प्रतीक बनेको छ।
गाउँकी अर्की दलित महिला सम्झन्छिन् “धारामा पुग्दा पानी मात्र हैन, डर पनि साथमा हुन्छ। कतिपय बेला हामी लुगा धोइरहेका देखे पनि मानिसहरू घृणाको नजर गर्छन्। पानी लिन जाँदा भन्दा अपमान धेरै सहनुपर्छ।”
नानी भन्छिन् “धारामा त हामीलाई छुट्ट्याइन्छ, तर त्यो मात्र होइन । गाउँको कुनै सामाजिक काम, पर्व–उत्सव वा धार्मिक क्रियाकलापमा पनि हामीलाई पृथक राखिन्छ । हामीलाई अझै पनि समान मानिसको रूपमा हेर्ने मानसिकता आएको छैन।”
कानुन पुस्तकमा मात्र
नेपालको संविधानले छुवाछूतलाई अपराध घोषणा गरेको धेरै वर्ष भइसकेको छ। तर छिना गाउँमा कानुन केवल किताबमा सीमित छ । व्यवहारमा परम्परा, संस्कार र विभेदको बन्धन अझै जीवित छ।
जब यसबारेमा वडा अध्यक्षलाई सोधिन्छ, उनी भन्छन्
“हामीलाई अझै औपचारिक जानकारी आएको छैन। यदि यस्तो समस्या छ भने सचेतना कार्यक्रम गरेर समाधान गर्नेछौँ। सचेतनाले काम नगरे कानुनी कारबाही गर्नेछौँ।”
तर पीडित महिलाहरूको धारणा फरक छ। उनीहरू भन्छन् “यो समस्या नयाँ होइन। वर्षौंदेखि यस्तै छ। हामीले आवाज उठाउँदा पनि कसैले गम्भीरतापूर्वक सुन्दैन।”

विभेदको गहिरो घाउ
नानी सुनारले भोग्ने पीडा पानीमा सीमित छैन। उसको जीवनका हरेक पाइलामा विभेद छ उसको पछ्यालामा झुण्डिएको छ ।
विद्यालयमा पढ्दा उसलाई साथीहरूसँग बस्न दिइएन । गाउँको भोजमा उसलाई पछि बसालिन्छ ।
धार्मिक कार्यक्रममा उसलाई छुट्टै स्थान देखाइन्छ ।
नानी भन्छिन्—“हामीलाई मान्छे भन्दा तल्लो ठानिन्छ । कतिपय दिन त लाग्छ, यो गाउँमा पानी भन्दा पहिला हाम्रो अस्तित्व र सम्मान सुरक्षित गर्ने लडाइँ आबश्यक छ ।”
प्रतीक मात्र होइन
छिना गाउँ , छिना गाउँको धारा केवल पानीको धारा होइन । यो एउटा ऐना हो जसले नेपाली ग्रामीण समाजको वास्तविकता देखाउँछ । कानुनले जे भने पनि, विभेद अझै पनि संस्कृति बनेर सुरक्षित गरिएको छ ।
धारामा नानीले बोकेको गाग्री केवल पानीले भरिँदैन त्यहाँ अपमान, पीडा र संघर्ष पनि मिसिएको हुन्छ । तर त्यही संघर्षले भविष्यको आशा पनि बोकेको छ । किनकि नानीजस्ता महिलाहरू मौन भएर बसिरहनु भन्दा आफ्नो कथा भनीरहेका छन् ।
त्यसैले, जुम्लाको धाराबाट उठेको यो आवाज केवल एउटा गाउँको कथा होइन । यो नेपालका सयौँ गाउँहरूको साझा पीडा हो । जहाँ पानी जीवन हो, तर जीवन भन्दा अगाडि पनि सम्मान र समानताको खोज अझै अधुरो छ ।

जुम्लाको धारामा अझै पनि विभेदको घाउ

प्रकृतिले सुन्दरता थपेको मनोरम क्षेत्र,मध्ये एक हो?

जुम्लाको धारामा अझै पनि विभेदको घाउ

उपकरण अभावले रोकिएको डायलिसस सेवा दुई वर्षपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds